१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी सियोल
२०७७ श्रावण ८ बिहीबार १३:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाको आर्थिक वृद्धि २० वर्षयताकै सबैभन्दा कम 

Read Time : < 1 मिनेट
रासस/एएफपी सियोल
२०७७ श्रावण ८ बिहीबार १३:२९:००

दक्षिण कोरियाको अर्थतन्त्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको छ ।

केन्द्रीय बैंकले बिहीबार कोरोना भाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको बताएको हो ।

एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ । यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरूप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो ।

साथै त्रैमासिक विवरणअनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलोपटक देखापरेको हो ।

दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलोपटक कोरोना भाइरस देखापरेको थियो । तर, कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो ।

कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ । 

कोरियाको अर्थतन्त्र मुख्य रूपमा व्यापार–निर्भर रहेको छ । दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशतले घटेको छ । बैंक अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवं पेट्रोलियम उत्पादनहरूको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो ।

गत मे महिनामा बैंकले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०.२ प्रतिशतले खस्कने उल्लेख थियो । 

अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो । 

विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झन्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।