१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वडिआइजी रञ्जन कोइराला रिहा प्रकरण : पीडित परिवार भन्छन्– सर्वाेच्च अदालतको फैसलाले गलत नजिर स्थापना हुनेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ८ बिहीबार १५:२२:००

श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्वडिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले प्रतिक्रिया दिएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे आठ वर्षमै पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।

पूर्वडिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुबा हरेराम ढकालले यो फैसलाले समाजमा राम्रो सन्देश नदिने र आगामी दिनमा पावरको आधारमा जे पनि हुन सक्ने बताएका हुन् । 

मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै आठ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताए । 

उनले भने, ‘मान्छेलाई मारे पनि हुने रहेछ भन्ने सन्देश गयो अब । के डर भयो र ? जघन्य अपराधमा कानुनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने यस्तो न्यायालयको त्रुटिले समाजमा राम्रो सन्देश जाँदैन ।’

सर्वस्वसहित जन्मकैदको फैसला साढे आठ वर्षमा पूरा हुने भए किन २०–२५ वर्ष सजायको व्यवस्था राख्नुपऱ्याे र ? भन्दै उनले प्रश्न गरे । 

श्रीमती गीता ढकालको हत्या अभियोगमा आठ माघ ०६८ मा पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले ७ वैशाख ०७१ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि ०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो । 

फेरि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्वडिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन् ।