१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डा. विशाल सिलवाल
२०७७ श्रावण ८ बिहीबार ०९:२९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नगण्य अनुसन्धान, तैपनि समृद्धिको सपना 

Read Time : > 4 मिनेट
डा. विशाल सिलवाल
२०७७ श्रावण ८ बिहीबार ०९:२९:००

हाम्रा विश्वविद्यालय केवल जागिर खाने र डिग्री लिने थलोको रूपमा परिणत भइसकेका छन्

केही दिनअघि देशको एक अग्रणी विश्वविद्यालयले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने तरखर गरिरहेको अपुष्ट खबर प्राप्त भएदेखि मनमा अनेक तर्क-वितर्क खेल्न थाले र उक्त लगानी उचित हो या होइन भन्ने प्रश्नमा घोत्लिएँ । शिक्षाको तीर्थस्थल मुनाफाको लोभमा व्यापार व्यवसायमा लाग्नु उचित होइन । तर, गुणस्तरीय शिक्षाको एकल कार्यभारमा असफल हाम्रा शिक्षालय, शिक्षाबाहेकका बाँकी सबैमा अग्रसर छन् । विश्वविद्यालयले लगानी गर्नै नहुने होइन । तर, विश्वविद्यालयको लगानी विद्यार्थी र प्राज्ञका ज्ञान, सीप र कौशलको विकासमा हुनुपर्छ । त्यसले नै सिंगो मुलुकलाई समृद्धिको दिशामा लैजान्छ । यसर्थ, विश्वविद्यालयको प्राथमिकतामा राष्ट्रिय प्राथमिकतामा आधारित शोध एवं अनुसन्धान रहनुपर्छ । र, यो एउटै मात्र उच्च शिक्षालयहरूले लगानी गर्ने क्षेत्र हो। 

तर अफसोच ! मुलुकका अधिकांश विश्वविद्यालयको अनुसन्धानमा लगानी नगण्य छ । विश्वविद्यालय एवं उच्च शैक्षिक संस्थाले अनुसन्धानमा कति लगानी गरेका छन्, त्यो उक्त संस्थाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका शोधका संख्याले बताइहाल्छन् । उदाहरणका लागि, इलेक्ट्रिकल इन्जिनियरिङ क्षेत्रको अत्यन्त प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशक ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ’को डेटाबेसमा सन् २००६ देखि २०२० सम्ममा नेपालका इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुने तीनवटा ठूला विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालय) बाट जम्माजम्मी ६ सय २४ शोधपत्र प्रकाशित भएछन् । तीमध्ये आठवटा ‘पियर रिभ्युड जर्नल’मा र ६ सय १६ वटा ‘कन्फरेन्स प्रोसिडिङ्स’मा छन् ।

हाम्रा विश्वविद्यालयमा यति कम अनुसन्धान हुन्छन् कि विश्वभरिका विश्वविद्यालयको उत्कृष्टताको सूचक मानिने ‘द टाइम्स हाइयर एजुकेसन वल्र्ड युनिभर्सिटी र्‍यांकिङ’मा काठमाडौं र पोखरा विश्वविद्यालय सूचीमै अटाउँदैनन् । त्रिभुवन विश्वविद्यालय उत्कृष्ट एक हजारभित्र समेत पर्दैन ।

१५ वर्षको कालखण्डमा तीनवटा विश्वविद्यालयको सिंगै एउटा संकायबाट जम्माजम्मी आठ थान शोध प्रकाशित हुनु विश्वविद्यालय र संकाय दुवैका लागि लज्जाको विषय हो । तैपनि, यी तीनै विश्वविद्यालय आफ्नो भिजन र मिसन विश्वकै अग्रणी विश्वविद्यालय बन्ने रहेको दाबी गरिरहन्छन् । तर, शोध एवं अनुसन्धानमा आधारित गुणस्तरीय उच्च शिक्षालाई आत्मसात् गरेर देश विकासका लागि कुशल मानव संसाधन उत्पादन गर्ने उद्देश्य व्यवहारमा उतार्नेतर्फ केही काम हुन सकेको छैन ।

विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकमध्ये तिनले गर्ने अनुसन्धानको संख्या, लगानी र गुणस्तर पनि हुन् । विश्वविद्यालयका अनुसन्धानकर्ताले प्रकाशित गर्ने शोधपत्रको संख्या र प्रकाशन हुने जर्नलको गुणस्तर उक्त शोधपत्रलाई अरू अनुसन्धाताले कतिको उद्धृत गरेका छन्, त्यसमा भर पर्छ । तर, हाम्रा विश्वविद्यालयमा यति कम अनुसन्धान हुन्छन् कि विश्वभरिका विश्वविद्यालयको उत्कृष्टताको सूचक मानिने ‘द टाइम्स हाइयर एजुकेसन वल्र्ड युनिभर्सिटी र्‍याकिङ’मा काठमाडौं र पोखरा विश्वविद्यालय सूचीमै अटाउँदैनन् । त्रिभुवन विश्वविद्यालय उत्कृष्ट एक हजारभित्र समेत पर्दैन । जुन र्‍यांकिङमा विश्वभरिका ९२ देशका १४ सय विश्वविद्यालय समावेश छन् ।

हाम्रा विश्वविद्यालय अहिलेसम्म विद्यार्थी भर्ना गर्ने, कक्षा सञ्चालन गर्ने, परीक्षा लिने र डिग्री दिने कर्मकाण्डमै सीमित छन् । प्राध्यापक पदको पूर्तिका लागि गरिने विज्ञापनमा कार्यअनुभव एवं अनुसन्धानलाई प्राथमिकता नै दिइएको हुँदैन । योग्यता र अनुभव होइन, नातावाद, कृपावाद र राजनीतिक प्रभाव हाबी छ । विश्वविद्यालयहरूमा बढी अनुसन्धान हुने स्नातकोत्तर र पिएचडी तहमा हो । तर, यहाँ सबैभन्दा बढी बेथिति यही तहमा छ ।

संसारका अग्रणी विश्वविद्यालयले पिएचडी डिग्रीका लागि विद्यार्थीले आफ्नो अनुसन्धान क्षेत्रका उत्कृष्ट जर्नलमा निश्चित संख्यामा शोधपत्र प्रकाशित गरेकै हुनुपर्ने मापदण्ड राखेका हुन्छन् । यसो गर्दा विश्वविद्यालयमा अनुसन्धान भइरहने मात्र होइन कि त्यसको गुणस्तर पनि अक्षुण्ण रहन्छ । तर, हाम्रोमा खासगरी इन्जिनियरिङ क्षेत्रमा स्नातकपश्चात् गरिने पढाइ केवल डिग्री देखाएर बढुवा पाउनका लागि मात्र हुन्छ । एकातिर स्नातकोत्तर एवं पिएचडी गर्ने अधिकांश विद्यार्थीलाई अनुसन्धानप्रति कुनै रुचि हुँदैन, अर्कोतिर अधिकांश प्राध्यापकमा समेत अनुसन्धानप्रति रुचि छैन । उनीहरू केवल जागिरका लागि विश्वविद्यालयको कोठा धाइरहेका छन् । त्यसमाथि, विश्वविद्यालयमा राम्रा प्रयोगशाला पनि छैनन् ।

विश्वविद्यालयमा गरिने अधिकांश शोध तथा अनुसन्धान देशका विभिन्न क्षेत्रमा विद्यमान समस्याको पहिचान र त्यसको हल खोज्न गरिन्छन् । जसलाई सरकारका विभिन्न निकाय, उद्योगधन्दा र व्यवसायले प्रायोजन गर्ने गर्छन् । यसैका लागि राज्यले विश्वविद्यालय अनुदान आयोग स्थापना गरेको हो । आयोगले विकास अनुदान, छात्रवृत्ति तथा शोध सहयोग, शिक्षक एवं कर्मचारीको सीप तथा क्षमता अभिवृद्धिका लागि पुनर्ताजगीकरण, अनुसन्धान प्रशिक्षण, विद्वत्वृत्ति, अनुसन्धान अनुदानजस्ता कार्यक्रमद्वारा विश्वविद्यालय एवं क्याम्पसहरूको प्राज्ञिक एवं भौतिक स्तरोन्नति गर्न कार्यविधि तर्जुमा गरेको पनि छ ।

तर, आयोगले अनुसन्धान एवं प्राज्ञिक शोधको प्रवद्र्धन गर्न लघु अनुसन्धान विकास एवं नवप्रवर्तन अनुदान, फ्याकल्टी अनुसन्धान अनुदान, सहकार्यात्मक अनुसन्धान अनुदान, अनुसन्धान विकास, नवप्रवर्तनका लागि म्याचिङ अनुदान, विशेष अनुसन्धान, बाह्य अनुसन्धान सहकार्य र जर्नलमा शोधलेख प्रकाशन सहयोग गरी सात शीर्षकमा अधिकतम जम्मा पाँच करोड पाँच लाख रुपैयाँ अनुदान छुट्याउने भन्छ । जुन आव ०७७–७८ को कुल बजेटको ०.००३ प्रतिशतभन्दा पनि कम हो । शोध तथा अनुसन्धानमा यति निम्छरो लगानीले हाम्रो समृद्धिको सपना कतै पूरा हुँदैन।

विश्वविद्यालयको अनुसन्धानले उद्योगधन्दा एवं व्यवसायहरूको विकासमा योगदान हुनुपर्छ । जबसम्म विश्वविद्यालयको विकास हुँदैन, औद्योगिकीकरण पनि हुँदैन । सबै विकसित मुलुकको औद्योगिकीकरणमा ती मुलुकका विश्वविद्यालयको ठूलो हात छ । चौथो औद्योगिक क्रान्ति वा इन्डस्ट्री ४.० मा प्रयुक्त परम्परागत प्रविधिलाई उन्नत स्मार्ट प्रविधिले प्रतिस्थापन गर्न अहिले विकसित मुलुकका विश्वविद्यालय एवं अनुसन्धान संस्थाहरू केन्द्रित छन् । र, त्यहाँको उच्च शिक्षा मूलतः यसकै वरिपरि छ । उच्च शिक्षालयका अनुसन्धानमा विकसित मुलुकका अधिकांश ठूला उद्योगले अर्बौं लगानी गरिरहेका हुन्छन् । आफ्नो रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) बाहेक पनि व्यावसायिक क्षेत्रले विश्वविद्यालयसँग अनुसन्धानका लागि सहकार्य गरेका हुन्छन् । त्यसले नै उनीहरूलाई अग्रणी बनाइरहेको छ । नेपालमा आफ्नै ‘रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर’ भएका उद्योग बिरलै छन्, विश्वविद्यालयसँग सहकार्य त परै जाओस् । 

१५ वर्षको कालखण्डमा तीनवटा विश्वविद्यालयको सिंगै एउटा संकायबाट जम्माजम्मी आठ थान शोध प्रकाशित हुनु विश्वविद्यालय र संकाय दुवैका लागि लज्जाको विषय हो । तैपनि, यी तीनै विश्वविद्यालय आफ्नो भिजन र मिसन विश्वकै अग्रणी विश्वविद्यालय बन्ने रहेको दाबी गरिरहन्छन्। 

अहिले, पूरै विश्व कोभिड–१९को महाव्याधिसँग पाैंठेजोरी खेल्दै छ । विश्वभरिबाट करिब एक सय ५५ समूह महाव्याधिविरुद्धको खोप विकासमा तल्लीन छन् । जसमध्ये २३ खोप मानिसमा परीक्षण हुने क्रममा छन् । यी अधिकांश खोप विश्वविद्यालय, अनुसन्धान केन्द्र र औषधि उद्योगबीचको सहकार्यमा भइरहेका छन् ।

हालै अक्सफोर्ड विश्वविद्यालय र एउटा बहुराष्ट्रिय औषधि कम्पनीको सहकार्यमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप प्रारम्भिक चरणको मानव परीक्षणमा सुरक्षित देखिएको छ । प्रतिष्ठित बेलायती मेडिकल जर्नल ल्यान्सेटमा यससम्बन्धी शोधपत्र प्रकाशित छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताले यो खोपको नतिजा अत्यन्तै आशाजनक देखिएको भनेका छन् । एउटा योग्य विश्वविद्यालय कसरी मुलुक र विश्व मानव समुदायकै संकटमोचक बन्न सक्छ र समृद्धिको संवाहक बन्न सक्छ, त्यसको यो पछिल्लो उदाहरण हुन सक्छ । 

नेपालमा ६८ वटाजति औषधि उद्योग छन् । हाम्रा विश्वविद्यालयमा पनि फार्मेसी, बायोटेक्नोलोजी, मेडिसिनजस्ता स्वास्थ्य सेवासम्बन्धी संकाय छन् । तर, कुनै विश्वविद्यालयले पनि अनुसन्धानमा तत्परता देखाएनन् । अनुसन्धान योग्यता र क्षमताको प्रश्न पनि हो । निजी क्षेत्रका केही अनुसन्धान केन्द्रले आफू र आफ्ना प्रयोगशाला कोभिड-१९ विरुद्ध प्रयोग गर्न राज्यलाई झकझकाइराखेका छन् । केहीले सानै स्तरको भए पनि अनुसन्धान गरेका छन् । जबकि यस्तो वेलामा विश्वविद्यालयले राज्यलाई आफ्नो विज्ञता पैँचो दिनुपर्ने हो । राज्यले पनि हाम्रा विश्वविद्यालयस“ग विज्ञता मागिरहेको छैन । सायद राज्यलाई उनीहरूको विज्ञता र क्षमताप्रति विश्वास छैन ।

विश्वविद्यालयको काम समसामयिक विषयको शोध तथा अनुसन्धानमा आधारित शिक्षा दिनु त हुँदै हो, विद्यार्थी एवं प्राज्ञहरूमा ज्ञान तथा कौशलको विकास गरी देश विकासका कुशल मानव संसाधन उत्पादन गर्दै समृद्धिलाई दिशानिर्देश गर्नु पनि हो । यसका लागि राज्य र विश्वविद्यालय स्वयंको नीति र प्राज्ञ एवं विद्यार्थीहरूको ध्यान एकै दिशामा केन्द्रित हुनुपर्छ । तर, हाम्रा विश्वविद्यालयहरू केवल जागिर खाने र डिग्री लिने थलोको रूपमा परिणत भइसकेका छन् ।

प्राज्ञिक उन्नयन र शैक्षिक विकासमा लाग्नुको सट्टा अब विश्वविद्यालयहरू पनि व्यापारतर्फ लाग्ने डर पैदा भएको छ । त्यसो भयो भने विश्वविद्यालयहरू शैक्षिक केन्द्रबाहेक अरू सबै कुरा हुनेछन् । लगानीको त्यो खबर साँचो वा झुटो हो यकिन भएन । तर, साँचो हो भने सो विश्वविद्यालयले उक्त लगानीको औचित्यको प्रतिरक्षा कसरी गर्ला ? किनभने जलविद्युत्मा लगानी गर्ने मनसाय बोकिरहेको सो विश्वविद्यालय आफैँसँग इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रयोगशालामा विद्यार्थीहरूलाई प्रोजेक्ट गर्न ‘स्टेट-अफ-द-आर्ट’ उपकरणसमेत छैनन् । विश्वविद्यालयले आविष्कार गर्ने हो, व्यापार व्यवसाय होइन, त्यसका लागि अरू संस्था छँदै छन् । 

(डा. सिलवाल बेल्जियमस्थित गेन्ट विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पोस्टडक्टरेट हुन्)