Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण १३ मंगलबार ११:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

Read Time : > 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार ११:१८:००

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रूपमा १०० पूर्णांकको स्थानीय पहिचान, कला, संस्कृति र इतिहास समेटिएको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । 

संविधानले स्थानीय तहलाई आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार दिएको छ भने स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने उल्लेख छ ।

सोही व्यवस्थालाई टेकेर महानगरले पहिलोपटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय भाषामै स्थानीय विषयको पाठ्यक्रम तयार गरी कक्षा एकदेखि आठसम्म लागू गर्न लागेको हो । 

महानगर क्षेत्रभित्र मनाइने चाडपर्व, संस्कार, संस्कृति, सीप, कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक्–स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारिएको पाठ्यक्रम समितिका सयोजक डा. चुन्दा बज्राचार्यले जानकारी दिइन् । 

उनका अनुसार बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले एकदेखि तीनसम्म १०० पूर्णांकमा १०० नै अभ्यास पाठ्यक्रम राखिएको छ भने कक्षा चार र पाँचमा ७५ अभ्यासगत र २५ सैद्धान्तिक तथा कक्षा ६, सात र आठमा भने ५०–५० भाग लगाएर पाठ्यक्रम तयार भएको छ । महानगर क्षेत्रमा ९२ वटा सामुदायिक र ६ सय ४० वटा निजी विद्यालय छन् । 

महानगरको सातौँ नगरसभाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्वका विषयहरूबारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ । डा. बज्राचार्यका अनुसार काठमाडौंको रहनसहन र जनजीवन यहीँको स्थानीय भाषामा जीवन्त रहने भएकाले यसको पाठ्यक्रम पनि स्थानीय नेपाल भाषामै तयार गरिएको हो । 

‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरू भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात्समेत गर्न सकून्र भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने निर्णय भएको हो,’ डा. बज्राचार्यले भनिन् । 

पाठ्यक्रम समितिका अर्का सदस्य वरुणप्रसाद वैद्यले पाठ्यक्रम नेपाल भाषामा तयार गरिएको भए पनि यसको सिकाइ अत्यन्त सरल हुने भएकाले यो जुनसुकै शिक्षकले पनि पढाउन सक्ने बताए । यसमा विद्यार्थीहरूलाई अवलोकन र अभ्यासको माध्यमबाट पढाउने विषय धेरै भएकाले पठनपाठनमा कुनै समस्या नआउने उनले बताए । 

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले यो विषय भाषाभन्दा पनि काठमाडौंको परिचयमा केन्द्रित रहेको बताइन् । ‘काठमाडौंमा बसोवास गर्ने मानिसहरूलाई काठमाडौंको संस्कृति, सम्पदा, रहनसहन, जनजीवनबारे परिचित गर्ने यसको मूल उद्देश्य रहेकाे हो । यी विषयहरू पढ्दापढ्दै भाषा पनि स्वतः सिक्दै जाने भएकोले यसमा कुनै समस्या आउँदैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक नेपाल भाषामा लेखिएको भए पनि शिक्षकले आवश्यकताअनुसार नेपाली र अंग्रेजीमा पनि बुझाउन सकिन्छ ।’ उनले पाठ्यपुस्तकलाई सहयोग पुऱ्याउने अरू बहुभाषी पाठ्यसामग्रीहरू महानगरपालिकाले प्रकाशन गर्न लागेको जानकारी पनि दिइन् । 

काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले काठमाडौंको कला, संस्कृति, सम्पदा संरक्षण गर्ने उद्देश्यले यो पाठ्यक्रम ल्याएको जानकारी दिए । स्थानीय विषय नेपाल भाषामा पढाउने महानगरपालिकाको यो निर्णयप्रति काठमाडौंका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । 

उपत्यकामा सबैभन्दा बढी विद्यार्थी भएको चर्चित सामुदायिक विद्यालय ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले काठमाडौंको कला, संस्कृति, सम्पदा, भाषा, लिपिबारे जानकारी दिने यो विषय काठमाडौंबाहिरबाट आएर यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि राम्रो अवसर हुने बताए ।