मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झापाको भद्रपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन बालक खोज्दै प्रहरी
हदिश खुद्दार जनकपुरधाम
२०७७ श्रावण ९ शुक्रबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाल्डोमा डुबेर तीन बालकसहित चारको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ श्रावण ९ शुक्रबार ०४:००:००

विकास निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर झापा र धनुषामा तीन बालकसहित चारजनाको मृत्यु भएको छ । झापाको भद्रपुरमा तीन बालक र धनुषाको नगराइनमा एक युवकको मृत्यु भएको हो । 

स्थानीय सरकार र निर्माण कम्पनीको लापरबाहीले झापा भद्रपुर नगरपालिका– २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रमा पोखरीका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर– २ का १० वर्षीय अंकुर तामाङ, १४ वर्षीय करण धामी र १२ वर्षीय अर्जुन धामीको मृत्यु भएको हो । 

तीनजना बुधबार दिउँसो खेल्न भनेर घरबाट निस्केका थिए । बेलुकीसम्म घर नफर्किएपछि खोजी भएको थियो । अंकुरको बुधबार राति खाल्डोमा जमेको पानीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए । 

उनीसँगै गएका दुई बालक बेपत्ता भएको खबर पाएपछि बिहीबार बिहान नेपाल प्रहरीको प्रदेश १ विपत् व्यवस्थापन गुल्म चन्द्रगढीको टोली खोजीमा खटिएको थियो । त्यही खाल्डोमा करण र अर्जुनको पनि शव भेटिएको डिएसपी थापाले बताए । करण र अर्जुन दाजुभाइ हुन् । 

पोखरी निर्माण गर्दा जोखिमलाई ख्याल नगर्दा तीन बालकले ज्यान गुमाउनुपरेको अंकुरका काका आशिष तामाङले बताए । ‘यत्रो सिमसार छ । त्यसमा खाल्डो खन्दा जोखिम हुने थाहा हुँदाहुँदै लापरबाही गरियो,’ आशिषले भने । 

केही दिनअघि स्थानीय युवाले पोखरी खनिएको खाल्डोमा पानी जमेकाले असुरक्षित भएको भन्दै नगरपालिकामा निवेदनसमेत दिएका थिए । तर, नगरपालिकाले वास्ता नगर्दा यो घटना भएको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय सरकार, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनी आरएनसी नयाँ युग जेभीको लापरबाहीले तीन बालकको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले बिहीबार प्रदर्शन पनि गरे ।

स्थानीय बासिन्दाको विरोधपछि पीडित परिवारलाई राहत उपलब्ध गराउन नगरपालिका तयार भएको छ । उनीहरूको परिवारलाई १० लाखका दरले राहत प्रदान गर्ने सहमति भएको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ बताए । ‘विकास समिति र निर्माण कम्पनीको त्रुटि छ । अभिभावकले पनि आफ्ना बालबच्चाको ख्याल गरेनन् । स्कुल बिदा भएकाले खेल्न जाँदा यस्तो अप्रिय घटना हुन पुग्यो,’ मेयर श्रेष्ठले भने । असावधानी देखिएकाले विकास समिति पनि खारेज गर्ने निर्णय गरिएको उनले बताए । अब काम गर्दा सुरक्षा अपनाएर गर्ने सहमति भएको छ । पोखरी निर्माण भइरहेको स्थलवरिपरि तारजाली लगाइने मेयर श्रेष्ठले बताए । 

यस्तै, बिहीबार धनुषाको नगराइन नगरपालिका– २ जटहीका ३१ वर्षीय अजित चौधरीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । 

जटही गाउँनजिक गत वर्ष सडक निर्माणका लागि माटो निकाल्दा खाल्डो बनेको थियो । वर्षा हुन थालेसँगै खाल्डोमा पानी जमेको थियो । खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रमेशकुमार बस्नेतले बताए । 

एक वर्षसम्म खाल्डो नपुर्दा अजितले ज्यान गुमाउनु परेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । स्थानीय सरकार र निर्माण कम्पनीको लापरबाहीले घटना भएको उनीहरूको भनाइ छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।