Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०९:००:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

पर्यटन खुल्ने आसले व्यवसायी उत्साहित

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ श्रावण ११ आइतबार ०९:००:००

नेपालमा पर्यटनका लागि दुईवटा सिजन मुख्य मानिन्छ । फेब्रुअरीदेखि मेसम्म चल्ने वर्षको पहिलो सिजन र अक्टोबरदेखि डिसेम्बरसम्म दोस्रो सिजन । पहिलो सिजन कोरोना भाइरस (कोभिड–१९)ले सुनसान बनायो । त्यसवेला झन्डै विश्व नै लकडाउनमा थियो, जसले गर्दा पर्यटकको आवागमन ठप्प रह्यो । असोजदेखि सुरु हुने दोस्रो सिजननजिकै आइपुग्दा संसार बिस्तारै खुल्दै छ । नेपालमा पनि एक सय २० दिनपछि लकडाउन हटाइएको छ । 

सरकार १ भदौदेखि सीमित संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान खुलाउन तयारीमा जुटिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान कसरी सञ्चालन गर्ने भनेर ‘प्रोटोकल’ बनाउँदै छ । १५ साउनदेखि होटेल, रेस्टुराँसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहणका अफिस पनि खोल्न पाइनेछ । गत सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘कोभिड–१९ को कहरबीच हिउँदे सिजनको पर्यटनलाई ध्यानमा राखेर यो निर्णय गरेका हौँ ।’

विश्वभरका मानिस कोभिडसँग जोगिँदै सामान्य जीवन जिउन सिक्दै छन् । लकडाउनले उकुसमुकुस भएका मानिस मनबाट कोभिडको त्रास हटाउँदै सुरक्षित रूपमा घुमफिर गर्न थालेका छन् । विश्वका कतिपय मुलुकले सुरक्षा ‘प्रोटोकल’ बनाएर पर्यटन खुला गरिसकेका छन् । नेपालमा पनि हवाई सेवा खुला हुने भएपछि पर्यटन व्यवसायीमा उत्साह छ । पर्यटन क्षेत्रका तीन दर्जनजति संघसंस्थाले एयरपोर्ट खुलाउन सरकारलाई संयुक्त ज्ञापनपत्र बुझाएका पनि थिए ।

पर्यटन मन्त्रालय होटेल, रेस्टुराँ, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत पर्यटन क्षेत्रको सुरक्षा प्रोटोकल बनाइँदै । यात्रुलाई कसरी सुरक्षित रूपमा यात्रा गराउने भनेर विमान कम्पनीले तयारी थाले ।

आंशिक रूपमै भए पनि हवाई सेवा सुचारु भएपछि कोभिडका कारण उकुसमुकुस भएर बसिरहेका विदेशी पर्यटक नेपाल घुम्न आउने व्यवसायीको अनुमान छ । नेपाल होटेल संघ (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘पर्यटकले अटम सिजनको बुकिङ रद्द गरेका छैनन्, नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउन सक्यौँ भने पर्यटक घुम्न आउँछन् ।’ व्यवसायीले पनि इमानदारीपूर्वक सरकारले बनाएको प्रोटोकल पूर्ण रूपमा पालना गरेर आफ्नो सेवा दिनुपर्छ । सरकारले पनि विदेशी पर्यटक आउँदा तत्कालै पिसिआर परीक्षण गरेर घुम्न दिनुपर्छ ।

कोही पनि पर्यटक १४ दिनसम्म क्वारेन्टाइन बस्नुप¥यो भने नेपाल आउँदैनन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत शर्मा गुरागाईं भन्छन्, ‘सरकारले पिसिआर नेगेटिभ भएको रिपोर्ट ल्याएर आउने पर्यटकलाई क्वारेन्टाइनमा बस्नुनपर्ने व्यवस्था गर्नुपर्छ वा एयरपोर्टमा अत्याधुनिक पिसिआर मेसिन राखेर एक घन्टामै रिपोर्ट दिने व्यवस्था गर्नुपर्छ ।’ पिसिआर नेगेटिभ आएका पर्यटकलाई सुरक्षित भएर निर्बाध घुम्न दिनुपर्ने अधिकांश व्यवसायीको सुझाब छ । कतिपय मुलुकले आफ्नो देशबाट पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउने पर्यटकलाई निगरानीमा राखेर घुम्न दिइरहेका छन् । कतिपयले भने आफ्नो एयरपोर्टमा अत्याधुनिक पिसिआर मेसिन राखेर एक÷आधा घन्टामै रिपोर्ट दिइरहेका छन् । 

पर्यटनमन्त्री योगेश भट्टराई पनि एयरपोर्टमा कोभिड जाँच्ने व्यवस्था गरेरै भए पनि पर्यटकलाई घुम्न आउन दिनुपर्ने सोचमा छन् । केही दिनअघि पर्यटन व्यवसायीहरूको एक कार्यक्रममा उनको भनाइ थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक पिसिआर मेसिन राखेर कोभिडको तत्काल रिपोर्ट आउने व्यवस्था गर्नुपर्छ । रिपोर्ट नेगेटिभ आउने पर्यटक घुम्न निस्कन्छन्, पोजेटिभ आउनेलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । यो विषयमा स्वास्थ्य मन्त्रालयले पनि छिटै मापदण्ड निर्धारण गर्ला । सुरक्षित उडानमार्फत यात्रुलाई सहज आवतजावत गराउने प्रोटोकल पर्यटन मन्त्रालयले नै बनाउँदै छ ।’

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ भन्छन्, ‘अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर प्रोटोकल बनाइरहेका छौँ, नेपालमा आउने पर्यटक सुरक्षित रूपमै घुमफिर गरेर फर्किने वातावरण हुनुपर्छ ।’ 

पर्यटन मन्त्रालयले होटेल, रेस्टुराँ, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत पर्यटन क्षेत्रको सुरक्षा प्रोटोकल बनाइसकेको छ । विमान कम्पनीले यात्रुलाई कसरी सुरक्षित रूपमा यात्रा गराउने भनेर तयारी गरिसकेका छन् । होटेलहरूले पनि आफ्ना स्टाफलाई सुरक्षा प्रोटोकलको ‘फलो’ गर्न सिकाइरहेका छन् । ‘हामी सरकारले बनाएको प्रोटोकल पूर्ण रूपमा पालना गरेर पर्यटकलाई सेवा दिन्छौँ, बरु सरकारले प्रोटोकल पालना भए-नभएको अनुगमन गर्न सक्छ,’ विनायक शाह भन्छन्, ‘हामीले विश्वजगत्लाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाएर पर्यटक भित्र्याउन सक्नुपर्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नियमित उडान सञ्चालनका लागि तयारी गरिँदै छ । नियामक नागरिक उड्डयन प्राधिकरण आफैँ यात्रु र उडानको व्यवस्थापनका लागि छफलफलमा जुटेको छ । ‘लकडाउन गरेपछि उडान पक्कै कम भयो, तर एक दिन पनि रोकिएको छैन, हामीले नियमित सेवा दिइरहेका छौँ,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी भन्छन्, ‘सरकारले नियमित उडान खुला गर्ने भनेको छ, हामी हवाई यात्रुलाई सुरक्षित रूपमा सेवा दिन तयार छौँ ।’

लकडाउन सुरु भएयता गत बिहीबारसम्म ३२ हजार पाँच सय नेपाली विदेशबाट फर्किएका छन् । १६–१७ हजार विदेशी र नेपाली बाहिर गइसकेका छन् । स्वास्थ्य मन्त्रालयसँग निकटतम सम्बन्ध राखेर विमानस्थलमा सुरक्षा प्रोटोकल पालना गरी सेवा दिइरहेको उनी बताउँछन् । भन्छन्, ‘एकैचोटि धेरै उडान गर्न खोजियो भने भोलि जोखिम निम्तिन सक्छ, तर सीमित संख्यामा आन्तरिक तथा बाह्य उडानलाई व्यवस्थापन गर्न हामी सक्षम छौँ ।’

विश्वभरिका मान्छेले कोभिड ‘फेस’ गरिसकेका छन् । मान्छे कोभिडसँग ‘युज टु’ भइसकेको अवस्था छ । अब मान्छेलाई आफैँ जोगिने हो, सुरक्षित रूपमा बाहिर निस्कँदा केही हुँदैन भन्ने भइसक्यो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भन्छन्, ‘अब मान्छे पूरै डराएर घरभित्र बस्दैन, हामीले पर्यटकको कन्फिडेन्स बिल्डअप गर्न सक्यौँ भने उनीहरू नेपाल घुम्न आउँछन् ।’ अहिले युरोप, अमेरिका, दुबई, कतार, हङकङलगायत मुलुकमा पर्यटन खुला भइसक्यो । यतिवेला युरोपको मुख्य सिजन हो, त्यहाँका होटेलमा एकतिहाइभन्दा बढी अकुपेन्सी पुगिसकेको छ । ‘पर्यटकलाई एयरपोर्ट, होटेल, पर्यटकीय गन्तव्यमा सुरक्षित सेवा दिने मात्र होइन कि उनीहरूमा स्वास्थ्य समस्या देखिनेबित्तिकै सेवा दिन छुट्टै हस्पिटलको पनि व्यवस्था गरिनुपर्छ,’ उनी भन्छन्, ‘आगामी सिजनमा पदयात्रा र पर्वतारोहणमा रुचि राख्ने १५ देखि २० प्रतिशत पर्यटक आउन सक्ने अवस्था छ ।’ सबैभन्दा मुख्य विषय नेपाल जाँदा सुरक्षित भइन्छ है भन्ने आत्मविश्वास बढाउन सक्नुपर्ने सुवेदी बताउँछन् ।

कोभिड नियन्त्रणमा नआएसम्म मास टुरिजम आउँदैन । नेपाल आउँदा ५–६ वटा मुलुक घुमेर फर्किने पर्यटक आउने अवस्था पनि छैन । नेपाल आउने पर्यटक यहाँ घुमघाम गरेर स्वदेश फर्किहाल्छन् । कोभिडमा घुम्न निस्कँदा खर्च पनि बढी हुन्छ । सामाजिक दूरी कायम गरेर सेवा दिँदा यसै महँगो परिहाल्छ । कोभिडको बीचमा नेपालले गुणस्तरीय पर्यटक भिœयाउन सकिने सम्भावना पनि छ । नेपालमा पर्यटक प्रकृतिको काखमा रमाउन आउने हुन् । पदयात्रा, पर्वतारोहण, जंगल सफारी, एडभेन्चरमा जाने पर्यटकले आफ्नो देशभन्दा नेपाल धेरै सुरक्षित महसुस गर्नेछन् । ‘सरकारले अटम सिजनलाई टार्गेट गरेर उडान खोल्न लागेको हो, सिजन आउन अझै दुई महिना बाँकी छ, यो दुई महिनाको अवधिमा कोभिडको प्रभाव पनि थाहा भइहाल्छ,’ नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा भन्छन्, ‘हामीले अन्तर्राष्ट्रिय जगत्लाई आश्वस्त बनाउँदै पर्यटन खोल्नुपर्छ, नेपाललाई माया गर्नेहरू छिटै घुम्न आउँछन् ।’ सहरभन्दा ट्रेकिङ, माउन्टेनियरिङ बढी सुरक्षित भएको हुँदा एडभेन्चर पारखी खर्चालु पर्यटक भिœयाउन सकिने उनको तर्क छ । 

नेपालमा अक्टोबरदेखि सुरु हुने सिजनमा आउन खोजेका पर्यटकले अझै बुकिङ रद्द गरेका छैनन् । कतिपयले कोभिड फैलिँदै गएपछि फ्रेबुअरी–मे सिजनको बुकिङ अक्टोबर–नोभेम्बरको सिजनमा सारेका छन् । उनीहरूमा अझै आशा छ कि नेपाल खुला भयो भने घुम्न जानुपर्छ । कुनै पनि देशमा जानुभन्दा अगाडि पर्यटकले त्यो देशको अवस्थाबारे राम्रोसँग जानकारी लिन्छ । हाम्रो देशमा कोरोना संक्रमितमध्ये ७० प्रतिशत हाराहारी निको भएका छन् । करिब ९९ प्रतिशत संक्रमितमा लक्षण नै देखिएको छैन । कोभिडबाट मृत्यु हुनेको संख्या पनि ठूलो छैन । नेपालमा युरोपेली, अमेरिकी, मध्यपूर्वी मुलुकसँगै चिनियाँ र भारतीय पर्यटक पनि धेरै ल्याउन सकिन्छ । ‘धेरै भारतीय अहिले उकुसमुकुस भएर बसेका छन्, बढ्दो कोभिडबीच त्रासमा बाँचिरहेका छन्,’ हानका अध्यक्ष शाह भन्छन्, ‘नेपाल भ्रमणका लागि खुला गर्नेबित्तिकै धेरै भारतीय कोभिडबाट बचाउन भन्दै पशुपतिलगायतका तीर्थस्थलमा पूजाआजा गर्न आउनेछन्, किनभने भारतीय धेरै धार्मिक छन् ।’ अरू मुलुकबाट पर्यटक आउन थालेपछि बिस्तारै चिनियाँ पर्यटक पनि नेपाल आउने उनको तर्क छ ।

सरकार र व्यवसायीको सहकार्यमा नेपाल घुम्न आउने पर्यटकलाई सुरक्षित रूपमै फर्किने वातावरण बनाउनुपर्ने देखिन्छ । ‘अहिले नै कोभिड रोकिने अवस्था छैन, कोभिड कहिले रोकिएला र पर्यटन खुला गरौँला भनेर पनि हुँदैन,’ पर्यटन विभागका महानिर्देशक तामाङ भन्छन्, ‘सरकार र निजी क्षेत्रले पर्यटक आउने वातावरण बनाउने हो, पर्यटक आउन पनि सक्छन्, नआउन पनि सक्छन्, तर आउन खोज्नेलाई हामीले रोक्ने होइन, जो आउनुहुन्छ उहाँहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।’ 

नाट्टाका अध्यक्ष गुरागाईं थप्छन्, ‘लकडाउन खुलेपछि पर्यटनलाई पनि अगाडि बढाउनुपर्छ, हामी सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ, सरकारले पनि पिसिआर चेक गरेर पर्यटकलाई घुम्न दिनुपर्छ ।’ वर्षभरिमा नेपाल घुम्न आउने पर्यटकमध्ये १० प्रतिशत मात्र भए पनि भिœयाउन सके अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह हुने हानका अध्यक्ष शाहको तर्क छ । उनी भन्छन्, ‘कम्तीमा नेपाल खुल्यो भन्ने सन्देश गयो भने पनि राम्रो हुन्छ ।’