१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १४ बुधबार ०९:४४:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

बालबालिकालाई सचित्र किताबको कोसेली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १४ बुधबार ०९:४४:००

रोचक कथाहरू, आकर्षक चित्र, उच्च गुणस्तरीय कागज र छपाइसहितका चित्र पुस्तक । सचित्र किताब प्रालिले बालबालिकाका लागि तयार पारेको कोसेली हो, यो । १० वटा बालचित्र पुस्तकको आकर्षक प्याकमा सचित्रले बालबालिकाका लागि कोसेली तयार पारेको छ । ‘यी पुस्तक तीनदेखि १० वर्षका बालबालिकालाई उपयुक्त छन्, लक्षित उमेरसमूहलाई ध्यान दिएर सामग्री तयार पारिएको छ,’ १० वटै पुस्तकका सम्पादक कृष्णदीप सिग्देलले भने।

पुस्तकमा चित्र र शब्दको संयोजन राम्रो भएको र डिजाइनलाई पनि बालबालिकामैत्री बनाइएको उनको भनाइ छ । ‘छपाइ अन्तर्राष्ट्रियस्तरको छ, बालबालिकाका लागि जस्तो पुस्तक आवश्यक छ, त्यस्तै चिज तयार गर्न प्रयास गरिएको छ,’ उनले भने । 

१० पुस्तकमध्ये एउटा हो– सिर्जना शर्माले लेखेको र नीलम भुर्तेलले चित्र बनाएको उपहार पुस्तक । यसमा गरिब परिवारको बालकलाई धनी परिवारको साथीलाई जन्मदिनमा के उपहार दिने होला भनेर परेको अप्ठ्यारोको चित्रण गरिएको छ । कथामा बालमनोविज्ञानको पनि राम्रो चित्रण छ ।

त्यस्तै, शाश्वत पराजुलीको लेखन तथा कृष्णगोपाल श्रेष्ठको चित्रांकन भएको ‘कथा भन्ने खाट’ कथामा मिलन पात्रले खाटका माध्यमबाट हजुरबालाई सम्झेको छ । त्यस्तै, रोशन पोखरेलको कथा र सुमन महर्जनको चित्र भएको ‘भूत’को पात्र अनिल रातिको समयमा सर्टलाई भूत भनेर तर्सेको रोचक कहानी छ ।

रत्न प्रजापतिको लेखन र समित श्रेष्ठको चित्रांकन रहेको ‘आकारको घाउ’ कथामा मोबाइल, ट्याब्लेटलगायत ग्याजेटले बालबालिकालाई कसरी साथीविहीन बनाउँछ भन्ने उल्लेख गरेको छ । केही गाउँखाने कथालाई समेत सचित्र पुस्तकका रूपमा प्रस्तुत गरिएको छ । गाउँखाने कथाका उत्तरहरू चित्रका माध्यमबाट प्रस्तुत गरिएको यो पुस्तक बालबालिकाका लागि रोचक हुन सक्छ ।

निर्मला चापागाईंको लेखन तथा अबिन श्रेष्ठको चित्रांकनमा रहेको ‘के पो गर्ने खै ?’ भन्ने पुस्तकमा बालबालिकाको कल्पनाशीलतालाई प्रस्तुत गरिएको छ । सुशीला खनालको लेखन तथा दीपक गौतमको चित्रांकनमा रहेको ‘प्यारी’ यो कोसेलीको एक मात्रै कविता हो । कवितामा आमाले सन्तानलाई गर्ने मायाबारे वर्णन गरिएको छ । कृष्णदीप सिग्देलको रचना र सोनाम तामाङको चित्र रहेको ‘चुलबुले च्यान्टु’मा चकचक गर्ने बाँदरको बच्चा रूखबाट लडेर दुःख पाएको विषय उठान गरिएको छ ।

कोसेलीभित्र दुईवटा विदेशी कथाको अनुवाद र पुनर्लेखन गरिएका पुस्तक पनि छन् । यी दुवै काम कृष्णदीप सिग्देलले गरेका हुन् । त्यसमध्ये पहिलो इसपको कथालाई पुनर्लेखन गरिएको ‘लोभी कुकुर’ हो, जसमा सोनाम तामाङले चित्र बनाएका छन् ।

त्यस्तै, बियाट्रिक्स पोर्टरको ‘चकचके खरायो’मा लेखिकाले बनाएकै चित्र प्रयोग गरिएको छ । यो पुस्तकमा प्रमुख पात्र बादल खरायोको चकचक मात्रै होइन, साहसिक र चतुरता पनि वर्णन गरिएको छ । ‘दी टेल अफ पिटर र्‍याबिट’ पुस्तकबाट अनुवाद गरिएको पुस्तकमा चकचके खरायो कसरी बूढो किसानको आक्रमणबाट बचेर फर्कियो भनेर वर्णन गरिएको छ ।