१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कारा स्विसर
२०७७ श्रावण ७ बुधबार ०९:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टिकटकमा प्रतिबन्ध किन ?

Read Time : > 2 मिनेट
कारा स्विसर
२०७७ श्रावण ७ बुधबार ०९:०९:००

रुमा म एउटा स्पष्टीकरण दिन चाहन्छु, म टिकटकका लागि अलग्गै फोन बोक्ने गर्छु । स–साना भिडियो सेयर गर्न मिल्ने यो सेवामा आउने भिडियोहरू अहिले मेरो मनोरञ्जनका मुख्य माध्यम हुन् । म यसको खोटरहित सेवाको प्रशंसक बनेको छु । अझ यो प्लाटफर्ममा मानिसले पोख्ने सिर्जनशीलताले मलाई औधि आश्चर्यचकित बनाउँछ । अहिले टिकटक किशोर–किशोरीले मात्र होइन, व्यावसायिक मनोरञ्जनकर्ता र व्यस्त वयस्कहरूले समेत प्रयोग गर्न थालेका छन् । 

पछिल्लो समय आएका सामाजिक सञ्जालमध्ये टिकटक सम्भवतः सबैभन्दा उत्कृष्ट एप हो । अन्य सामाजिक सञ्जाललाई छोपेको समस्या टिकटकमा पनि नभएको हुँदै होइन । खासगरी, गालीगलोज, जाली सामग्री र खतरनाक पोस्टर यहाँ पनि उत्तिकै भेटिन्छन् । यसका बाबजुद उस्तै सेवा प्रदान गर्ने अन्य प्लाटफर्मको तुलनामा यो रमाइलो छ । टिकटकको सेवाप्रति सकारात्मक रहे पनि मैले आफ्नो मुख्य फोनमा टिकटक राखेको छैन । कारण, पछिल्लो समय टिकटकको स्वामित्व कम्पनीलाई लिएर जुन समाचार आइरहेका छन्, त्यसैसँग जोडिएको छ । टिकटक बाइटडान्स नामक चिनियाँ कम्पनीको स्वामित्वमा छ । त्यसकारण यसमाथि उठेको सुरक्षा र निगरानीका प्रश्न गम्भीर छन् । 

हुन त हालसम्म टिकटकले कुनै खराब कामकारबाही गरेको प्रमाण भेटिएको छैन । र, इमानदार भएर भन्दा मोबाइल फोनमा आधारित धेरै अमेरिकी प्रविधि कम्पनीले पनि तथ्यांक चोर्छन् । अमेरिकी प्रविधि कम्पनीहरू आम्दानी बढाउने उद्देश्यले व्यक्तिगत तथ्यांक लिन्छन् भने चीनमा सञ्चालित प्रविधि कम्पनीहरू चिनियाँ सरकारको प्रभाव र अझ निययन्त्रणमै आउन सक्छन् । त्यसैले धेरै गोपनीय सूचना रहेको मेरो मुख्य मोबाइलमा मैले टिकटक एप डाउनलोड गरेकी छैन । तर, टिकटकबारे मेरो चिन्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको तहमा भने छैन ।

विदेशमन्त्री पोम्पेओले चिनियाँ कम्पनी हुवावे र जेडटिईमाथिको प्रतिबन्ध स्मरण गर्दै टिकटकलाई पनि प्रतिबन्ध लगाउने धम्की दिए । पोम्पेओको धम्कीको जवाफ दिने क्रममा टिकटकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत अमेरिकी रहेको र अन्य पदाधिकारी पनि अमेरिकामा बसोवास गर्ने तथ्य स्मरण गरायो । ‘हामीले कहिल्यै पनि चिनियाँ सरकारलाई तथ्यांक दिएका छैनौँ र भविष्यमा मागियो भने पनि दिनेछैनौँ,’ टिकटकले आफ्नो वक्तव्यमा भनेको छ । 

चिनियाँ स्वामित्वमा रहेको टिकटक एपप्रति सशंकित हुने पर्याप्त कारण छन्, तथापि आजको दिनमा टिकटक सबैभन्दा उत्कृष्ट सोसल मिडिया प्लाटफर्ममध्येको एक हो 

५ जनाको सानो टिम भए पनि टिकटकले वासिंटनको राजनीतिक वृत्तमा उलेख्य प्रभाव फैलाउन सुरु गरेको छ । टिकटकविरोधी भावना बढेको समयमा यो स्वाभाविक पनि हो । पोम्पेओको धम्कीबाहेक कंग्रेसमा एउटा रिपब्लिकन पार्टीले दर्ता गरेको विधेयक पनि छ, जसले संघीय एकाइमा काम गर्नेहरूको फोनमा टिकटक प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था गर्नेछ ।

डेमोक्रेट्सहरू पनि टिकटकमाथि निगरानी बढाउने पक्षमै छन् । विगतमा टिकटकले बालबालिकाको व्यक्तिगत तथ्यांक गैरकानुनी रूपमा संकलन गरेको विषयमा अमेरिकाको संघीय व्यापार आयोगले उसमाथि कारबाही गरेको थियो । डेमोक्रेट्स राजनीतिज्ञले यो विषय टिकटकले पुनः उल्लंघन गरे–नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । 

भारतमा प्रतिबन्धित भएपछि टिकटकले एक खालको धक्का पाएको मानिएको छ । टिकटकप्रति जति पनि आशंका छन्, ती चिनियाँ सरकारको खतरनाक डिजिटल निगरानीसम्बन्धी व्यवस्थासँग जोडिएका छन् । चिनियाँ सरकारले आफ्ना आलोचकलाई नियन्त्रणमा लिन प्रविधिको प्रयोग गर्ने गरेको तथ्य कोहीबाट लुकेको छैन । र, चिनियाँ सरकारले त्यहाँको प्रविधि उद्योगमाथि नियन्त्रण राख्न सक्ने कुरामा पनि शंका छैन । तर, बालबालिकाको तथ्यांक संकलनको घटना (जुन तुलनात्मक रूपमा अरूले पनि गरेको भेटिन्छ) बाहेक टिकटकले उसका आलोचकले भनेजस्तो गम्भीर काम गरेको पुष्टि भएको छैन । टिकटकले अमेरिकी प्रयोगकर्ताको तथ्यांक अमेरिकामै जम्मा हुने र त्यसको ब्याकअप सिंगापुरमा रहेको दाबी गर्दै आएको छ । 

टिकटक प्रतिबन्ध लगाउने कुराका केही जटिल प्राविधिक मुद्दा पनि छन् । प्रविधि विश्लेषक वेन थोम्प्सनले हालै एक ब्लग पोस्टमा यसलाई राम्ररी प्रस्तुत गरेका थिए । उनले लेखेका छन्, ‘टिकटकले थाहै नदिई इमेल चो-यो भनेर यसमाथि प्रतिबन्ध लगाउनु प्राविधिक रूपमा सही छैन ।’ टिकटकको अनौठो कर्पाेरेट संरचनाका कारण योे आफ्ना सूचना चिनियाँ सरकारलाई दिन बाध्य छैन । रोचक कुरा के हो भने यो एप आफैँमा चीनमा उपलब्ध छैन । 

टिकटकले आफ्नो प्लाटफर्ममा धेरै विषयलाई प्रतिबन्ध लगाएको कुरालाई पनि चिन्ताका रूपमा हेरिन्छ । ‘सेन्सरसिप मात्र होइन, त्यसको उल्टो प्रोपोगान्डा पनि यो एपको खतरनाक पक्ष हो,’ थोम्प्सनले लेखेका छन्, ‘टिकटकमा आउने भिडियोहरू एपको कम्प्युटर प्रोग्राम(अल्गोरिदम)ले तय गर्छ । यसमाथि सामाजिक सञ्जाल वा सामग्री निर्माताको नियन्त्रण नहुने भएकाले यसले जस्तोसुकै भिडियो पनि देखाउन सक्छ । र, दर्शकले त्यस कुराको भेउ नपाउन सक्छन् ।’ थोम्प्सनको यो चिन्ता जायज छ ।

टिकटकको लोकप्रियता बढिरहेको समयमा उसले यो विषयलाई ध्यान दिनुपर्छ । टिकटकले भर्खरै डिज्नी कम्पनीका पूर्वअधिकृत केभिन मेयरलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको छ, जुन बाइटडान्सको स्वामित्वबाट अलग्गिएर अमेरिकी कम्पनी बन्ने संकेत हुन सक्छ । अमेरिकामा सेयर जारी गरिएमा कम्पनी चिनियाँ सरकारको नियन्त्रणबाट टाढिनेछ । यसले एकातर्फ यो एपप्रति शंकाको नजरले हेर्नेहरूलाई जवाफ दिनेछ भने अर्कोतर्फ टिकटकलाई फेसबुकको बलियो प्रतिस्पर्धीको रूपमा उदाउने बाटो खुल्नेछ । 

(कारा स्विसर न्युयोर्क टाइम्सकी स्तम्भकार हुन् ।) 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य