मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १३ मंगलबार ०८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङमा बाढीपहिरोमा परी चारको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण १३ मंगलबार ०८:१२:००

बाग्लुङको विभिन्न ठाउँमा बाढीपहिरोमा परी चारजनाको ज्यान गएको छ । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको पश्चिम तमानखोलामा एक घर पुरिएको छ । सोमबार राति तमानखोला गाउँपालिका– २ खोलेस्वाङमा गएको पहिरोले घर पुरिँदा एकैपरिवारका दाजु-बहिनीको मृत्यु भएको छ । आमा घाइते भएकी छिन् । 

पहिरोले घर पुरिँदा स्थानीय पानबहादुर रसाइलीका १३ वर्षीय छोरा खेमबहादुर रसाइली र ११ वर्षीया छोरी रिता रसाइलीको ज्यान गएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । 

पहिरोले पानबहादुरकी श्रीमती ३४ वर्षीया होमकुमारी रसाइली घाइते भएकी छिन् । पानबहादुर भने वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब रहेको अध्यक्ष बुढाले बताए ।  

घाइतेको खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले जानकारी दिए । 

राति करिब १ बजेको समयमा स्थानीयले पहिरो गएको थाहा पाई खबर गरेपछि बोङदोभानबाट प्रहरीसहित स्वास्थ्यकर्मीहरूको टोली उद्धारका लागि घटनास्थलमा पुगेका थिए । 

प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा घाइतेलाई उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । पहिरोले स्थानीय ६८ वर्षीया फुलमाया कामीको घरमा पनि आंशिक नाेक्सान पुर्‍याएको छ । योसँगै अन्य तीन घर जोखिममा रहेको स्वास्थ्य संयोजक छन्त्यालले बताए । 

यसैगरी जिल्लाको निसीखोला गाउँपालिका–१ मा पहिरोले घर भत्किँदा पाँच वर्षीय समीर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । 

यस्तै निसीखोला गाउँपालिकामा अन्दाजी ६० वर्षीया एक महिलाको शव खोला किनारमा फेलापरेको छ ।  हालसम्म उनको पहिचान नखुलेको रेग्मीले जानकारी दिए।