१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १३ मंगलबार १८:०२:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हुलाकी सडकमा सवा करोडको पुल, तर सडकभन्दा धेरैमाथि भएकाले प्रयोगमै आएन

Read Time : > 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १८:०२:००

हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिका– ५ पवेरा खण्डको कटैनी खोलामा पुल त छ, तर पुलमाथिबाट खोला तर्ने भने कोही हुँदैनन् । हिलाम्य भए पनि अधिकांशले पुलमुनिकै बाटो प्रयोग गर्छन् । जमिनको सतहभन्दा निकै उचाइमा बनेको पुल चढ्न समस्या भएपछि पुलमुनिकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । सडकभन्दा निकै उचाइ बनेको पुलमा सवारीसाधन उक्लिन समस्या हुने चालकहरूको भनाइ छ । 

पवेरा मण्डीका व्यापारी तपराज चौधरीका अनुसार ट्याक्टर, साइकल, गोरुगाडालगायत सवारीसाधन पुलमा उक्लिनै मुस्किल पर्छ । ‘गोरुगाडा र सामान बोकेका रिक्सा त चढाउनै सकिन्न,’ उनले भने, ‘लोड गरिएका ट्याक्टर पनि पुलमा चढ्न समस्या हुन्छ ।’ ग्रामीण क्षेत्र भएकाले यो बाटोमा गोरुगाडा बढी चल्ने गर्छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले एक करोड २० लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । वर्षायामबाहेक अरू वेला खोलामा पानी नहुने भएकाले पुल प्रयोगविहीन अवस्थामा छ । 

अस्वाभाविक उचाइमा भएकाले पुल काम नलाग्ने बनेको स्थानीयको भनाइ छ । पुल बनेपछि वर्षायाममा खोला तर्न सहज हुने आशा स्थानीयले गरे पनि वर्षामा पनि खोलाबाटै हिँड्नुपर्ने बाध्यता रहेको उनीहरूको दुःखेसो छ । पुल चढ्न गाह्रो हुने भएकाले वर्षायाममा पनि अधिकांशले खोलाकै बाटो प्रयोग गरेका स्थानीय कालीचरण चौधरीले बताए । 
पुलको उचाइअनुसार सडक उठाउँदा पुल छेउछाउका घर र मण्डी बजारका केही पसलको बाटो नै बन्द हुने स्थानीयले बताएका छन् । बाटो उठाउँदा सडकमाथि र घरहरू निकै तल पर्ने स्थानीय सुन्दर चौधरीले बताए ।

कल्भर्ट राख्नुपर्ने ठाउँमा पुल
पुल खोलाको सतहबाट साढे चार मिटर उचाइमा रहेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए । हुलाकी सडक आयोजनाले बनाएको २२.८५ मिटर लामो उक्त पुल गत आर्थिक वर्षको अन्त्यतिर सम्पन्न भएको थियो ।  

कल्भर्ट आवश्यक पर्ने सानो खोलामा पुल बनाउनु नै प्राविधिक त्रुटि भएको इन्जिनियर मडैले बताए । अग्लो हुँदा पुल प्रयोगविहीन भएको उनले स्विकारे । ‘वर्षाको वेलाबाहेक खोलामा पानी नै हुँदैन । त्यसैले पुल आवश्यक थिएन,’ मडैले भने, ‘बरु त्यहाँ कल्भर्ट बनाइनुपर्ग्याे ।’ सडकभन्दा अग्लो पुल बन्न थालेको भन्दै स्थानीयले विरोध जनाएपछि लामो समयसम्म रोकिएको थियो । स्थानीयको विरोधपछि हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुलको उचाइ घटाउन केन्द्रलाई सिफारिस गरेको थियो । तर, केन्द्रले डिजाइन परिवर्तन गर्न नमानेपछि पुरानै डिजाइनमा पुल बनेको इन्जिनियर मडैले बताए । हुलाकी सडकले बनाएको डिजाइनमा महादेव–खिम्ती–स्वाँर–हेमन्त जेभीले पुल निर्माण गरेको हो । 
पुल प्रयोगमा ल्याउन अब पुलको दुवैतिर कम्तीमा सय मिटर टाढाबाट सडकको उचाइ बढाउनुपर्ने इन्जिनियर मडैले बताए ।