मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ८ बिहीबार २१:५९:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पोखरामा बस चले, तर यात्रु न्यून

Read Time : > 1 मिनेट
२०७७ श्रावण ८ बिहीबार २१:५९:००

एक सय २० दिन लामो लकडाउन खुलेसँगै बिहीबारबाट पोखराका सडकमा सार्वजनिक यातायातका साधन चलेका छन् । फाट्टफुट्ट सार्वजनिक यातायातका साधन चले पनि यात्रुहरू निकै कम थिए । 

सामान्य अवस्थामा पोखरामा सबै यातायात कम्पनीका गरेर करिब नौ सय बस गुड्ने भए पनि बिहीबार भने सयको हाराहारीमा बस गुडेको पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले नयाँ पत्रिकालाई जानकारी दिए । तिनै बस पनि खाली कुद्नुपरेको उनले बताए । पोखरा यातायात प्रालिका तीन सय ५० बसमध्ये जम्मा ४० वटा बस निकाले पनि यात्रु नपाएपछि केही थन्क्याउनुपरेको उनले सुनाए । ‘पोखरामा हामीसहित सबै कम्पनीका गरी नौ सय हाराहारी सार्वजनिक बस छन् । हामीले ४० बस मात्र निकालेको हो । त्यसमध्ये पनि खाली खाली कुदाउनुपर्दा केही थन्क्याएका छौँ । चलेका सवारीसाधनमा पनि दुई–चारजनाभन्दा धेरै चढेनन्,’ उनले भने । 

पोखरामा बिहानैदेखि पानी परेको र यात्रुमा कोरोना संक्रमणको त्रास कायमै रहेकाले बसमा नचढेको हुन सक्ने प्रबन्ध–निर्देशक तिमिल्सिनाको भनाइ छ । कतिपय बसका चालक र सहचालकले स्यानिटाइजर नल्याएको, पन्जा नलगाएको र मास्कसमेत नलगाएको पाइएपछि सडकमा बस निकाल्न नदिएको उनले जानकारी दिए । 

पोखरामा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका करिब ५० वटा बस गुड्छन् । स्थानीय सृंगाका दुई सय ३० र बेगनासका एक सय ५० र विन्ध्यवासिनीका २५ बस यहाँ चल्छन् । यस्तै, पोखरा ट्याक्सी सेवाका ९५ वटा माइक्रो छन् । मामा ट्राभल्सले आठवटा गाडी गुडाउने गरे पनि बिहीबार उनीहरूको गाडी निकै कम देखिए । कुल क्षमताको आधा यात्रु चढाउन पाइने भए पनि गुडेका बसमा दुई–चार यात्रु मात्रै थिए । 

बिहीबार चलेका बसका चालक र सहचालकले मास्क र पन्जा लगाएका थिए भने यात्रु चढ्नुअघि स्यानिटाइजर दिएका थिए । पोखरामा लकडाउन खुलेपछि सबैजसो पसलहरू खुलेका छन् । बस चल्न थालेपछि अब केही व्यापार हुने आशा जागेको व्यवसायीको भनाइ छ ।