मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण ७ बुधबार १६:०२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगातार परेको पानीले पर्सामा धानखेती डुबानमा

Read Time : > 1 मिनेट
२०७७ श्रावण ७ बुधबार १६:०२:००

तराई मधेसमा केही दिनदेखि लगातार परिरेहको अविरल वर्षाले गर्दा आएको बाढीले खेतीयोग्य जमिन डुबानमा परेको छ । 

पर्सामा वर्षाले गर्दा साना–ठूला नदी तथा खोलाहरूमा आएको बाढीले धान रोपिसकेको खेत नै डुबानमा पारेको हो । 

कोभिड–१९ को महामारीमै जोगिएर बल्लतल्ल धान रोपिसकेको खेतमा बाढी पसेर डुबानमा पारेपछि किसान मारमा परेका छन् । 

कोभिडको महामारीको त्रासबीच धान रोपिएको खेत डुबानमा पर्दा किसानमा निराशा छाएको छ ।

कोरोनाको त्रासकै अवस्थामा धान रोपेको खेतमा बाढीले डुबानमा पारेपछि दुःखी भएको पकाहा मैनपुरका किसान अनिल साहले बताए । 

कोरोनाको डरबीच रोपेको खेत पानीले डुबानमा परेको र अब रोपाइँ भएको खेतमा पनि धान नफल्ने हो कि भन्ने चिन्ता बढेको उनले बताए । 

कालिकामाई गाउँपालिकाका किसान श्याम यादवले भने, ‘यस वर्ष पानी समयमा परेकाले अगावै धान रोपाइँ भएकाले हर्षित भएका थियौँ, तर केही दिनयता लगातार परिरहेको पानीले बाढी आएपछि धानखेती नै डुबानमा परेको छ ।’ 

यस्तो छ क्षतिको अवस्था 
जिल्लामा धान उत्पादन हुने अधिकांश क्षेत्रमा बाढीले क्षति पुऱ्याएकाे कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

जिल्लाको बहुदरमाई नगरपालिका, छिपहरमाई, कालिकामाई, पकाहामैनपुर, संखुवाप्रसौनी गाउँपालिकामा धेरै क्षति भएको छ । पर्सामा रोपिसकिएको धानबाली कटान र डुबान, तरकारी डुबान, उखु खेती डुबानमा परेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

उनले अहिलेसम्म तथ्यांकअनुसार पर्सामा एक हजार दुई सय ९२ हेक्टर क्षेत्रफलमा क्षति भएकोमा धानबाली एक हजार एक सय २० हेक्टर क्षेत्रफल डुबानमा परेको बताए  । 

यस्तै तीन हेक्टर क्षेत्रफल धान बाली कटान, ४७ हेक्टर क्षेत्रफल धान बाली पुरेको छ । 

यस्तै दुई हेक्टर क्षेत्रफल उखु पुरेको, पाँच हेक्टर क्षेत्रफल उखु डुबेको, एक सय १५ हेक्टर क्षेत्रफल तरकारी डुबेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. यादवले बताए । 

बाढीले रोपाइँ सकिएका खेत डुबानमा परेकाले क्षति भएको उनले बताए । 

‘यसवर्ष समयमै पानी पऱ्यो, साना खोला आसपासका खेतहरूसमेत रोपिसकिएको थियो,’ उनले भने, ‘जिल्लाका ८५ प्रतिशत खेतमा धान रोपाइँ भइसकेको थियो, बाढीले खोला नदी आसपासका खेतमा ठूलो क्षति पुऱ्याएकाे छ ।’

जिल्लामा १५ असारअगाडि नै ६० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले बताएका छन् । 

यसपालि समयमै पानी परेर धान रोपाइँ अगावै सम्पन्न भइसकेको भए पनि पानीले बाढी आएपछि क्षति भएको उनीहरू बताउँछन् । 

धानबाली डुबानमा परेको निरीक्षण तथा अनुगमनमा पुगेका प्राविधिकहरूका अनुसार असार १५ मा रोपाइँ गरी हरियो भई गभाएको खेतमा खोलामा आएको बाढीले डुबानमा पारेपछि धानबाली नै गलेको छ ।  

जिल्लाका डुबानमा परेका धेरैजसो खेतीयोग्य भूमिमा धान नै नहुने देखिएको छ । 

उनीहरूका अनुसार लगातार केही दिन अझै पानी परे किसानको धानबालीमा क्षति बढ्ने सम्भावना रहेको छ ।