Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहम्मद हानिफ
२०७७ श्रावण १५ बिहीबार ०७:२०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड-१९ बाट हुने मृत्युलाई किन लुकाइँदै छ ?

कोभिड-१९ का कारण प्रियजन गुमाएकाहरू शोकको समयमा आफूहरू एक्लै पर्ने डरमा देखिन्छन् 

Read Time : > 3 मिनेट
मोहम्मद हानिफ
२०७७ श्रावण १५ बिहीबार ०७:२०:००

मैले केही महिनायता आधा दर्जन परिचितहरूलाई तिनको आफन्तको मृत्युका लागि शोक प्रकट गर्न फोन गरेँ । यस क्रममा कसैले पनि तिनका आफन्तजनको मृत्यु कोभिड–१९ का कारण भएको स्विकारेनन् । सबैजना मृत्युको कारण अर्कै बताउँथे । दुई महिनाअघि एकजना अंकलको निधनमा मैले पहिलोपटक यस्तो फोन गरेको थिएँ । फोनमा अंकलका छोरा बोलिरहेका थिए । हामीबीच कुरा नभएको धेरै भइसकेको थियो, दशक नै भइसकेको थियो । अंकलको उमेर ८० वर्षभन्दा बढी थियो । कुराकानीकै क्रममा विषय मृत्युको कारणमा पुग्यो । अनि उनले हत्तपत्त भने, ‘मेरा पिता वा तिम्रा अंकल कोभिड–१९ का कारण मरेका होइनन् ।’ तिनले मेरो अंकलको कोरोना परीक्षण नेगेटिभ आएको र उनको मृत्यु हृदयाघातबाट भएको बताए । मैले कोभिड–१९ को उच्चारण पनि गरेको थिइनँ । 

त्यसपछि मैले आधा दर्जन परिचितलाई शोक प्रकट गर्न फोन गरेँ । यी सबै फोन–संवाद लगभग उस्तै रहे । मैले फोन गरेकामध्ये पाँचजना पुरुष थिए भने एकजना महिला । ती ३१ देखि ८२ वर्षबीचका थिए र मैले केही भन्नुअघि ती मलाई भन्थे, ‘तपाईंले सोचेजस्तो होइन ।’ एकजनाले भने फरक जवाफ दिए । मेरा एकजना साथीका पिताको मृत्यु भएको थियो । फोनमा ती साथीले उनका पिताको मृत्यु कोभिड–१९ का कारण भए पनि परिवारका सदस्यले भने यसलाई लुकाउन लागिरहेको बताए । मेरा मित्र चिकित्सक हुन् र विगत तीन दशकदेखि उनी अमेरिकामा काम गरिरहेका छन् । फोनमा उनले मृत्युअघि आफ्ना पिताको स्थिति बताए । उनका पिता असी वर्ष पुग्न लागेका थिए । अन्य धेरै पाकिस्तानीजस्तै उनी या त कोरोना भाइरस झुटो हल्ला हो भन्ने विश्वासमा थिए, या त साँचो मुस्लिमलाई भाइरसले नछुने विश्वासमा थिए । महामारीको समयमा पनि ती मित्रका पिताले कराँचीवरपरका आफ्ना साथीभाइसँगको भेटघाटलाई निरन्तरता दिएका थिए । त्यस्तै उनले सार्वजनिक प्रार्थना गर्न पनि रोकेका थिएनन् । उनको उमेरका मानिसलाई मस्जिद नजान निर्देशन दिइएको भए पनि उनी पछाडिको मार्गबाट त्यहाँ जान्थे । 

कोरोना भाइरसबारे केही मिथक हाम्रो मार्गनिर्देशक हुनुपर्नेहरूले नै फैलाइरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ९० प्रतिशत कोभिड-१९ का बिरामीलाई सामान्य रुघाजस्तो मात्र लक्षण देखिएकाले त्यसका लागि अस्पताल जानुनपर्ने बताए ।

तर एक दिन साथीका पिता बिरामी भए र लगत्तै अस्पताल भर्ना गर्नुपर्‍यो । केही दिनपछि नै उनको अस्पतालमा मृत्यु भयो । यो मे महिनाको सुरुको कुरा हो । त्यो समय मृतक संक्रमितको दाहसंस्कार आफन्तले नभएर स्थानीय निकायले गर्ने व्यवस्था लागू भएको थियो । संक्रमित शवबाट कोरोना फैलिने डरले यसो गरिएको थियो । मेरा साथीका नातेदारले भने प्रहरीलाई घुस दिएर शव आफैँले लिने प्रयास गरेका थिए । सुरुमा मृत्युको अलग कारण भनिए पनि रोगको असली कारण बाहिरिहाल्यो । शोक व्यक्त गर्न आउने मानिसले नै गुनासो गर्न थाले । धेरैले कोभिड लागेको थाहा हुँदाहुँदै बुबालाई बाहिर हिँड्न दिएकोमा आक्रोश व्यक्त गर्न थाले । परिवारले उनी कोभिड–१९ का कारण मरेको कुरा खण्डन गरिरह्यो । घर बाटोछेउमै भएकाले रोग लुकाउनु स्वाभाविकै हो भन्ने तर्क परिवारको थियो । 

मैले एकजना डक्टरसँग फोन गरेर मृतकको रोगको कारण किन लुकाइँदै छ भनेर सोधँे पनि । ‘कोही पनि शोक परिरहेको अवस्थामा घरमा प्रहरी आएको मन पराउँदैनन्,’ ती डक्टरले भने, ‘कोभिड–१९ बाट मरेका परिवारमा डर, लाज छाउँछ । कुनै अनैतिक वा खराब काम गरेर भाइरस सर्ने त होइन, तर त्यस्तै मानसिकताले घेर्छ । आखिरमा कोराना भाइरस त ढोकाको ह्यान्डलबाट समेत सरिरहेको हुन्छ ।’  प्रियजनको मलामीमा कोही नआउलान् भन्ने डर पनि हुन्छ । शोक व्यक्त गर्न कोही आएनन् भने ? कोरोना संक्रमितको परिवार भनेपछि छिमेकीसमेत डराउन थाल्छन् । कतै तपाईंबाटै रोग सर्छ कि भन्ने डर फैलिन्छ । यो सब समस्यामा पर्नुभन्दा परिवारजन मृतक प्रियजनलाई कोरोना थिएन भनेर ढाँट्न खोज्छन् । फेरि ढाँट्न गाह्रो पनि छैन । कोरोना लागेकाहरू पनि आखिर अन्य शारीरिक जटिलताका कारण मरेका देखिन्छन् । 

कोरोना भाइरसबारे केही मिथक यो संकटमा हाम्रो मार्गनिर्देशक हुनुपर्नेहरूले नै फैलाइरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ९० प्रतिशत कोभिड–१९ का बिरामीलाई सामान्य रुघाजस्तो मात्र लक्षण देखिएकाले त्यसका लागि अस्पताल जानुनपर्ने बताए । मे महिना कोरोना भाइरस संकटको नेतृत्वको जिम्मा पाएका योजना, विकासमन्त्री असाद उमर कोभिड–१९भन्दा सडक दुर्घटनामा बढी मानिस मर्ने गरेको तर्क दिइरहेका थिए । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जाफर मिर्जाले त मनसुनको पानीले कोरोनालाई बगाएर लानेसम्म भने । तर, मनसुनको पहिलो झर परेको केही दिनपछि मिर्जा आफैँ कोरोना संक्रमित भएको खबर आयो । मार्चको अन्तिममा पाकिस्तानमा कोरोना विस्तार हुन सुरु गर्दै गर्दा प्रधानमन्त्रीका एक सल्लाहकार नदिम अफजल र उनका राजनीतिक सहकर्मीबीचको फोनवार्ता लिक भयो । फोनमा अफजलले ती मित्रलाई राजनीतिक प्रचार बिर्सेर घरमा छोराछोरीसँग बस्न आग्रह गरिरहेको सुनिन्छ । फोन–संवादको सबैभन्दा विवादित हिस्सामा अफजल आफ्ना सहकर्मीलाई भन्छन्, ‘हजारौँ मरिरहेका छन्, तर सरकारले यो तथ्य लुकाइरहेको छ ।’

अफजलले पछि फोन–संवाद साँचो भए पनि आफ्ना राजनीतिक सहकर्मीले रोगलाई गम्भीरतापूर्वक नलिएकाले आफूले बढाइचढाइ गरेको भन्दै आफ्नो प्रतिरक्षा गरे । हुन सक्छ, अफजल आफ्ना मित्रलाई बचाउन झुटो बोलिरहेका थिए । त्यसैगरी धेरै मानिस आफ्ना प्रियजनको सद्गतका क्रममा एक्लै हुने डरले झुटो बोलिरहेका छन् । मेरा एक चिकित्सक मित्रले अघिल्लो महिना दुई सहकर्मी गुमाए । दुवैको मृत्यु कोभिड–१९ का कारण भएको थियो । उनीसँगको फोन–संवादमा मैले कोभिड–१९ को संक्रमणबाट मृत्युको कारणबारे किन मानिसहरू झुट बोलिरहेका छन् भनेर सोधेँ । उनले भने, ‘म आफैँले पनि झुट बोलिरहेको छु । मैले जारी गरेका सबै मृत्यु प्रमाणपत्रमा मृत्युको कारणमा ‘मृटुको धमनी फुटेर’ लेख्छु । यसले परिवारजनलाई लज्जित हुनबाट बचाउँछ । सम्भवतः त्यसो गर्दा आफ्ना परिवारसँगको वियोगमा आफूलाई सान्त्वना दिने कोही त भेटिन्छ ।’ 

(पाकिस्तानी उपन्यासकार मोहम्मद हानिफ न्युयोर्क टाइम्सका सम्पादक पनि हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य