Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २० मंगलबार
  • Tuesday, 04 August, 2020
२०७७ श्रावण ७ बुधबार १०:१५:००
सप्तरंग प्रिन्ट संस्करण

रानाथारू समुदायमा तिजको रौनक 

२०७७ श्रावण ७ बुधबार १०:१५:००

टोलटोलमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोसाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउँदै भेटिन्छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । कैलाली र कञ्चनपुरका रानाथारू बस्तीमा यतिवेला तिजको रौनक छ ।

यो समुदायमा एक महिनासम्म तिज मनाइन्छ, जुन आँगनमा पिङ हालेपछि सुरु हुन्छ । पिङलाई यो समुदायले डोला भन्छन् । पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन् । र, त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार जीवन रानाथारू बताउँछिन् ।

'संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ ।’

श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । त्यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् । व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् । 

‘विसर्जन गर्ने वेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन्,’ धनगढी–१३ की रामदुलारी रानाथारू भन्छिन्, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् ।

रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ । बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव-पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।

अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामना गर्दै तिज व्रत बस्ने चलन छ । यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन् । ‘परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो,’ उनी भन्छन्, ‘त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ ।’

कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको कृपाराम राना बताउँछन् ।