मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १४ बुधबार ११:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले अधिकांश ग्रामीण सडक अवरुद्ध

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार ११:२१:००

करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायात सेवा पनि अवरुद्ध भएका छन् । ग्राभेल नगरिएका र ग्राभेल गरिए पनि गुणस्तरहीन भएकाले पानी परेसँगै ग्रामीण सडकहरूमा यातायात सेवा अवरुद्ध भएको हो । 

जिल्लामा यतिवेला केही गाउँपालिका र नगरपालिकाका अधिकांश क्षेत्रमा सडक भत्किएर यातायात सेवा बन्द भएका छन् । पानी परेको समयमा सडक हिलाम्य भएर दुर्घटना हुन सक्ने जोखिम बढेको छ  । ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी परेका छन् । 

ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि पानीले सडक भत्किएका कारण गन्तव्यसम्म पुग्न सकेका छैनन् । सदरमुकाम बेसीसहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकहरूमा भने यातायात सेवा ठप्पजस्तै छ ।

जिल्लाका फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, स्याँगे, च्याम्चे, जगतलगायतका दर्जनौँ स्थानमा बर्खाका कारण यातायात सेवा अवरुद्ध भएका छन् । 

दुई सय किलाेमिटर सडकमा मात्र बर्खायाममा गाडी चल्ने
पूर्वाधार विकास कार्यालयका प्रमुख राम पराजुलीले जिल्लाभरि कुल १६ सय किलोमिटर ग्रामीण सडकको निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र बर्खायाममा गाडी चल्ने बताए । ‘स्थानीयहरूले पनि सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकहरूको हालत उस्तै हुन्छ,’ उनले भने ‘सबै ठाउँमा सरकारको मुख मात्रै ताक्ने प्रचलनले पनि बर्सेनि सडकमा जनताले आफैँले सास्ती खेप्नुपरेको छ ।’ 

उनका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ भने दुई सय २० किलोेमिटर सडक ग्राभेल गरिएको छ । जिल्लाका अधिकांश कच्ची सडक वर्षायामको पानीले गर्दा बिग्रिएपछि ग्रामीण भेगका बासिन्दालाई सदरमुकाम आवतजावत र मालसामान ओसारपोसार गर्नसमेत असुविधा पर्न थालेको उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा बताउँछन् ।

 ‘सडकमा यातायात नचल्दा सबैभन्दा बढी ग्रामीण भेगका व्यापारीलाई मर्का पर्ने गरेको छ,’ थापाले भने, ‘हरेक वर्षको असारदेखि भदौसम्म यो समस्या आउने गरेकोले व्यापारीलाई सदरमुकामसँगै प्रमुख सहरहरुबाट मालसामान ओसारपोसारमा समस्या पर्ने गरेको छ ।’ 

करोडौँको लगानी बालुवामा पानी
बर्खायामसँगै सदरमुकाम बेसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक छ । गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौँ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपश्चात् समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेटहरू बालुवामा पानी खन्याएजस्तै भएको नेपाली कांग्रेसका जिल्ला सचिव हरिप्रसाद बराल बताउँछन् ।

जिल्लामा करोडौँ बजेट खन्याएर सडक बनाइन्छ ।  तर, सडक निर्माणसँगै नाला नकाट्दा सडक बगाउने गरेको छ । जिल्लाका सबैजसो सडकलाई हरेक वर्ष बजेट विनियोजन गरिन्छ, तर बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।