मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार १३:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापति देउवाका कारण पार्टीको स्वास्थ्य ठीक भएन : प्रकाशमान सिंह (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार १३:०७:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको टिप्पणी गरेका छन् । 

तेह्रौँ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुरूप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताए । 

पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुरूप काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको उनकाे भनाइ थियाे । 

उनले भने, ‘१३औँ महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हुनुभयो, पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरेअनुसार गर्नुपर्ने काम, कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दा अहिले पार्टीको स्वास्थ्य ठीक नभएको देखिएकाे छ ।’

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको टिप्पणी गरे । 

उनले पार्टी प्रजातान्त्रिक मूल्य–मान्यताअनुसार चल्न नसकेको स्वीकार गरे । 

महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनको ठहर छ । 

पार्टीको विधानअनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठीक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेको उनले बताए । 

उनले भने, ‘प्रजातान्त्रिक पार्टीको सभापति भईकन पार्टीको मूल्य–मान्यताविपरीत जुन जबर्जस्ती गरिराख्नुभएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठीक भएन भन्ने कुरा हामीले भनिरहेका छौँ । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेशनका लागि प्रभावित गर्न पद बाँड्नेजस्तो काम भयो । अर्कोतिर फेरि प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने मसँग बस्नेहरूलाई पद पनि दिन्छु, तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने जुन क्यारेट एन्ड स्ट्रिक भनेर भन्छ नि यो दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेशनलाई प्रभावित गर्नेजस्ता प्रजातान्त्रिक पार्टीभित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो बिलकुलै अप्रजातान्त्रिक छ, यो ठीक छैन भन्ने कुरा हामी भनिरहेका छौँ ।’

उनले पार्टीभित्रका पुराना नेताहरूलाई कारबाही गर्ने, अन्यलाई प्रवेश गराउने खेलमा सभापति देउवा लागेको आरोप पनि लगाए । 

पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समयअनुसार ठीक नभएको उनले बताए । 

उनले भने, ‘अरू पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो, तर अहिले समय कस्तो भयो भन्दाखेरि अब टेस्टेड पुराना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरूहरूलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठीक छ, तर यो जुन समय हो ठीक भएन ।’

भिडियाे