Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एग्नेस कलार्ड
२०७७ श्रावण १२ सोमबार ०८:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अब एरिस्टोटललाई पनि बहिष्कार गर्ने ?

एरिस्टोटल दासप्रथाको प्रतिरक्षामा उत्रिएका थिए, उनले सबै मानिस बराबरी हुँदैनन् भन्ने तर्क पनि गरेका छन्, यसका बाबजुद उनलाई खलनायकका रूपमा बहिष्कार गर्नुहुँदैन

Read Time : > 3 मिनेट
एग्नेस कलार्ड
२०७७ श्रावण १२ सोमबार ०८:०१:००

महान् ग्रिक दार्शनिक एरिस्टोटलले दासप्रथालाई स्वीकार मात्र गरेका थिएनन्, उनले त्यसको पक्षमा वकालत नै गरेका छन् । उनी दासप्रथाको प्रतिरक्षा मात्र गर्दैनथे, दासप्रथा स्वयं दासका लागि समेत फाइदाजनक भएको तर्क गर्थे । केही मानिस स्वभावैले आफ्नो भलाइ सोच्न सक्दैनन् भन्ने उनलाई परेको थियो । एरिस्टोटलले त्यस्ता व्यक्ति अन्य मानिसको ‘जीवित औजार’का रूपमा प्रयोग हुन योग्य हुने तर्क गरेका थिए । उनले भनेका थिए, ‘दास भनेका मालिकका अंग हुन्, शरीरबाट अलग जीवित अंग ।’ 

एरिस्टोटलका उदारवादविरोधी धारणा यहीँ रोकिँदैन । उनी महिलाले राजकीय निर्णय गर्न सक्दैनन् भन्ने सोच्थे । यस्तो विचार राख्ने एरिस्टोटल एक्ला दार्शनिक भने होइनन् । इम्यानुअल कान्ट र ह्युमले पनि नश्लवादी विचार अभिव्यक्त गरेका छन् । त्यस्तै, फ्रेग यहुदीविरोधी धारणा राख्थे भने वेट्जेनस्टेन चर्को स्त्रीद्वेषी धारणा राख्थे । के पाठकले यी महान् दार्शनिकहरूलाई तीनका समानताविरोधी भनाइका लागि माफी दिन सक्छन् ? अथवा, तिनका खराब विचारलाई हटाएर असल सामग्री मात्र ग्रहण गर्न सकिन्छ ? कान्ट, ह्युम, फ्रेग र वेट्जेनस्टेनका हकमा यसो गर्न पनि सकिएला । किनकि, तिनका मूल दार्शनिक योगदान तिनका पूर्वाग्रहबाट फरक छन् ।

तर, एरिस्टोटलको हकमा यो लागू हुँदैन । उनमा समानताविरोधी विचार निकै बलियो गरी जरा गाडेर बसेको थियो । एरिस्टोटलका मानवीय मूल्य र महत्वसम्बन्धी विचार उनको हुर्काइका क्रममा विकास भएको थियो । उनको यो विचारअनुसार मानवीय मूल्य हासिल गर्न नसकेका (महिला, दासदासी) वा नभएका (श्रमिक)सँग बराबरी सम्मान एवं पहिचानको माग गर्ने कुनै आधार हुँदैन । यदि वैचारिक अपराधका कारण कसैलाई तिनले ओगटेको विशिष्ट स्थानबाट बहिष्कार (क्यान्सेलेसन) गरिदिने हो भने एरिस्टोटललाई बहिष्कार (क्यान्सेल) गर्नुपर्ने पर्याप्त कारण छन् । 

नैतिकतासम्बन्धी विवाद चर्केको वर्तमान समयमा लैंगिक पहिचानजस्ता विषयमा फरक मत राख्नेको उद्देश्यमै शंका गर्ने, बदनाम गराउने वा मुद्दामामिला गर्नेसम्मको कार्य हुन थालेको छ । यस्तो कार्यले वाक स्वतन्त्रतालाई आघात मात्र पुर्‍याउँछ ।

मुख्यतः उनको पहिचान विशिष्ट छ । मृत्युको हजारौँ वर्षपछि पनि उनका इथिक्स (नीति)सम्बन्धी कार्य विश्वभरका कलेज तथा विश्वविद्यालयमा आधारभूत दर्शनशास्त्रको पाठ्यक्रममा पढाइन्छ । एरिस्टोटलका कृतिमा समाजका निश्चित समुदायको बहिष्करणलाई सही ठह¥याउने तर्क भेटिन्छन् । निश्चय नै, आज कसैले त्यस्तो विचार व्यक्त गर्‍यो भने ऊ खराब मानिस ठहरिनेछ । यो समस्या रहदाँरहँदै पनि म एरिस्टोल र दर्शनशास्त्रका पाठ्यक्रममा उनको विशिष्ट स्थानको प्रतिरक्षा गर्छु । हामीले एरिस्टोटलका कृतिबाट हासिल हुने अथाह फाइदामा ध्यान दिनुपर्छ । 

एरिस्टोटलले हाम्रो समतामुखी प्रतिबद्धताको धरातल चिनाउने उद्देश्यमा सघाउन सक्छन् । उनको नीतिसम्बन्धी विचार अझै हामीले हासिल गरिसकेका छैनौँ । एरिस्टोटलको पक्षमा अझ अघि बढेर म तर्क गर्न सक्छु । एरिस्टोटलका पाठबाट हासिल हुने उपयोगिता हानिभन्दा कता हो कता बढी छ । खासमा, एरिस्टोटल पढेर कुनै बेफाइदा छैन भन्ने मेरो तर्क हो । यसैले एरिस्टोटललाई बहिष्कार (क्यान्सेल) गर्नुको कुनै कारण छैन । एरिस्टोटल हाम्रा शत्रु होइनन् । एरिस्टोटलजस्तै म पनि दर्शनशास्त्री हुँ र हामी दर्शनशास्त्रीले एकदम आधारभूत प्रश्नमा पनि उग्र असहमतिको सम्भावनालाई स्विकार्छाैं । दर्शनशास्त्रीहरूमाझ एउटा आदर्श हुन्छ– विवादमा उत्रने व्यक्तिलाई कहिल्यै पनि शत्रुतापूर्ण हेर्नुहुँदैन । तर, कसैले सीधै हाम्रो नैतिक संवेदनशीलतामाथि प्रहार गर्‍यो भने पनि हामी द्वेष भाव नराखी बस्न सकौँला त ? यस सन्दर्भमा हामीले व्यक्तिले बोलेका शब्दलाई नै त्यो व्यक्तिको विचारका रूपमा बुझ्नुपर्ने हुन्छ । 

तर, केही बोलीलाई शब्द-शब्दमा बुझ्नु पनि गल्ती हुन्छ । किनकि, बोलीको उद्देश्य सन्देश प्रवाह गर्नु पनि हो । विज्ञापन र राजनीतिक भाषण सन्देश प्रवाहका उदाहरण हुन् । त्यसबाहेक बहिष्कार गर्नु, विरोध गर्नु र सार्वजनिक माफी माग्ने काम पनि यसैअन्तर्गत पर्छन् । सन्देश प्रवाह गर्ने बोलीमा सत्य खोजीबाहेक अन्य कुरालाई महत्व दिइन्छ । अन्य बोलीमा तर्क र तथ्यमार्फत सत्य बुझाउने प्रयास गरिन्छ भने सन्देश प्रवाहमा यसका प्रापकमा एक प्रकारको अनुचित दबाब हालिन्छ । जस्तो– सार्वजनिक क्षमायाचना गर्नेले क्षमा मागेको व्यक्तिमाथि माफ गरिदिने सामाजिक दबाब दिइरहेको हुन्छ । सन्देश प्रवाह एक प्रकारले शक्तिसंघर्षमाझ सक्रिय हुन्छ ।

राजनीतिक वातावरण तातेको समयमा हाम्रा अधिकांश बोलीलाई सन्देश प्रवाहका रूपमा हेरिने सम्भावना हुन्छ । राजनीतिक विषयमा कसैले केही बोलेमा त्यो कुरा कुनै एउटा पक्षमा बोलिएको अर्थमा लिने सम्भावना हुन्छ । तर, नाराहरूको पनि सन्दर्भ हुन्छ । जस्तो- बाह्य ग्रहबाट आएको एउटा एलियनको ग्रहमा जेन्डर (लिंग) हुँदैन । पृथ्वीमा बस्दाको अवलोकनबाट उसले यहाँ महिला पुरुषभन्दा हीन रहेको निष्कर्ष निकाल्यो । उसको अवलोकन सुन्दा मैले आपत्ति मान्नुपर्ने केही हुँदैन । एलियनले यो तर्क सम्मानपूर्वक राखेसम्म म तिनको कुरा सुन्न अझ त्यसपछाडिको तिनको तर्क जान्न इच्छुक नै हुनेछु । मैले एरिस्टोटललाई यस्तै ‘एलियन’को रूपमा पढ्छु । 

एरिस्टोटलको इथिक्सबारेको विचार अनुभव र अवलोकनमा आधारित थियो । एरिस्टोटलले आफूवरिपरि दासत्वको विश्व मात्र देखे । उनले महिला र श्रमिकलाई नियन्त्रणमा राखेको देखे । त्यही स्थितिलाई एरिस्टोटलले नीति सिद्धान्तमा लिपिबद्ध गरेका हुन् । एरिस्टोटल पढ्दा म विश्वको त्यही दृष्टिकोण देख्छु । उनका शब्दपछाडि म कुनै खराब उद्देश्य देख्दिनँ, जसले कमजोर वर्गलाई हानि गर्ला भन्ने भयले दबाउनु परोस् । एरिस्टोटल र हामीले बाँचिरहेको समयको लामो दूरीले गर्दा पनि उनलाई एलियनको रूपमा बुझ्नु सही हुन्छ भन्ने मेरो बुझाइ हो । 

कुनै बोली तब मात्र साँचो अर्थमा स्वतन्त्र हुन्छ, जब त्यसविरुद्ध कुनै वैरभावविना असहमतिको विचार राख्ने वातावरण हुन्छ । यसमा के भन्ने भन्दा पनि कसरी भन्ने प्रधान हुन्छ । ‘क्यान्सेल कल्चर (बहिष्कार संस्कृति) खासमा ‘मेसेजिङ कल्चर (सन्देश प्रवाह संस्कृति)’कै विस्तारण हो । यसअन्तर्गत अहिले हरेक बोलीलाई आफ्नो पक्ष वा शत्रु पक्षमा वर्गीकरण गर्न थालिएको छ, जसमा स्वयं ‘वाक स्वतन्त्रता’को मागलाई नै अन्यथा अथ्र्याइने सम्भावना रहन्छ । नैतिकतासम्बन्धी विवाद चर्केको वर्तमान समयमा लैंगिक पहिचानजस्ता विषयमा फरक मत राख्नेको उद्देश्यमै शंका गर्ने, बदनाम गराउने वा मुद्दामामिला गर्नेसम्मको कार्य हुन थालेको छ । यस्तो कार्यले वाक स्वतन्त्रतालाई आघात मात्र पुर्‍याउँछ ।

(एग्नेस कलार्ड युनिभर्सिटी अफ सिकागोका दर्शनशास्त्रका सह-प्राध्यापक हुन् ।) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य