मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १८:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय अनुदानमा महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार १८:०८:००

भारत सरकारको आर्थिक सहयोगमा विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण सम्पन्न भएको छ । शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ र क्याम्पस व्यवस्थापन समितिले संयुक्त रूपमा भिडिओ कन्फ्रेन्समार्फत भवन उद्घाटन गरेका छन् । 

भारतीय दूतावासका अनुसार भारत सरकारको चार करोड ४३ लाख रुपैयाँ आर्थिक सहयोगमा विज्ञान भवन निर्माण भएको हो । विगतमा साना विकास परियोजनाको नाममा आर्थिक सहयोग गर्ने गरेकोमा अहिले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा आर्थिक सहयोग गरेको हो । भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेका अनुसार नेपाल–भारत द्विपक्षीय प्रयासअन्तर्गत भारत सरकारले क्याम्पसको विज्ञान भवन निर्माण गरेको हो । 

सन् १९५५ मा स्थापित क्याम्पस प्रदेश– १ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस हो ।  नवनिर्मित दुईतले विज्ञान भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तलामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा रहेका छन् । नवनिर्मित भवनको निर्माणले स्नातकदेखि विद्यावारिधि तहका झन्डै सात हजार विद्यार्थीलगायत विभिन्न संकायका प्रतिनिधिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । 

यो क्याम्पस अध्ययन गरेकाहरू राष्ट्रपति विद्यादेवी भण्डारीदेखि उपप्रधानमन्त्री, मन्त्री, सचिव एवं विभिन्न क्षेत्रको उच्च पदमा पुगेकाहरू छन् । क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले क्याम्पसका संकाय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको भन्दै सहयोगप्रति भारत सरकारको सराहना गरे । उनले भने, ‘भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको बसुधैव कुटुम्बकमकाे प्रतिबिम्बको रूपमा यो सहयोगलाई हामीले लिएका छौँ । हामी आभारी छौँ ।’

०६० देखियता भारतले नेपालका ७७ जिल्लामा सात अर्ब ९८ करोड ७० लाख रुपैयाँको आर्थिक अनुदान सहयोगमा चार सय २२ वटा परियोजना निर्माण सम्पन्न गरेको भारतीय दूतावासले जनाएको छ । नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गर्दै भारत सरकारले शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।