१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १३ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७२ वर्षीया वृद्धाको हत्या आरोपमा एक किशोर पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार १२:०४:००

गोरखामा ७२ वर्षीया वृद्धाको हत्या आरोपमा एक किशोर पक्राउ परेका छन् । गत बिहीबार सहिद लखन गाउँपालिका– ३ मनकामनाकी ७२ वर्षीया कृष्णकुमारी आलेको हत्याको आरोपमा सोही ठाउँका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार स्थानीयहरूको सहयोगमा सोही गाउँपालिका– १  बनौतीबाट  किशोरलाई सोमबार पक्राउ गरिएको हो । १८ वर्ष नपुगेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन । 

बिहीबार बिहान खेतमा पानी लगाउन गएकी वृद्धा साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई  खबर गरेका थिए । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान नजिकैको खोल्सामा वृद्धाको शव स्याउलाले छोपिएको अवस्थामा फेलापरेको एसपी गुरुङले बताए ।  

‘किशोर गोठालो गएको समयमा खुट्टामा हिलो लाग्यो भनेर खाल्टेपानी खोलामा धुन गएको रहेछ, त्यही वेला कृष्णकुमारी आले खेतमा पानी लगाएर त्यही बाटो आएकी रहेछिन्,’ उनले भने, ‘वृद्धा चिप्लेर लडेको देखेपछि किशोर हाँसेछन् । बुढीमान्छे लडेको वेला हाँस्छस् भनेर गाली गर्दै वृद्धा हातखुट्टा धुन लागिछिन् ।त्यतिवेलै किशोरले पछाडिबाट ढुंगाले हानेको रहेछ  ।’ ढुंगाले टाउकाेमा लागेपछि भुइँमा ढलेकी वृद्धालाई पुनः दुईपटक हानेर १० मिटर जति पर लगेर स्याउलाले ढाकेर छोडिएको एसपी गुरुङले जानकारी दिए ।

उनका अनुसार वृद्धाको मुन्टो भाँचिएको, टाउकोको अगाडि र पछाडी आँखालगायतका ठाउँमा चोट देखिएकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । वृद्धाकी बुहारीले प्रहारीलाई किटानी जाहेरी दिएको आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो ।

किशोरलाई सोमबार नै कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।