मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ७ बुधबार १०:४९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षायाममा बालबालिकामा झाडापखाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ७ बुधबार १०:४९:००

वर्षायाममा खाना र पानीजन्य ब्याक्टेरियाका कारण बालबालिकालाई झाडापखाला हुन्छ । भाइरस, ब्याक्टेरिया र परजीवी किराका कारण झाडापखाला लाग्छ, जुन फोहोर खानेकुरा र दूषित पानीमा हुन्छन् । कोभिड-१९ को पनि एउटा लक्षण झाडापखाला हो । विषाक्त खानाका कारण पनि यस्तो समस्या आउँछ । झाडापखाला सर्ने तरिकालाई चिकित्सकीय भाषामा ‘फिको ओरलरुट’ भनिन्छ ।

लक्षण
- ब्याक्टेरिया संक्रमण भएको पहिलोदेखि तेस्रो दिनसम्ममा बालबालिकाले बान्ता गर्न थाल्छन् । र, केही समयपछि झाडापखाला लाग्छ ।

- त्यसपछि हल्का ज्वरो आउने, पेट दुख्ने, खान मन नगर्ने, टाउको दुख्ने, कमजोरी देखिने र पिसाब कम लाग्ने लक्षण देखिन्छन् ।

- १–२ दिनपछि बान्ता बन्द हुन्छ । पखाला भने सातादिनसम्म लागिरहन सक्छ।

- बान्ता र पखालाका कारण शरीरमा पानी कम हुन्छ, जसका कारण ओठ सुक्ने र रुने गर्छन् ।

- समयमा उपचार नपाएमा झाडापखाला कडा हुँदै जान्छ । बालबालिका शिथिल हुँदै जान्छन् । खान र पिउन नसक्ने, बेहोस हुने, खाना खाएलगत्तै बान्ता हुने र शरीर काँप्नेजस्ता लक्षण देखिन्छन्, जसलाई कडा जलवियोजन भनिन्छ । यस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु-याउनुपर्छ ।

- झाडापखाला हुँदा दिसामा रगत देखिन सक्छ, जसलाई रगतमासी वा आउँ परेको भनिन्छ ।

- ब्याक्टेरिया संक्रमण निको पार्न एन्टिबायोटिक औषधि खान दिइन्छ ।

- प्रतिरोधी क्षमता कमजोर, कुपोषण भएका र एक वर्षमुनिका बालबालिकालाई झाडापखालाले बढी सताउँछ ।

- रोइरहने, तिर्खाएजस्तो देखिने, छाला खुकुलो हुने, आँखा र तालु गड्ने, आँसु कम आउने समस्या पनि झाडापखालाका कारण देखिन्छन् ।

- दुई सातासम्म सन्चो नभएमा ‘पर्सिटेन्ट डाइरिया’ भएको हुन सक्छ, जुन बालबालिकाका लागि जोखिमपूर्ण हुन्छ । दिसा जाँचबाट झाडापखालाको कारण र रगतमासी भए-नभएको यकिन गर्न सकिन्छ ।

रोकथाम र उपचार

- शरीरमा पानी कम हुन नदिन झोलयुक्त खानेकुरा र जीवनजल खुवाउनुपर्छ । दाल, घरमै बनाइएको फलफूल र तरकारीको रस, मही र दही खुवाउनुपर्छ ।

-एक वर्षमुनिका बालबालिकालाई दिसा भएपिच्छे ५० देखि एक सय मिलिमिटर झोलिलो खानेकुरा दिनुपर्छ । वर्षदिन नाघेका बालबालिकालाई एक सयदेखि दुई सय मिलिलिटर झोलिलो खानेकुरा र आमाको दूध बारम्बार खुवाउनुपर्छ । ६ महिनामुनिका बालबालिकालाई भने जीवनजल र आमाको दूध मात्रै खुवाउनुपर्छ ।

- जंकफुड, प्याकिङ जुस, धेरै चिनी भएका झोलिलो खानेकुरा दिनुहुँदैन । यस्ता खानेकुरामा पर्याप्त पौष्टिक तत्व हुँदैन । अन्य सम्मिश्रण हुने भएकाले बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।

- कडा झाडापखाला भएमा अस्पताल पु-याएर स्लाइन दिने गरिन्छ । चिकित्सकको सल्लाहमा जिंक ट्याब्लेट पनि खुवाउन सकिन्छ । ज्वरो एक सय डिग्रीभन्दा बढी आएमा पारासिटामोल दिनुपर्छ ।

- झाडापखालाको उपचारमा मेट्रोनिडाजोल नामक औषधि दिने चलन छ, जुन आवश्यक छैन । यो औषधिले बच्चामा खानामा अरुचि, बान्ताजस्ता थप समस्या निम्त्याउँछ ।

- आमाको दूधमा रोगसँग लड्ने तत्व हुन्छन् । त्यसैले ६ महिनासम्म आमाको दूध मात्र र त्यसपछि आमाको दूधसँगै अन्य खानेकुरा खुवाउनुपर्छ ।