मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. केशव शर्मा /डा. सरोज कार्की
२०७७ श्रावण १२ सोमबार ०९:०१:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

डुबानमा काठमाडौं, कारण खोजौँ

प्राकृतिक नियम र इन्जिनियरिङ सिद्धान्तविपरीत गरिने भौतिक विकासले समाधान नभई समस्या बढाउँछ

Read Time : > 8 मिनेट
डा. केशव शर्मा /डा. सरोज कार्की
२०७७ श्रावण १२ सोमबार ०९:०१:००

वर्षातमा काठमाडौं उपत्यका डुबानमा पर्नु सामान्य हुन थालेको छ । उपत्यकाका सबै खोलामा सामान्य वर्षामा समेत गडगडाएर बाढी आउँछ । उदाहरणका लागि, हनुमन्ते खोलाले नयाँबस्ती, सल्लाघारी, राधेराधे क्षेत्र चुर्लुम्म पारिहाल्छ । गत वर्ष कलंकी खसीबजार र कुलेश्वर क्षेत्र डुबेको धेरैलाई थाहै छ । । ललितपुरका केही क्षेत्र पनि बर्सेनि डुबानमा पर्छन् । यस वर्ष पनि बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमतीलगायतका खोलामा पानीको बहाव बढेको छ । आसपासका क्षेत्र डुबानमा परिसकेका छन् । सन् १९८१ मा लेले, १९८८ मा शंखमूल, १९९१ मा थापाथली, १९९३ मा बागमती, २००२ मा बल्खुखोला र २००६ मा गौशाला क्षेत्रमा ठूलै क्षति हुने गरी बाढी आएको थियो । सन् २००२ मा बल्खुखोलाको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । उपत्यकाका सतुंगल, बालकुमारी, थानकोट, कलंकी, पाटन, कुलेश्वर बल्खुलगायतका क्षेत्रमा सधैँ डुबानको त्रास हुन्छ । 

किन भयो त डुबान ? : सहरी क्षेत्र मौसम परिवर्तन, अव्यवस्थित संरचना र नदी मासिएका कारण डुबानमा पर्छन् । मौसम परिवर्तनका कारण छोटो अवधिमा अधिक वर्षा हुन्छ । अव्यवस्थित संरचनाका कारण पानी जमिनमुनि जान नपाई बगेर खोला वा खोल्सीतिर सोहोरिन्छ । ढल वा नालामार्फत निकास नहुँदा जलमग्न हुन बेर लाग्दैन । काठमाडौंको हकमा खोल्सा एवं नालाहरू मासिएको वा पुरिएका कारणले डुबानको समस्या बढ्दो छ । 

उच्च वर्षा : केही वर्षयताको काठमाडौंको डुबान उच्च वर्षाको कारणले होइन । तत्कालीन जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको अध्ययनले उपत्यकामा प्रत्येक ५०, १०० र २०० वर्षभित्रमा एकचोटि प्रतिदिन करिब १८०, २०० र २१५ मिलिमिटर पानी पर्न सक्ने देखाउँछ । अर्थात्, १८०, २०० र २१५ मिलिमिटर प्रतिदिन पानी पर्न सक्ने सम्भावना प्रत्येक वर्ष क्रमशः २, १ र ०.५ प्रतिशत छ । बुझ्नुपर्ने के छ भने त्यो एक सय वर्षमा फर्किने ठूलो पानी जुनसुकै वेला पर्न सक्छ– भोलि, अर्को महिना, अर्को वर्ष वा अर्को केही वर्षमा । त्यसैले तयारी अहिलेदेखि गर्नुपर्छ । केही वर्षयता काठमाडौंमा १८० मिलिमिटर वा त्योभन्दा धेरै पानी परेको छैन, तैपनि डुबानको समस्या बढ्दो छ । गत वर्ष काठमाडौंमा डुबान हु“दा जल तथा मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थलस्थित मापन केन्द्रले २४ घन्टामा औसत ११५ मिलिमिटरसम्म पानी परेको देखाएको थियो ।

०७५ सालमा धेरै स्थान डुबाएको दिन नगरकोटमा ११७, चाँगुनारायणमा ७६ र भक्तपुरमा १२९.६ मिलिमिटर र काठमाडौंमा औसत ९३.६ मिलिमिटर पानी परेको थियो । जारी मनसुनमा पनि काठमाडौंमा प्रतिदिन १०० मिलिमिटरभन्दा ठूलो पानी परेको देखिँदैन । ‘युनिभर्सिटी अफ नेभाडा’ (अमेरिका)को एक अध्ययनले २४ घन्टामा १०० मिलिमिटर पानी काठमाडौंमा सामान्य मनसुनको वेलामा पनि पर्न सक्ने देखाएको छ । काठमाडौं उपत्यकाको हकमा जुलाई २३, २००२ मा १७७ मिलिमिटर प्रतिदिन पानी परेको रेकर्ड छ । जुन वेला बल्खुखोलाले २८ जनाको ज्यान लिएको थियो भने करोडौंको भौतिक क्षति गरेको थियो । विभिन्न कारणले अध्ययनले देखाएभन्दा ठूलो पानी पर्न सक्छ । जस्तै, सन् २००५ मा भारतको मुम्बईमा २४ घन्टामा लगभग ९४४ मिलिमिटर वर्षा भएको थियो । त्यसबखत त्यहाँ करिब ११ सयजनाको मृत्यु र करिब ९० अर्बबराबरको क्षति भएको थियो । 

महाराजगन्जबाट सुरु भएर थापाथलीमा बागमतीमा मिसिने टुकुचा खोला हराउन लागिसक्यो । सीतापाइला-स्वयम्भू क्षेत्रको भचाखोलामा कंक्रिटको स्लाब हालेर त्यसमाथि बाटो बनाइएको छ । कपनमा खहरे खोलालाई करिब एक मिटरको ह्युमपाइपमा कैद गरिएको छ।

यही वर्ष पनि जापानका केही भागमा पाँच सय ५० मिलिमिटरभन्दा बढी वर्षा भयो, जसबाट करिब ७५ जनाको मृत्यु भएको छ । नेपालको टिस्टुङ–पालुङ क्षेत्रमा पनि ०५० सालमा पाँच सय ४० मिलिमिटर वर्षा भएको थियो । यो वर्ष गोदावरीमा २४ घन्टामा करिब १२० मिलिमिटर पानी प-यो । उपत्यकाका अन्य स्थानमा त्योभन्दा कम पानी परेको छ । यी तथ्यका आधारमा अहिलेको उपत्यकाको डुबान उच्च वर्षा भएर भएको भन्ने कुनै आधार छैन । 

सहरीकरण र संरचना निर्माण : हाम्रो सहरी सडकमा वर्षामा बग्ने पानी व्यवस्थित गर्ने र निकासका लागि ढल प्रणाली समावेश छैन । सहरमा सडकजत्तिकै ढल पनि महत्वपूर्ण हुन्छ । तर, बाटोको उब्रेको भागमा नाला बनाइन्छ, जुन वर्षाको पानी समेट्न पर्याप्त हुँदैन । अमेरिका, जापानमा नालालाई सडकजतिकै प्राथमिकता दिइन्छ । काठमाडौंमा बर्खे पानी निकासको प्रबन्ध नहुँदा मध्यमखालको वर्षा हुँदासमेत जमल, पुतलीसडक, बबरमहल, तीनकुने, कपन, शान्तिनगर, ललितपुर र भक्तपुरका कतिपय ठाउँमा पानी जमेर अस्तव्यस्त बन्ने गर्छ । केही वर्ष पहिलेसम्म काठमाडौंमा डुबानको खासै समस्या थिएन । विभिन्न कारणले काठमाडौंको अव्यवस्थित सहरीकरण उच्च गतिमा छ । राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वमा सहरीकरण उच्च वृद्धि भएको शीर्ष १० सहरमा काठमाडौं पनि पर्छ । सन् १९५० को दशकताका भवन, सडक तथा अन्य पूर्वाधारले केवल यहाँको एक प्रतिशतजति क्षेत्रफल मात्रै ओगटेको थियो । जुन सन् २०१८ मा २५ प्रतिशत पुगेको छ । यही अवधिमा खोलानालाले चर्चेको क्षेत्र उल्लेख्य घटेको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०३० सम्ममा उपत्यकाको जनसंख्या करिब दुई गुणाले बढ्ने प्रक्षेपण गरेको छ।

काठमाडौं महानगरपालिकाभित्रको ७५ प्रतिशत जमिन भवन तथा अन्य पूर्वाधारले छोपिएको छ । सामान्यतः आकाशबाट खाली जमिनमा परेको २५ प्रतिशत पानी बगेर खोल्सातिर पुग्छ भने बाटो, पूर्वाधारले ढाकेको क्षेत्रमा ७५ प्रतिशत पानी खोला–खोल्सीमा पुग्छ । काठमाडौं उपत्यकाको जलाधार क्षेत्र करिब ६ सय २५ वर्गकिलोमिटर छ । वार्षिक सरदर १५ सय मिलिमिटर पानी पर्ने उपत्यकाको ७५–८० प्रतिशत वर्षा जेठ–भदौमा हुन्छ । कृषि जमिन घटेको र रुख बिरुवा विनाशले पनि काठमाडौंमा बाढी तथा डुबान बढ्दो छ । झारपातले ढाकेको एक हेक्टर जमिनको तुलनामा सडक, भवन तथा अन्य पूर्वाधारले ढाकेको एक हेक्टरबाट वर्षाको पानीको बहाव डेढदेखि दुई गुणा बढी हुने मानिन्छ । साथै, यस्तो क्षेत्रको पानी छोटो समयमा खोलामा पुग्छ र त्यसले एक्कासि बाढीको रूप लिन्छ । 

खोला किनारको अतिक्रमणले बहाव क्षेत्र साँघुरो बनाएको छ । खोलामा पानीको बहावलाई असर पर्ने गरी संरचना निर्माण हुने क्रम बढ्दो छ । खोलाको चौडाइ पर्याप्त नहुँदा बहावको गति बढ्नुका साथै पानीको सतहसमेत माथि आउन पुग्छ । जसले खोलावरपरका बस्तीमा भेल पस्ने जोखिम बढेर गएको हो । उदाहरणका लागि, बागमती नदीमा कुपण्डोलमा पुलको लम्बाइ १६० मिटर छ । अर्थात् त्यस ठाउँबाट बाढी सहजै बगेर जान त्यसै बराबर नदीको चौडाइ चाहिन्छ । तर, ठीक त्यसको माथि र तल नदीको चौडाइ ७५ देखि ८० मिटरमा सीमित छ । साथै, पानीको सहज बहावलाई चाहिने न्यूनतम चौडाइ अवरुद्ध हुने गरी बाटो बनाउने, पर्खाल लगाउने काम उत्तिकै द्रुत गतिमा छ । यी सबै कारणको एकमुष्ट असरका रूपमा सामान्य वर्षामा समेत डुबानको ठूलो प्रभाव देखिन थालेको छ।

उपत्यकामा नमिचिएको नदी र खोला छैन । यस्तो लाग्छ, हिजोआज काठमाडौंमा खोला छैनन्, नाला मात्र बाँकी छन् । कतिपय सानातिना खोला–खोल्सीको त अस्तित्व नै नामेट भइसकेको छ । महाराजगन्जबाट सुरु भएर थापाथलीमा बागमतीमा मिसिने टुकुचा खोला हराउन लागिसक्यो । त्यस्तै, सीतापाइला–स्वयम्भू क्षेत्रको भचाखोलामा कंक्रिटको स्लाब हालेर त्यसमाथि बाटो बनाइएको छ । कपनमा खहरे खोलालाई करिब एक मिटरको ह्युमपाइपमा कैद गरिएको छ। 

विकासका नाममा सामान्य इन्जिनियरिङ एवं प्राकृतिक सिद्धान्तलाई समेत बेवास्ता गरिएका अनेकौँ उदाहरण छन् । काँठ क्षेत्रमा ठाडो खहरेहरूलाई पुरेर घडेरी र बाटो बनाउने प्रवृत्ति द्रुत गतिमा छ । सामाखुसी–गोंगबु क्षेत्रमा विष्णुमती घरको जगमुनिबाट समेत बगेको छ । बिष्णुमती किनारमा बनेका धेरै घर भूकम्पका वेला भत्किएका थिए। 

काठमाडौंमा थुप्रै राजकुलो, प्राकृतिक खोल्सा र कुलो थिए । तिलगंगा र बाणगंगामा पानीको प्राकृतिक निकास थियो, त्यो निकास पूरै मासेर घर र बाटो बनाइयो । त्यसैगरी, ठिमीको भाटभटेनीअगाडिको बाटो पहिले राजकुलो थियो भनिन्छ । विडम्बना, आमनागरिक मात्र होइन, विकास निर्माणसम्बद्ध राज्यका निकायले समेत नदी अतिक्रमण हुने गरी संरचना बनाइरहेका छन् । करिडोर बनाउने नाममा बागमतीलगायतका नदीमा पानीसम्म पुग्न बनाइएका सिँढी भत्काएर ठाडो पर्खाल लगाई नदीलाई नाला बनाइएको छ । बागमती, विष्णुमती, धोबीखोला र अन्य करिडोरको नाममा उच्च बहावलाई चाहिने जलाधार क्षेत्र नै मिचेर जुन दिनदेखि सडक निर्माण थालियो, त्यहीँबाट बागमती, धोबीखोला र विष्णुमतीआसपासमा डुबानको जोखिम बढेको हो ।

जल उत्पन्न प्रकोप विभागको अध्ययनअनुसार ५० वर्षमा आउन सक्ने ठूलो बाढी सहज रूपमा बग्नका लागि मनोहरा ४२–१३० मिटर, बागमती ५१–२०५, धोबीखोला ३१ मिटर, विष्णुमती २८–८३, गोदावरी १३–५१, हनुमन्ते ७८ र बल्खुखोलाको ५० मिटर खुला बहाव (चौडाइ) हुनुपर्ने भनेको छ । विडम्बना ! काठमाडौं उपत्यका विकास प्राधिकरणले अध्ययनको धज्जी उडाउँदै ती नदीनालालाई १० देखि ३० मिटरभन्दा कम चौडाइमा खुम्च्याएर नदीको दाया“–बाया“ सडक निर्माण गरिरहेको छ । जल उत्पन्न प्रकोप विभागको अध्ययनअनुसार ५० वर्षमा दोहोरिन सक्ने बाढीका लागि धोबीखोलामा कम्तीमा ३१ मिटर खुला बहाव छोड्नुपर्नेमा काठमाडौं उपत्यका विकास प्राधिकरणले १९ मिटरमा खुम्च्याइदिएको छ ।

प्राधिकरणले केही स्थानमा खोलामै सडक बनाएको छ भने केही स्थानमा खोलालाई १० मिटरमा खुम्च्याएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका एक उच्च अधिकारीका अनुसार नापीको नक्सा (क्याडस्ट्रल)का आधारमा नदी खोलाको जलाधार क्षेत्र तोकिएको छ । संसारमा कहीँ पनि ‘क्याडस्ट्रल’ नक्सा नदीको बहाव क्षेत्र हुँदैन । नदीको नक्सांकन विधि नै गलत छ । यसर्थ, यहाँ बाढी र डुबानको समस्या प्राकृतिक नभई मानव सिर्जित हो । 

नदीनालामा दायाँ–बायाँ सडक एवं पुलजस्ता संरचना निर्माण गर्दा नदीमा सय वर्षमा दोहोरिन सक्ने सबैभन्दा ठूलो बाढीलाई आधार मानेर त्यसैअनुसार डिजाइन गर्नुपर्नेमा सामान्य जलविज्ञान (हाइड्रोलोजी र हाइड्रोलिक्स)समेत बेवास्ता गरी निर्माण भइरहेका छन् । यी करिडोर प्रायः ती नदीका पुरानो पुलमुनिबाट भएर गएका छन् । पुलमुनिबाट पानी बग्ने क्षेत्र घट्न जाँदा पुलको माथिल्लो भागमा बर्सेनि डुबान हुने गरेको छ । बबरमहलमा धोबीखोलाको पुलमुनि नै ठूलो पर्खाल लगाएर नदीको क्षेत्र र पुलमुनिको पानी बग्ने क्षेत्रलाई साँघु-याई नयाँ बाटो बनाइएको छ । फलस्वरूप सामान्य वर्षामा समेत माथिल्लो क्षेत्र अनामनगर र बिजुलीबजारमा डुबान हुन्छ । यस्तो समस्या करिडोर निर्माण भएका सबै क्षेत्रमा छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका एक उच्च अधिकारीका अनुसार नापीको नक्सा (क्याडस्ट्रल)का आधारमा नदी-खोलाको जलाधार क्षेत्र तोकिएको छ । संसारमा कहीँ पनि ‘क्याडस्ट्रल’ नक्सा नदीको बहाव क्षेत्र हुँदैन । नदीको नक्सांकन विधि नै गलत छ ।

काठमाडौंका नदीमा बनेका नयाँ पुलहरू डुबानको अर्को कारक हुन् । नदीनालामा आउन सक्ने उच्च बहावको वास्तै नगरी निर्माण गरिएका होचा–छोटा पुलका कारण वरपरका क्षेत्र डुबानको उच्च जोखिममा छन् । बागमतीमा बनेका पुराना पुलहरू, जस्तै– टेकु, बल्खु, थापाथली र शंखमूलको पुल, धोबीखोलामा बिजुलीबजारको पुलको लम्बाइ १०० मिटरभन्दा बढी र उचाइ पनि पुलमुनिको बाटोबाट ट्रक चल्ने गरी बनाइएको छ । तर अहिले बनेका पुल जस्तै– युएन पार्क, च्यासलका पुल धोबीखोलाकै नयाँ पुल भने पुराना पुलको तुलनामा आधा पनि छैनन् । प्रत्येक वर्ष सामान्य वर्षामा आउने नदीको बहावले पुललाई छुने गर्छ । अहिलेका धेरैजसो पुल वास्तवमा पुल नभएर जलद्वार (सुलुइस गेट)को काम गरिरहेका छन् । 

काठमाडौंमा सबै खोलामा पछिल्लो समय बनेका पुलमा यो समस्या छ । ठूलो वर्षा हुँदा पुलले नै पानीको बहावलाई रोक्छ । ती पुलमा नदीको उच्च बहावको सतह र पुलको सतहबीच आवश्यक दूरी कायम गरिएको छैन । नेपाल ब्रिज स्ट्यान्डर्ड २०६७ का अनुसार जतिसुकै थोरै पानी बग्ने खोला भए पनि १०० वर्षमा फर्कने बाढीको सतह र पुलबीचमा एक मिटर खाली भाग रहने गरी पुलको डिजाइन र निर्माण गरिनुपर्छ, जसलाई प्राविधिक भाषामा ‘फ्री बोर्ड’ भनिन्छ । बागमतीको हकमा कम्तीमा १.५ मिटर फ्री बोर्ड हुनुपर्ने हो । तर, पछिल्लो समय बनेका अधिकांश पुलले मनसुनको समयमा नदीको बहावलाई छोएको देखिन्छ । त्यही बागमतीका पुराना पुलहरूको लम्बाइ १०० मिटरभन्दा बढी छ, जबकि नयाँ पुलहरू ५० मिटर मात्रै लामा छन् । पहिलाका पुल पैसा धेरै भएर अग्लो र लामो बनाइएका होइनन् । ती पुल निर्माणमा राम्रोसँग मापदण्ड पालना भएका थिए । त्यसैले जति नै ठूलो वर्षा हुँदा पनि ती पुलले पानीको बहावलाई अवरोध गरेको पाइँदैन ।

सडक विभागले केही वर्षअगाडि शान्तिनगरमा पुल निर्माण गर्ने क्रममा सवारीसाधन निर्बाध चलाउन भनेर सामान्य अध्ययन पनि नगरी धोबीखोलामा केही ह्युमपाइप राखेर अस्थायी संरचना बनाइदिँदा बिजुलीबजार क्षेत्रमा डुबान भएको थियो । स्थानीयको चर्को विरोधपछि उक्त संरचना हटाइयो । हामी कसरी नदीमाथि खेलबाड गरिरहेका छौँ भन्ने देखाउने यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । कतिपय स्थानमा नदीको बहाव रोकिने गरी ढलको पाइप नदीको वारपार राखिएको छ । जसले बाँधको जस्तो काम गरेर माथिल्लो क्षेत्रलाई डुबानमा पार्ने गरेको छ ।

हाम्रो नीतिमै ठूलो त्रुटि देखिन्छ । अहिलेसम्म पनि भूउपयोग नीति कार्यान्वयनमा नआउनु दुर्भाग्य हो । जमिनको जोखिम नक्सांकन (ल्यान्ड रिस्क म्यापिङ) गरेर त्यसैका आधारमा कुन भाग के प्रयोजनका लागि उपयुक्त हुन्छ भनेर नागरिकलाई सचेत गराउन आवश्यक छ । यसको अभावमा नदीखोलाको जलाधार क्षेत्रमै धमाधम बस्ती निर्माण भएका छन् । काठमाडौं उपत्यका प्राधिकरणले खोलाको मापदण्ड तोकेको त छ, तर खोलाका बगरमै नगरपालिकाबाट नक्सा पास गरेरै धेरै घर निर्माण भइरहेका छ । जनसंख्यामा चापको कारण जोखिमी क्षेत्रसमेत अतिक्रमण गरी बस्ती विस्तार गर्ने क्रम जारी छ । हामीले पानीको प्राकृतिक बहावलाई छेकेका छौँ । खहरे खोलामा बस्ती बसालेका छौँ । त्यसैले ०५० सालको जस्तो ५४० मिमि वर्षा भयो भने अवस्था कहालीलाग्दो हुनेछ र गत भूकम्पबाट भन्दा धेरै ठूलो क्षति हुनेछ । 

प्रकृतिसँग जुधेरभन्दा पनि प्रकृतिको रचनालाई बुझेर अगाडि बढ्नु आवश्यक छ । प्राकृतिक नियम र इन्जिनियरिङ सिद्धान्तविपरित गरिने भौतिक विकासले समाधान नभई समस्या बढाउँछ । प्राकृतिक जोखिमलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्न, तर त्यसबाट उत्पन्न हुने विपद्को प्रभाव भने कम गर्न सकिन्छ । प्रकृतिमा आधारित नदी व्यवस्थापनको अवधारणा अहिले विश्वभरि लागू भइरहेको सन्दर्भमा हामीले पनि हाम्रा नदीनालालाई प्राकृतिक नियमानुसार व्यवहार गर्नु जरुरी छ । अन्त्यमा काठमाडौं उपत्यकामा अव्यवस्थित बसोवास, नदीनालाको अतिक्रमण, संरचना निर्माणमा जलविज्ञानको बेवास्ता, सबै किसिमका फोहोर पानीमा मिसाइनु, प्राकृतिक जलनिकासको विनाश हुनु आदि कारणले डुबानको समस्या बढ्दो छ । यो समस्या हाम्रै क्रियाकलापका कारण उब्जिएको हो भन्ने आत्मबोध नगरुन्जेल समाधानका दिशामा अग्रसर हुन सकिन्न।

(शर्माले युनिभर्सिटी अफ अल्बेर्टा, क्यानडाबाट सिभिल इन्जिनियरिङ र कार्कीले क्योटो युनिभर्सिटी, जापानबाट जलस्रोत इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् ।)