Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १२ सोमबार ११:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस विवाद : संस्थापन पक्षसँग असन्तुष्ट पक्ष देउवाविरुद्ध शृंखलाबद्ध छलफल

Read Time : > 1 मिनेट
२०७७ श्रावण १२ सोमबार ११:३४:००

१४औँ महाधिवेशनको कार्यतालिका आइसकेपछि आचारसंहिताविपरीत सभापति शेरबहादुर देउवाले गतिविधि गरेको भन्दै असन्तुष्ट संस्थापनइतर पक्ष शृंखलाबद्ध छलफलमा जुटेको छ ।

आफूनिकटका केन्द्रीय सदस्यको बैठक गरी लिखित रूपमा सभापति देउवालाई ध्यानाकर्षण गराउने यो समूहको तयारी छ । 

महाधिवेशनको समय नजिकिँदै जाँदा अनुचित लाभ लिने गरी सभापतिले गतिविधि अघि बढाएको पौडेल पक्षको आरोप छ ।

पौडेल र सिटौला पक्षको असहमतिका बाबजुद केही महिनाअघि देउवाले विभाग गठन गरेका थिए । देउवाले अहिले आएर त्यस्ता विभागमा सदस्य थप्नेसहितका सांगठनिक काम गरेर महाधिवेशनबाट अनुचित लाभ लिन लागेको यो समूहको दाबी छ । 

सभापतिबाट निर्वाचन आचारसंहिताविपरीत विभागको काम अघि बढाएको, क्रियाशील सदस्यतामा मनोमानी गरेको आरोप इतर पक्षको छ ।

यसैले तीन दिनमा शीर्ष तहमा दुईपटक छलफल गरेको पौडेल पक्षले एक–दुई दिनमै आफूनिकटका केन्द्रीय सदस्यको भेला बोलाउने निर्णय गरेको छ । छलफलमा सभापति देउवालाई महाधिवेशनलाई प्रभावित गर्ने कार्य बन्द गर्न लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय भएको छ । 

‘जति जिल्लामा पार्टी संरचनाको समायोजन भएको छ । ती जिल्लामा केन्द्रीय सभापतिको दबाबका कारण जिल्ला सभापतिहरूले क्षेत्रीय समितिमार्फत सदस्यता वितरण गर्न नदिएको गुनासो आएको छ ।

महाधिवेशनको आचारसंहिता सुरु भइसकेपछि सभापतिले प्रभाव पार्नकै लागि विभाग गठन गरेकोप्रति आपत्ति जनाउने काम भएको छ,’ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘सभापतिबाट मनोमानी संगठनका काम भएपछि अब आफूनिकटका केन्द्रीय सदस्यको छुट्टै भेला डाकेर यस्ता गलत गतिविधि रोक्न लिखित रूपमा आग्रह गर्ने समझदारी भएको छ ।’

दुई दिनअघि गौशालाको एक पार्टी प्यालेसमा छलफल गरेको पौडेल पक्षले आइतबार नेता अर्जुननरसिंह केसीको निवासमा छलफल गरेको थियो ।

छलफलमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल सहभागी थिए ।

छलफलमा सहभागी एक नेताले बहालवाला सभापति देउवाले भोलिका सभापतिका उम्मेदवारलाई सहयोग गर्ने गरी गतिविधि गरेको आरोप लगाए ।

‘अहिलेका बहालवाला सभापतिले १४औँ महाधिवेशनका सभापतिलाई सहयोग हुने गरी पार्टी गतिविधि गरी प्रभावित गर्न खोेजेको हामीहरूको निष्कर्ष हो । यसले महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्नेमा धेरै नै आशंका उब्जाएको छ,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘सभापतिका यस्ता गतिविधिले पार्टीलाई क्षति पुग्छ भन्ने हाम्रो साझा दृष्टिकोण हो । यसैले एक भएर प्रतिवाद गर्नेमा पुगेका हौँ ।’ 

पौडेल पक्षको यस्तो निरन्तरको छलफलले देउवाविरुद्ध एक भएर अघि बढ्नुपर्ने विषयमा पनि समझदारी जुटाउने प्रयास गरेको छ ।

पूर्वसंस्थापन पक्ष एक ठाउँमा उभिँदा देउवालाई परास्त गर्न सकिनेमा इतर पक्षको विश्वास छ । तर, सभापतिका लागि एकातिर देउवा उम्मेदवार हुने लगभग प्रस्ट हुँदा पूर्वसंस्थापनमा पनि नेताहरूको ताँती छ ।