Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण ११ आइतबार २०:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा कामदारको ज्याला निर्धारण

Read Time : > 1 मिनेट
२०७७ श्रावण ११ आइतबार २०:२७:००

आर्थिक वर्ष ०७७/७८ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ । जिल्लाभर दररेटमा एकरूपता ल्याउन सार्वजनिक खरिद नियमावली ०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार निर्माण सामग्री, ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण गर्न १२ असारमा बसेको बैठकबाट उपसमिति गठन भएको थियो । सोही उपसमितिले छिमेकी जिल्लाको दररेट, नेपाल राष्ट्र बैंकको मूल्यसूचक, गत आर्थिक वर्षको दररेट र सरोकारवाला निकायको सुझाबका आधारमा चालू आर्थिक वर्ष ०७७/७८ का लागि दररेट निर्धारण गरिएको हो । 

दक्ष कामदारलाई दैनिक हजार ५० देखि १८ सय ५८ सम्म
जिल्लाको कालिका, उत्तरगया गाउँपालिकाका सबै क्षेत्र, नौकुण्ड गाउँपालिकाको लारच्याङ, यार्सा, घाङमर, दोक्लाङ, सिङबन्दी, साङग्युलबाहेकका क्षेत्र र गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुबेसी क्षेत्रका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि प्रतिदिन एक हजार ५० रुपैयाँ कायम गरिएको छ । 

यस्तै ज्यामीका लागि सात सय ३५ रुपैयाँ, अर्धदक्ष कामदारका लागि आठ सय ६१ रुपैयाँ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि एक हजार रुपैयाँ कायम गरिएको थियो भने ज्यामीका लागि सात सय र अर्धदक्ष कामदारका लागि आठ सय २० रुपैयाँ कायम गरिएको थियो । 

गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, स्याफ्रु, लाङटाङबाहेक र गोसाइँकुण्ड क्षेत्रको चन्दनबारीभन्दा तल, आमाछोदिङमाे गाउँपालिकाको सबै क्षेत्र र नौकुण्ड गाउँपालिकाको लारच्याङ, यार्सा, घाङमर, बच्चा, दोक्लाङ, सिम्बन्दी र साङग्युल क्षेत्रका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारको ११ सय ५५ रुपैयाँ कायम गरिएको छ । यस्तै ज्यामीका लागि आठ सय ४० रुपैयाँ र अर्धदक्ष कामदारका लागि आठ सय ९२ रुपैयाँ कायम गरिएको छ । 

गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ, चन्दनबारी वा सो भन्दामाथि गोसाइँकुण्ड क्षेत्रमा डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि १८ सय ५८ रुपैयाँ कायम गरिएको छ । ज्यामीका लागि १४ सय १० र अर्धदक्ष कामदारका लागि १६ सय २५ रुपैयाँ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि १७ सय ७० रुपैयाँ कायम गरिएको थियो भने ज्यामीको १३ सय ४३ र अर्धदक्ष कामदारका लागि १५ सय ४८ रुपैयाँ कायम गरिएको थियो । 

जिल्ला दररेट निर्धारण समितिका अनुसार गत वर्षको दररेटमा यो वर्ष ५ देखि करिब १५ प्रतिशत बढाई कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ । 

जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामग्रीहरूबाहेक अन्य निर्माण सामग्रीको हकमा नुवाकोट तथा काठमाडौंको दररेटलाई आधार मानी ढुवानी भाडा जोडि मूल्य कायम गर्ने निर्णय गरिएको छ । 

यस्तै वर्षात् अवधिमा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल र जोखिमपूर्ण कार्य गराउँदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ । विभिन्न कार्यालयका लागि जिप–कार बढीमा पाँच दिनका लागि सवारी इन्धन र जनशक्तिसहित प्रतिदिन नौ हजार भाडामा लिन सकिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।