मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण ११ आइतबार १०:०८:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो

Read Time : > 8 मिनेट
२०७७ श्रावण ११ आइतबार १०:०८:००

भियतनाम युद्ध जितिँदैन भन्ने अमेरिकी सरकारका उच्च पदाधिकारीलाई धेरै पहिले नै थाहा थियो, तर पनि राजनीतिक फाइदाका लागि उनीहरूले आफ्ना सिपाहीलाई सहिद बन्न भियतनाम पठाइरहे

पेन्टागन पेपर्स प्रकरणले अमेरिकी सत्ताको चरित्रमात्रै उजागर गरेन, २० वर्ष लामो भियतनाम युद्धको अन्त्य पनि गरिदियो । न्यायालयलाई समेत प्रभावमा पारेर सत्ताको पृष्ठपोषण गराउन सफल निक्सनलाई एक पत्रकारको अदम्य साहसले बहिर्गमनको बाटो देखाइदिएको थियो । यो सत्यको विजय र झुठको पराजयमात्रै थिएन, प्रेसको शक्तिको एउटा अनुपम उदाहरण पनि थियो । राजनीतिले बिराएको बाटो सच्याउने सामथ्र्य प्रेसले देखाएको थियो । जसबाट नेपाली प्रेस र राज्यले आज पनि सिक्न सक्छन् । 

सन् १९६७ मा अमेरिकामा लिन्डन बी. जोनसन राष्ट्रपति थिए । उनकै प्रशासनमा रक्षा मन्त्रालयको जिम्मेवारी हेर्थे, डिफेन्स सेक्रेटरी रोबर्ट म्याक्नामारा । म्याक्नामारा जोनसनअघिका राष्ट्रपति जोन एफ केनेडीको प्रशासनमा पनि रक्षामन्त्रीकै जिम्मेवारीमा थिए । म्याक्नामारा अत्यन्त महत्वपूर्ण समयमा अमेरिकाको रक्षामन्त्री रहेका थिए । उनको कार्यकालमा भियतनाम युद्ध गृहयुद्धबाट अन्तर्राष्ट्रिय शक्तिराष्ट्रको प्रोक्सी (छद्म) युद्धमा बदलिएको थियो । यसमा रक्षामन्त्री म्याक्नामाराको पनि महत्वपूर्ण हात थियो । तर, लिन्डन जोनसनको राष्ट्रपति समयावधि एक वर्ष बाँकी छँदै म्याक्नामाराले आफ्नो पदबाट राजीनामा दिए । राजीनामा दिनुपछाडि उनी र जोनसनबीच बढ्दै गएको मतभिन्नता महत्वपूर्ण कारण थियो । 

म्याक्नामाराले राजीनामा दिनु केही अघि भियतनाम युद्धबारे एक अनुसन्धान सुरु गराएका थिए । यही नै ऐतिहासिक घटनाको मुख्य कारण बन्यो । उनले सन् १९६७ जुन १७ मा प्रख्यात अनुसन्धान फर्म र्‍यान्ड कर्पोरेसनलाई अमेरिका–भियतनाम सम्बन्धको सम्पूर्ण पाटो समेटेर एक रिपोर्ट तयार पार्ने क्षेत्राधिकार दिएका थिए । यस अध्ययन परियोजनाका लागि र्‍यान्डले खटाएका ३६ भन्दा बढी अनुसन्धानकर्तामध्ये एक थिए, अर्थशास्त्री ड्यानियल एल्सवर्ग । हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक टप गरेका एल्सवर्गले विगतमा पनि अमेरिकी रक्षा मन्त्रालय र र्‍यान्ड कर्पोरेसनका लागि काम गरेका थिए ।

यही कारणले उनलाई यो गोप्य (क्लासिफाइड) परियोजनामा सहजै सहभागी गराइयो । परियोजनामा अध्ययनका क्रममा उनले भियतनाम युद्धबारे अमेरिकी सरकारले आफ्ना नागरिक र विश्वलाई नै ठूलो झुट बोलिरहेको थाहा पाए । उक्त झुटले धेरै मानिसको ज्यान गएको र अझै धेरै ज्यान जोखिममा रहेको लागेपछि एल्सवर्गले रिपोर्ट मिडियामा ल्याए । पेन्टागन पेपर्स नाम गरेको त्यो रिपोर्ट मिडियामा बाहिरिएपछि अमेरिकी सरकार मिडिया र एल्सवर्गविरुद्ध अदालतमा गयो । यस घटनामा लामो अदालती कारबाही भयो । तर, यो घटनाबारे आउनुअघि पेन्टागन पेपर्स जुन विषयबारे लेखिएको थियो, त्यसबारे चर्चा गर्नु उपयुक्त हुन्छ । 

भियतनाम युद्धको इतिहास : आजको दिनमा भियतनाम, लाओस र कम्बोडिया रहेको सम्पूर्ण भूभागमाथि दोस्रो विश्वयुद्धअघि फ्रान्सको औपनिवेशिक शासन थियो । ‘फ्रेन्च इन्डोचाइना’ भनिने यो क्षेत्रलाई दोस्रो विश्वयुद्धमा जापानले कब्जा गर्यो । यो क्षेत्रलाई वैदेशिक शासनबाट पूर्ण मुक्त गराउन सानातिना संगठित प्रयास चलिरहेको थियो । यीमध्ये कम्युनिस्ट नेता होची मिन्हको नेतृत्वमा भियत मिन्ह नामक एक बलियो प्रतिरोधी गठबन्धनले आकार लिएको थियो । उपनिवेशविरोधी, समाजवादी विचारधारा बोकेका शक्तिहरूको यो गठबन्धनले दोस्रो विश्वयुद्धको अन्त्यसम्म उत्तरी भियतनामलाई आफ्नो बलियो पकड बनाइसकेको थियो ।

दोस्रो विश्वयुद्धमा सम्पूर्ण फ्रेन्च इन्डोचाइना क्षेत्रलाई भने जापानले कब्जा गर्यो । तर, जापानको नियन्त्रण छोटो रह्यो । विश्वयुद्धको अन्त्यमा जापान पराजित राष्ट्र भएकाले उसको पकडमा रहेका भूभाग गुमेको थियो । इन्डोचाइना क्षेत्रमा सन् १९४५ पछि फ्रेन्च साम्राज्य पुन फर्कियो । तर, यसपटक उसले बलियो आन्तरिक प्रतिरोधको सामना गर्नुपर्यो । नौ वर्ष चलेको कठोर संघर्षमा अमेरिकाले फ्रान्सलाई गोप्य रूपमा ठूलो आर्थिक सहयोग गरेको थियो ।  र्यान्ड कर्पोरेसनको अनुसन्धानका अनुसार एक समय अमेरिकाले फ्रान्सको उपनिवेश कायम राख्ने युद्धको ८० प्रतिशतसम्म आर्थिक भार अमेरिकाले उठाएको थियो । सहयोगको बाबजुद फ्रेन्च फौज भियत मिन्ह सेनासँग हारिरहेको थियो । लगातारको हारपछि फ्रान्स भियतनामबाट बाहिरिने निर्णयमा पुग्यो । 

कोरिया र भियतनाम युद्ध विषयमा सन् १९५४ मा स्विट्जरल्यान्डको जेनेभामा एउटा अन्तर्राष्ट्रिय सम्मेलन डाकिएको थियो । सम्मेलनमा फ्रान्सले फ्रेन्च इन्डोचाइना क्षेत्रबाट आफ्नो सेना फिर्ता गर्ने निर्णय सुनायो । उसले आफ्नो कब्जामा रहेको भूभागलाई उत्तरी भियतनाम, दक्षिणी भियतनाम, लाओस र कम्बोडियामा बाँडेर स्वतन्त्रता दिने प्रस्ताव राख्यो । सबै पक्ष सहमत भए । 

उत्तरी भियतनाम र दक्षिणी भियतनाम अलग हुने वा एक हुने विषयमा दुई वर्षभित्र हुने निर्वाचनले टुंगो लगाउने सहमति भएको थियो । तर, चुनाव हुँदा उत्तरी भियतनामले चाहेजस्तो एकताको पक्षमा ठूलो मत आउने देखिएपछि अमेरिका जसरी पनि चुनाव टार्ने पक्षमा देखियो । शितयुद्धको चरम अवस्थामा अमेरिकी सरकारमा कुनै एउटा देशमा कम्युनिस्ट शासन स्थापना भए छेउछाउका सबै देशमा त्यो फैलिन्छ भन्ने विश्वास थियो । यसलाई तिनले डोमिनो प्रभाव भन्थे । अमेरिकी राष्ट्रपति आइजनहावरले सन् १९५४ अप्रिलमा दिएको एक मन्तव्यमा भियतनामको नाम लिएर ‘डोमिनो’ प्रभावलाई रोक्नुपर्नेबारे बोलेका थिए ।

फ्रान्स बाहिरिएको केही समयपछि नै अमेरिका दक्षिणी भियतनामी पक्षलाई सुझाब दिने भन्दै भियतनामी द्वन्द्वमा प्रत्यक्ष सहभागी भयो । अमेरिकी सरकारले दक्षिण भियतनामका नेताका रूपमा उदाइरहेका नो–डिन्ह जियमलाई सघाउन थाल्यो । होची मिन्हको प्रतिष्ठाको कारण दक्षिण भियतनाममा समेत भियत मिन्हको समूह बन्न थालेका थिए । एकाताका लागि हुने भनिएको निर्वाचन टर्दै गएको र द्वन्द्व नजिकिँदै गएको वातावरणमा उत्तर भियतनामले दक्षिणका समर्थकलाई सघाउन छिमेकी लाओस र कम्बोडियाका जंगलमार्ग हुँदै एक गोप्य मार्ग प्रयोग गर्न थालेको थियो । होची मिन्ह ट्रायल नामक यस मार्ग पछि युद्ध चर्किंदा उत्तर भियतनामीका लागि निकै उपयोगी बन्यो ।

उत्तर भियतनाम दक्षिणमाथि हावी भइरहँदा अमेरिकी सरकारले भियतनाममा आफ्नो सेना बढाइरहेको थियो । आफूलाई दक्षिण भियतनामका राष्ट्रपति घोषित गरेका दक्षिण भियतनामी नेता डिन्ह क्रिस्चियन क्याथोलिक धर्मावलम्बी थिए । बौद्धमार्गीको बाहुल्य रहेको देशमा उनी आफ्नो धर्मनिकटका मानिसलाई मात्र उच्च पदमा राखिरहेका थिए । यसले दक्षिणी भियतनामीहरूमा असन्तुष्टि बढिरहेको थियो । बौद्ध साधुहरू नै सरकारको विरोधमा आत्मदाह गर्न थालेका थिए । डिन्हको अलोकप्रियताले कम्युनिस्टविरुद्धको लडाइँ कमजोर हुने ठानेर अमेरिका आफैँले डिन्हविरुद्ध सन् १९६३ नोभेम्बरमा सैनिक कु गरायो । कुका क्रममा डिन्ह मारिए र सैनिक जनरल दक्षिण भियतनामको राष्ट्रपति बने ।

सन् १९६४ मा राष्ट्रपति जोनसनले टोन्किन खाडीमा रोकिराखेको आफ्नो युद्धपोतमा उत्तरी भियतनामीहरूले आक्रमण गरेको भन्दै कंग्रेसबाट विशेष युद्ध अधिकार लिए । यो अधिकारअन्तर्गत भियतनाम युद्धमा उनी कंग्रेससँग नसोधी जस्तो कदम चाल्न पनि स्वतन्त्र भए (पछिका अध्ययनले टोन्किन खाडीको आक्रमण नै नभएको देखिएको थियो) । जोनसनले प्राप्त नयाँ अधिकारमार्फत भियतनाममा अमेरिकी सेना बढाउन थाले । सेना बढाएको समेत आमसर्वसाधारणलाई एक वर्षपछि मात्रै जानकारी दिइएको थियो । अमेरिकी स्थल सेनाको संख्या प्रत्येक वर्ष बढाउँदै लाँदा सन् १९६७ मा साढे पाँच लाख पुगेको थियो । 

अमेरिकाको सहयोग पाएको दक्षिण भियतनामभित्र भने उत्तर भियतनामप्रति विशाल जनसमर्थन देखिन्थ्यो । दक्षिण भियतनामभित्रै उत्तर भियतनाम पक्षधर गुरिल्ला दिन दुईगुणा, रात चौगुणाको हिसाबमा बढिरहेका थिए । भियतनाम युद्ध भीषण हुँदै गएपछि कम्युनिस्ट राज्य सोभियत संघ र चीनले उत्तर भियतनामलाई सैन्य सहयोग दिन थाले । त्यसपछि अमेरिकाले हवाई बमबारीमा जोड दिन थाल्यो । भनिन्छ, भियतनाम युद्ध अवधिमा अमेरिका एक्लैले दोस्रो विश्वयुद्धभर सम्पूर्ण देशले खसालेभन्दा बढी बम इन्डोचाइना क्षेत्रमा खसाल्यो । 

सन् १९६९ मा निर्वाचित भएका राष्ट्रपति निक्सनले चुनावी अभियानमा आफूले जिते भियतनाम युद्धबाट सेना फिर्ता गर्ने वाचा गरेका थिए । तर चुनाव जितेपछि उनी आफ्नो वाचाबाट पछाडि फर्किए । यही वर्ष पछि ‘पेन्टागन पेपर्स’ नामले चिनिएको रिपोर्ट तयार भएको थियो । रिपोर्ट बनाउन संलग्न एल्सवर्ग युद्धका कैयौँ पक्षलाई लुकाएको र बाहिर ल्याएका कुरा पनि गलत भएकोबाट प्रभावित भएका थिए । भियतनाम युद्ध जितिँदैन भन्ने अमेरिकी सरकारका उच्च पदाधिकारीलाई धेरै पहिले नै थाहा थियो । तर, पनि राजनीतिक फाइदाका लागि उनीहरूले आप्mना सिपाहीलाई सहिद बन्न भियतनाम पठाइरहे । 

सन् १९६० को दशकमा भियतनाम युद्धमा अमेरिकी संलग्नताको विरोधमा अमेरिकाभित्र र विश्वका धेरै ठाउँमा विरोध प्रदर्शन भए । सबैभन्दा प्रभावशाली प्रदर्शन अमेरिकाभित्रै भएका थिए । अमेरिकाको प्रत्यक्ष चासो नभएको स्थानमा ठूलो सैनिक पठाएको विषयमा धेरै अमेरिकी असन्तुष्ट थिए । क्याम्पसहरू विरोधका केन्द्र बनेका थिए । विश्वयुद्धबाहेक विदेशमा भएका युद्धमध्ये भियतनाममा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सैनिकको ज्यान गएको थियो (यो युद्धमा ५८ हजार अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । भियतनामी पक्षमा त हताहतीको संख्या ३० लाखसम्म भएको अनुमान गरिन्छ ।) जसकारण, भियतनाम लड्न पठाइएका सैनिकका परिवारसमेत ¥यालीमा देखिन थाले । भियतनामबाट फर्किएका सैनिकहरूसमेत संगठित रूपमै युद्धको विरोधमा उत्रिए । कैयौँ सेलेब्रिटीहरू पनि अघि आएर भियतनाम युद्ध अन्त्य गरिनुपर्ने मागमा समर्थन जनाउन थाले । यसमा चर्चित बक्सर मोहम्मद अलीदेखि बिटल्सका लिड गायक जोन लेननसम्म थिए । 

एल्सवर्ग स्वयं यस्ता ¥यालीमा जान थालेका थिए । त्यो वर्ष एल्सवर्गले भियतनाम पेपर्समा सरकारले कतिसम्म झुट बोलिरहेको छ भन्ने कुरा सबैले जान्नुपर्ने ठाने । यस कार्यमा उनलाई ¥यान्ड कर्पोरेसनका अर्का सहकर्मी एन्थोनी रुसोले सघाए । सन् १९६९ का अन्तिम महिनातिर दुईजनाले गोप्य तरिकाले सबै रिपोर्ट फोटोकपी गरे । सुरुमा एल्सवर्गले भियतनाम युद्धको विरोध गरिरहेका सिनेटरलाई रिपोर्टबारे बोलिदिन आग्रह गरेका थिए । तर, सिनेटर रिपोर्टको गोपनीय चरित्रका कारण बोल्न हच्किए । तिनले यसले राष्ट्रिय स्वार्थमा असर गर्ने तर्क गरे । तर, भने यो रिपोर्टमा लेखिएका कुरा बाहिर नल्याए राष्ट्रिय स्वार्थमा असर पर्ने लागिरहेको थियो । त्यसैले उनी रोकिने पक्षमा थिएनन् । त्यसपछि उनी मिडियाको सहयोग लिने निर्णयमा पुगे । उनको यो निर्णयले अमेरिकामा सरकार र मिडियाबीच मुद्दामामिलाको शृंखला मात्र चलेन, यसले प्रेस स्वतन्त्रताबारे पनि बहस सुरु भयो । साथै, कस्ता क्लासिफाइड सामग्री प्रकाशन गर्न मिल्ने, राष्ट्रिय हित र सरकारको स्वार्थ एउटै हो जस्ता विषयमा पनि बहस भए । 

सन् १९७१ मार्च २१ मा एल्सवर्ग र न्युयोर्क टाइम्सका रिपोर्टर निल सिहानबीच भेट भयो । सोही भेटमा एल्सवर्गले आफूसँग भएको भियतनामसम्बन्धी रिपोर्ट सिहानलाई दिए । रिपोर्ट पढ्न र यसबारे समाचार बनाउन सिहान र न्युयोर्क टाइम्सका सम्पादक गेराल्ड गोल्डले एक होटेलमा कोठा नै लिएका थिए । जुन १३, १९७१ मा न्युयोर्क टाइम्सले ‘पेन्टागन पेपर्स’ नाम दिएर एल्सवर्गले दिएको रिपोर्टको आधारमा पहिलो स्टोरी प्रकाशित ग¥यो । भियतनाम युद्धबारे दोस्रो विश्वयुद्धपछिका सरकारका कमजोरी र झुट समेटिएको यो स्टोरी प्रकाशित भएसँगै तत्कालीन निक्सन सरकार समाचार रोक्ने प्रयासमा लाग्यो ।

सन् १९६९ मा राष्ट्रपतिमा शपथ खाएका निक्सनबारे समाचारले खासै केही समेटेको थिएन । तर, निक्सन प्रशासनले ‘पेन्टागन पेपर्स’ स्टोरीले अमेरिकाको सुरक्षा स्वार्थलाई आघात पु¥याउने भन्दै पत्रिकाविरुद्ध अदालतमा मुद्दा हाल्यो । न्युयोर्क टाइम्सले तीन दिन समाचार छाप्यो । जुन १६ मा न्युयोर्क टाइम्सले पेन्टागन पेपर्सको चौथो भाग छाप्नुको साटो ‘अमेरिकी सरकारको आग्रहमा न्यायाधीशले पेन्टागन पेपर्सका शृंखला रोक्न आदेश दिए’ शीर्षकको समाचार छाप्यो । तर, एल्सवर्ग चुप बसेनन् । उनले सोही दिन वासिङ्टन पोस्टका सहसम्पादक बेन ब्याग्डिकियनलाई सम्पर्क गरेर रिपोर्टको फोटोकपी लिन बोलाए । ¥यान्ड कर्पोरेसनमा मिडिया अध्ययन गर्न जाँदा ब्याग्डिकियन र एल्सवर्गको पुरानो परिचय थियो । जुन २१ मा वासिङ्टन पोस्टका कार्यकारी सम्पादक बेन ब्राड्लीको घरमा रिपोर्टर तथा सम्पादकहरू पेन्टागन पेपर्सको रिपोर्ट पढ्ने र भोलिका लागि समाचार लेख्ने काममा जुटे ।

पत्रिकाको कानुनी सल्लाहकारले न्युयोर्क टाइम्सको स्टोरीको स्रोत र ब्याग्डिकियनको स्रोत एउटै हुन सक्ने भएकाले समाचार छाप्न नहुने अडान लिए । वासिङ्टन पोस्ट धितो बजारमा जान लागेकाले यस्तो संवेदनशील समाचारले पत्रिकाको सेयरमा असर पर्ने पत्रिकाको बोर्डका सदस्यको निर्णय थियो । तर, सम्पादक ब्राड्ली भने समाचार छाप्ने पक्षमा थिए । ब्राड्लीको घरमा विवाद बढ्दै गएपछि अन्तिम निर्णयका लागि प्रकाशक क्याथरिन ग्राहमसँग टेलिफोनमार्फत अनुमति माग्ने प्रयास भयो । मूलधारको मिडियामा त्यस समय एक्ली महिला प्रकाशक भएकीले कमजोर ठानिदै आएकी ग्रामले दृढताका साथ समाचार छाप्ने निर्णय लिइन् । वासिङ्टन पोस्टभित्र पेन्टागन पेपर्स छाप्नुअघि भएको विवादलाई सन् २०१७ मा सार्वजनिक भएको ‘द पोस्ट’ फिल्मले रोचक ढंगले प्रस्तुत गरेको छ । फिल्ममा अभिनेत्री मेरिल स्ट्रिपले ग्राहमको त्यस समयको मनोदशालाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् । 

जुन १८, १९७१ मा वासिङ्टन पोस्टले पेन्टागन पेपर्सको स्टोरी छाप्यो । सरकारले अदालतसँग पोस्टलाई पनि यस विषयमा थप समाचार छाप्नबाट रोक्न आदेश माग्यो । भोलिपल्टै अदालतले राष्ट्रिय सुरक्षाको विषय जोडिएको भन्दै वासिङ्टन पोस्टलाई पनि यस विषयमा थप समाचार नछाप्न आदेश दियो । यसपछि अमेरिकाका अन्य पत्रिकामा छापिँदै जाने र अदालतले तिनलाई यस विषयमा थप समचार नलेख्न आदेश दिने क्रम बढ्दै गयो । पेन्टागन पेपर्ससम्बन्धी जति पनि पत्रिकामा समाचार आए, सबैका स्रोत उनै एल्सवर्ग नै थिए । 

पेन्टागन पेपर्स प्रकाशन गर्ने विषयमा पत्रिका र अमेरिकी सरकारबीचको लडाइँ सर्वोच्च अदालतमा पुग्यो । जुन २६, १९७१ मा अमेरिकाको सर्वोच्च अदालतले संविधानको प्रेस स्वतन्त्रताको क्लज उल्लेख गर्दै सरकारले तिनलाई प्रकाशन गर्न रोक्न नसक्ने निर्णय सुनायो । सर्वोच्च अदालतको यस निर्णयलाई अमेरिकामा प्रेस स्वतन्त्रताको पक्षमा ठूलो निर्णय मानिन्छ । प्रेसलाई न्यायालयले सुरक्षा दिएपछि निक्सन सरकारले आफ्नो ध्यान एल्सवर्गमाथि लगायो । एल्सवर्ग र उनका सहकर्मी रुसोविरुद्ध राज्यविरुद्ध जासुसी गरेको मुद्दा हालियो ।

सरकारले एल्सवर्ग र रुसोमाथि लगाएको आरोप सही प्रमाणित भएको भए उनीहरूलाई एक सय १५ वर्षको जेल सजाय हुने थियो । यही समय एल्सवर्गका खराब पाटो उजागर गरेर उनलाई नराम्रो देखाउन निक्सन प्रशासनले उनका टेलिफोन संवाद सुन्न थालेको खबर सार्वजनिक भयो । यो तथ्य बाहिर आएपछि जनमानस एल्सवर्गको पक्षमा उल्टिन थाल्यो । लियोनार्ड बोडिन र हार्वर्ड ल स्कुलका प्राध्यापक चाल्स नेसनजस्ता प्रभावकारी वकिलको वकालतले एल्सवर्ग र रुसोविरुद्धका सम्पूर्ण आरोप खारेज भए । 

भियतनाम पेपर्स छापिएपछि अमेरिकीहरूमाझ सरकारप्रति ठूलो अविश्वास पैदा भयो, जसले युद्धविरोधी प्रदर्शन झन् चर्काइदियो । दुई वर्षपछि सन् १९७३ जनवरी २७ मा निक्सन सरकारले भियतनामबाट अमेरिकी सेना फर्काउने पक्षमा पेरिस शान्ति सम्झौतामा हस्ताक्षर ग¥यो । यस समयसम्म दक्षिण भियतनाम र उत्तर भियतनाम कुनै पक्षले निर्णायक जित हासिल गरिसकेका थिएनन् । तर, उत्तर भियतनाम हावी हुँदै गएको थियो । भियतनाम युद्धलाई अमेरिकाले आधिकारिक रूपमा हारेको युद्धका रूपमा लिइन्छ । अमेरिकाले भियतनामबाट सेना फिर्ता गरेको दुई वर्षपछि सन् १९७५ जुलाईमा उत्तर भियतनामले दक्षिणमाथि कब्जा ग¥यो र भियतनाम युद्धको अन्त्य हुन पुग्यो । 

पेन्टागन पेपर्स प्रकरणले उजागर गरेको सत्ताको चरित्र, विसरब्लोअरको नैतिक शक्ति, राजनीतिक उत्तरदायित्व सिर्जना गर्न प्रेसले खेलेको भूमिका र प्रेस स्वतन्त्रतामा न्यायालयको भूमिकाका विषय आज पनि उत्तिकै सान्दर्भिक छन् । 

(एजेन्सीको सहयोगमा)