Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १५ बिहीबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सामूहिक बलात्कारमा उजुरी दिनेको हत्या : हत्या गरेको आरोपमा सातजनाविरुद्ध उजुरी, किरिया बसेका छोरालाई पनि उडाइदिने धम्की

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार ०४:००:००

दुई वर्षअघि सामूहिक बलात्कारको घटनामा उजुरी दिएका सप्तरीको शम्भुनाथ नगरपालिका– ३ कचन्दाहा टोलका ४२ वर्षीय त्रिभुवन राम (भूपेन्द्र)को हत्या गरिएको परिवारजनले बताएका छन् । हत्याको आरोप लागेका स्थानीय सुरेन्द्र पाल गडेरीसहित सातजनाका आफन्तले किरिया बसेका त्रिभुवनका छोरा रोशनलाई उडाइनदिने धम्की दिएका छन् । 

२७ फागुन ०७४ मा स्थानीय एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो । त्यस घटनामा त्रिभुवनले प्रहरीमा उजुरी दिएका थिए । उनले दिएको उजुरीका आधारमा पक्राउ परेका स्थानीय एटलान्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साहलाई जिल्ला अदालतले २९ माघ ०७६ मा १० वर्ष कैद सजाय सुनाएको थियो । चारैजना राजविराज कारागारमा कैद भोगिरहेका छन् । त्यही घटनाका आरोपी स्थानीय बबी चौधरी र मिथिलेशकुमार साह भने फरार छन् । 

त्रिभुवन राम (भूपेन्द्र)
त्रिभुवन राम (भूपेन्द्र)

सामूहिक बलात्कारमा जेल सजाय भोगिरहेका मनोजका ठूलोबुबा शम्भु साहले २७ असारमा त्रिभुवनलाई धम्की दिएका थिए । ‘शम्भु साहले पुरानो घटनाको कुरा निकाले नराम्रो हुन्छ भन्दै धम्क्याएका थिए,’ त्रिभुवनका बुबा कुशेश्वर रामले भने, ‘धम्की दिएको तीन दिनपछि त यस्तो घटना भइहाल्यो । छिमेकी गाउँ गएका छोराको लास खोलामा भेटियो ।’ अहिले उनीहरूले किरिया बसेको नातिलाई पनि धम्क्याइरहेको कुशेश्वरले गुनासो गरे । ‘छोरा त गयो, नातिलाई पनि के पो गर्छन् । चिन्ता लागेको छ,’ उनले भने । 

यससँगै मोहीको विवाद पनि जोडिएको छ । स्थानीय रासलालपाल गडेरीको १० कट्ठा जग्गामा भूमिसुधार कार्यालयले जोताहा कुशेश्वरलाई पाँच कट्ठा मोही कायम गरिदिएको थियो । त्यही जग्गामा त्रिभुवन २८ असारमा रोपाइँका लागि हलगोरुसहित जोत्न गएका थिए । उनलाई रासलालले जोत्न दिएनन् । त्यसपछि उनले रूपनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । २९ असारमा प्रहरी कार्यालयमा भएको छलफलमा त्रिभुवनलाई नै जोत्न दिनुपर्ने सहमति भएको थियो । त्रिभुवनको स्थानीय सुरेन्द्र पाल गडेरीसँग पनि पाँच कट्ठा जग्गाको मोही विवाद थियो । 

प्रहरी कार्यालयबाट घर फर्केपछि उनी साँझ साढे ६ बजेतिर साइकल लिएर शम्भुनाथ–४ मा पर्ने छिमेकी गाउँ नरही गएका थिए । ‘रातिसम्म पर्खियौँ, घर नआएपछि सुत्यौँ,’ त्रिभुवनकी पत्नी घुरनीदेवीले भनिन्, ‘भोलिपल्ट दिउँसोसम्म पनि घर नफर्किएपछि खोजी ग¥यौँ । गोठालाहरूले गाउँकै मुतनी खोलामा शव भेट्टाए ।’ मोही हक दिनुपर्ने भएपछि सुरेन्द्रसहितको समूहले हत्या गरेको घुरनीदेवीको आरोप छ । 

सुरेन्द्रसहित यसअघि बलात्कारको आरोपमा जेलमा रहेकाहरूको आफन्तजनले हत्या गरेको भन्दै घुरनीदेवीले सातजनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । उनले दिएको उजुरीका आधारमा स्थानीय ४५ वर्षीय शम्भु साह, उनका भाइ ४० वर्षीय प्रभु साह, ३२ वर्षीय पंकज चौधरी र ३५ वर्षीय सुरेन्द्र पाल गडेरी (सुन्दर) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले बताए । चारैजनालाई ३२ असारमै पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको र अन्य तीनजनाको खोजी भइरहेको एसपी प्रसाईंले बताए ।

प्रहरीका अनुसार प्रभु दुई वर्षअघि सामूहिक बलात्कारमा जेल परेका अर्जुन र मनोजका दाइ हुन् । त्यस्तै, त्रिभुवनको हत्याको आरोपमा पक्राउ परेको पंकज पनि दुई वर्षअघि सामूहिक बलात्कारमा जेल परेका एट्लान्टिकका काका हुन् । 

सामूहिक बलात्कारको अपराधमा जेल परेका व्यक्तिहरूको आफन्त र मोही जग्गाको विवाद भइरहेका व्यक्तिहरूले मिलेर त्रिभुवनको हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले भने यसमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय बासिन्दा तथा दलित अधिकारकर्मीले उनको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रदेश २ की सांसद रुबी कर्णले बलात्कारको घटनामा उजुरी दिएका आधारमा धम्की दिनु र त्यसपछि बीभत्स हत्या हुनु संयोग मात्रै नभएको बताइन् । ‘योजना बनाएर हत्या गरिएको छ, दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्छ,’ सांसद कर्णले भनिन् ।