१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उमेश चौहान काठमाडाैं
२०७७ श्रावण ७ बुधबार १०:३५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट नामको भारदारी सभा

Read Time : > 6 मिनेट
उमेश चौहान, काठमाडाैं
२०७७ श्रावण ७ बुधबार १०:३५:००

-नयाँ पुस्ताका नेताहरुले अब जीर्ण नेताका चक्रवर्ति राजका लागि अनुष्ठान होइन, कम्युनिस्ट नामको भारदारी कचहरीमा हस्तक्षेप गर्नुपर्छ

-भाँडा माझ्ने कामसमेत खोसिएपछि राजु ६ दिन लगाएर ठक्कर खाँदै गाउँ आएका थिए । तर, १० दिनपछि मात्र नमुना संकलन गर्ने र त्यसको पनि १४ दिनपछि रिपोर्ट दिने सिस्टमका अगाडि राजु सदाको प्राणले आत्मसमर्पण गरेको दृश्य देख्दा तपाईंको मन्त्रिपरिषद्का मुखिया र कुनै पनि सदस्यलाई मध्यरातमा कविता किन फुर्दैन कमरेड ?

-हिजो सुकुम्बासीका लागि सत्ता ल्याउन भन्दै गरिबका काँधमा बन्दुक बोकाएर बटालियन र ब्रिगेड बनाउँदै हिँडेको पार्टी सरकारमै भएको वेला पार्टी अध्यक्षको निर्वाचन क्षेत्रमा मानवबस्तीमा आगो सल्काउने काम भएको छ । गरिबका झुप्रा आगोले खरानी हुँदा तपाईंहरूका सुप्रिम कमान्डर र कमान्डरहरूको कलेजो कसरी सग्लो रह्यो कमरेड ?

समकालीन नेपाली राजनीतिको सबैभन्दा सटिक विश्लेषण गर्ने पात्र को हो ? निःसन्देह राधिका शाक्य । मान्छेहरू राधिकालाई राजनीतिका लागि एउटा निरपेक्ष पात्र भन्न सक्छन् । तर, कहिले एकता र कहिले संघर्ष, कहिले गुट र कहिले पार्टी, कहिले स्थायी कमिटी र कहिले सचिवालयका नाममा बालुवाटारमा भइरहेको दाउपेचको सबैभन्दा विश्वसनीय साक्षी राधिका हुन् । प्रधानमन्त्री केपी ओलीले मान्छेको रूपमा उठेर दिनको सुरुवात गर्न पाउँदा–नपाउँदै तपाईं त मान्छे होइन, अवतार हो भन्दै बज्ने विभिन्न धातुका चम्चाको ट्याङट्याङ टुङटुङ सबैभन्दा बढी राधिका शाक्यका कानले सुनेका छन् । प्रधानमन्त्री ओलीको राजनीतिक सफाया गर्ने भन्दै ढोल–नगरा बजाउँदै गेटबाट छिर्ने र क्षणिक खुसामदपछि तरबार पाउमा चढाउने चरित्रलाई सबैभन्दा बढी राधिका शाक्यका आँखाले देखेका छन् । शान्त र सुशील यी नारीले समकालीन नेपाली राजनीतिको विषयमा भर्खरै सार्वजनिक रूपमा भनेकी छिन्, ‘यी बूढा नेताहरूले रातदिन दिमाग खियाइरहेका छन्, तर जनताका लागि होइन, सिर्जनाका लागि पनि होइन । षड्यन्त्रका लागि हो, देशको विनाशका लागि हो ।’

बालुवाटार अब देशका प्रधानमन्त्रीको सरकारी निवास रहेन, जहाँ समृद्धिका योजना बनून् । यो त दाउपेचको अखडा बन्यो, जहाँ षड्यन्त्रका थ्रिडी नक्सा बन्छन् । प्रधानमन्त्रीको नियत र नियति यस्तै रहेछ, राज्यको शक्ति देश बनाउन होइन, कुर्सी बचाउन लगाउनुपरेको छ । यो ‘म्युजिकल चेयर’ कुनै पनि कोणबाट रमणीय छैन । किनकि धेरै विषय अस्पष्ट राखेका नेताले एउटा विषय मात्र प्रस्ट पारेका छन्– ‘देशले हार्न सक्छ, दलले हार्न सक्छ, कथाले मागेमा गुटले पनि हार्न सक्छ, तर व्यक्तिले कदापि हार्नेछैन ।’ त्यसैले ओलीलाई हटाउन र बचाउन लागेका दुवै पक्ष आजका दिनसम्म गोलरहित बराबरीमा कुदिरहेका छन् । यो खेलको दुःखद पक्ष के भने बेन्चमा बसेका वैकल्पिक खेलाडी मैदानमा जान खोजिरहेका छैनन्, चियर लिडर बनेर नजाकत देखाइरहेका छन् । 

यो कुनै दल–विशेषको झगडा मात्र होइन, जसलाई देशले नजरअन्दाज गर्न सकोस् । यो समृद्धिको सपना देखाएर देशको कमान्ड पाएको नेतृत्वले जनतालाई दिएको अक्षम्य धोका हो । यस्तो जीर्ण पुस्ता र मक्किएको शैलीले बिरिक्तिएको समाज नयाँ पुस्ताको पक्षमा आवाज उठाइरहेको छ । स्वयं प्रधानमन्त्री निवास बालुवाटारबाटै राधिका शाक्यले पनि भनिन्, ‘यी बूढा नेताहरूले देश र जनताको बारेमा सोचेका छैनन् ।’ तर, खोइ त नयाँ पुस्ता ? यो देशका युवाहरूको वर्तमान र बालबालिकाको भविष्य अन्धकार बनाउने तमासा चलिरहँदा नेकपाका योगेश भट्टराईदेखि घनश्याम भुसालसम्म, प्रदीप ज्ञवालीदेखि शंकर पोखरेलसम्म र जनार्दन शर्मादेखि वर्षमान पुनसम्मको भूमिका के छ ? नेताहरूलाई भिडाउन हुटिङ गर्ने वा मिलाउन स्वस्तिशान्ति वाचन गर्नेबाहेक उनीहरूको आफ्नै पहिचान कहाँ छ ? हस्तक्षेप कहाँ छ ? योजना र दृष्टिकोण कहाँ छ ? देशलाई उज्यालोतर्फ डोर्‍याउने सपना कहाँ छ ? युवा भनिएका नेताहरूसँग आज देशले सोधिरहेको छ । 

नयाँ पुस्ताका नेताहरू मन्त्री र मुख्यमन्त्री भएको यो देशमा युवा, महिला र बालबालिकाको अवस्था के छ ? कुल जनसंख्याको १८.१ प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् । दैनिक १.९ डलर (करिब दुई सय रुपैयाँ) अर्थात् महिनामा ६ हजार रुपैयाँ पनि आम्दानी गर्न नसक्ने जनताको संख्या ५६ लाख छ । यो कुनै रुखो तथ्यांक होइन, ५६ लाख मानवले बाँचिरहेको दैनिक जीवन हो । त्यो आम्दानीबाट ती जनताले के खान्छन्, लगाउँछन् के ? छोराछोरी पढाउँछन् कसरी ? बिरामी हुँदा उपचार गराउँछन् कसरी ? जीवन बाँच्ने आधारभूत विषय पनि उनीहरूका लागि किन महाभारत भएको छ ? धुम्बराही वा सिंहदरबार, खुमलटार वा बालुवाटारका कुन भेलामा तपाईं युवा नेताहरूले यो विषयमा बहस गर्नुभयो ?

जनसंख्याको ८.७ प्रतिशत अर्थात् २६ लाख मान्छे शरीरलाई चाहिने न्यूनतम पोषण नपाएर कुपोषित छन् । तिनै भोकानांगाले परिवार र आफ्नो जीवन सुधार्छु भन्दा पनि रोजगारीको अवसर पाएका छैनन् । हो, यो देशमा काम गर्ने उमेरका दुई करोड सात लाख जनतामध्ये एक करोड २३ लाख मानिस यस्तो काममा संलग्न छन्, जसलाई सर्वेक्षणले समेत रोजगारी भन्न सकेको छैन । नेपाल श्रमशक्ति सर्वेक्षण २०१८ अनुसार श्रम गर्न सक्ने उमेरको ६१.२८ प्रतिशत जनशक्तिसँग औपचारिक रोजगारी छैन । कुपोषण र बेरोजगारले ग्रस्त जनताको मत अमूल्य छ भने उनीहरूको जीवन किन यति मूल्यहीन ? यो कुन समाजवादको चित्र र यात्रा हो ? जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र जनताको जनवादको बहसमा कहाँ छ यी जनताको तस्बिर ? नयाँ पुस्ताका नेतालाई समाजले प्रश्न सोधिरहेको छ ।

ओली, प्रचण्ड र नेपालले जे गरिरहेका छन्, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र योगेश भट्टराईलाई सबै चित्त बुझेको छ भन्ने पक्कै होइन । तर, उनीहरू वृद्ध नेताहरूलाई के भन्दै छन् भने तपाईंहरू मिलेर खानुस्, बरु हामी त्याग गर्न तयार छौँ । त्यो त्याग होइन, तिलाञ्जली हो । यो बेथिति कायम राखेर नेपाली युवाको वर्तमान, बालबालिकाको भविष्यलाई तिलाञ्जली दिने अधिकार स्वयं नयाँ पुस्ताका सद्भावना दूतहरूलाई पनि छैन । किनभने यो चन्द्रशमशेरको भारदारी शासन होइन, लोकतान्त्रिक गणतन्त्र नेपाल हो ।

देशमा रोजगारी नपाएर ३५ लाख युवा मलेसियाको जंगल र खाडीको मरुभूमिमा पसिना बगाइरहेका छन् । कोभिडले ल्याएको विपत्ले रोजगारी गुमाएर विदेशमा अलपत्र परेका युवाको आवाज तपाईं नयाँ पुस्ताका नेताले पार्टी र सरकारको कुन फोरममा कतिपटक उठाउनुभयो ? मुम्बईको होटलमा भाँडा माझ्ने युवा साहू र समाजले लखेटेपछि १२ दिन लगाएर मातृभूमि आएका थिए, तर बाँके नरैनापुरको क्वारेन्टाइनमा सिकिस्त बिरामी हुँदा एम्बुलेन्ससमेत नपाएर मृत्युवरण गर्न बाध्य भए । उनको मृत्युको विषयमा तपाईंहरूले मन्त्रिपरिषद्मा के प्रस्ताव लग्नुभयो ? धनुषाका १६ वर्षीय राजु सदा त तपाईं–हाम्रा छोराछोरीजस्तै टाई लगाएर प्लस टु पढ्न जानुपर्ने होइन ? कसले पठायो उनलाई चेन्नईको होटलमा भाँडा माझ्न ? तपाईंहरूले नेतृत्व गरेको राज्यले होइन ? भाँडा माझ्ने कामसमेत खोसिएपछि राजु ६ दिन लगाएर ठक्कर खाँदै गाउँ आएका थिए । तर, १० दिनपछि मात्र नमुना संकलन गर्ने र त्यसको पनि १४ दिनपछि रिपोर्ट दिने सिस्टमका अगाडि राजु सदाको प्राणले आत्मसमर्पण गरेको दृश्य देख्दा तपाईंको मन्त्रिपरिषद्का मुखिया र कुनै पनि सदस्यलाई मध्यरातमा कविता किन फुर्दैन कमरेड ? अनि हिजो सुकुम्बासीका लागि सत्ता ल्याउन भन्दै गरिबका काँधमा बन्दुक बोकाएर बटालियन र ब्रिगेड बनाउँदै हिँडेको पार्टी सरकारमै भएको वेला पार्टी अध्यक्षको निर्वाचन क्षेत्रमा मानवबस्तीमा आगो सल्काउने काम भएको छ । गरिबका झुप्रा आगोले खरानी हुँदा तपाईंहरूका सुप्रिम कमान्डर र कमान्डरहरूको कलेजो कसरी सग्लो रह्यो कमरेड ?

राजनीतिशास्त्रमा युवावस्था भनेको मांसपेशीको म्याद होइन, यो त त्यस्तो विशिष्ट मानसिक अवस्था हो, जहाँबाट सापेक्षिक परिकल्पना, सुगठित इच्छाशक्ति र अदम्य साहस परिचालित हुन्छ । तर, हाम्रो देश नेतृत्वको भोकमरीले ग्रस्त छ । त्यसैले ६० छुने तयारी गरिरहेका तपाईंहरूलाई पनि मान्छेले युवा नेता भन्छन् । दुनियाँको उदाहरण हेर्छन् र तपाईंहरूबाट अपेक्षा गर्छन् । तर, त्यो पनि तपाईंहरूमाथि अन्यायपूर्ण बोझ हो भन्ने देखिन्छ । किनभने विश्वमा अहिले युवा भनेर जसले आशाको किरण छरिरहेका छन्, ती तपाईंहरूका समवयी होइनन्, छोराछोरी र भान्जाभान्जी उमेरका छन् । फिनल्यान्डको नेतृत्व गरिरहेकी सन्ना मारिन भर्खरै ३४ वर्षकी भइन् । प्रधानमन्त्री मारिनले दिएको सबैभन्दा समृद्ध सन्देश के हो भने १९ सदस्यीय मन्त्रिपरिषद्मा १२ जना महिला छन् । ट्रम्प र पुटिनको दक्षिणपन्थी ज्वारभाटालाई चुनौती दिने नारी जेसिन्डा आड्रेन न्युजिल्यान्डकी प्रधानमन्त्री छिन् । भर्खर ३९ वर्षकी यी प्रगतिशील नारीले कोभिड नियन्त्रण गरेर जनताप्रति संवेदनशील प्रशासनको अनुकरणीय अध्याय थपेकी छन् । युक्रेनका ४१ वर्षीय राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ३९ वर्षीय ओलेक्सी होनचर्कलाई उपराष्ट्रपति बनाएका छन् । 

तपाईंहरूकै आदर्श गुरु कार्ल मार्क्स नै सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दा जम्मा ३० वर्षका थिए भने नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दा पुष्पलाल २५ वर्षका मात्रै । वि.सं. २००३ मा कांग्रेस कार्यवाहक सभापति बन्दा बिपी कोइराला ३३ वर्षका थिए । ४५ वर्षको उमेरमा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा शपथ खानुअघि नै बिपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त विकसित गरिसकेका थिए । जनताको बहुदलीय जनवाद प्रतिपादन मात्र होइन, नेपाली राजनीतिमा आदर्श पहिचान स्थापित गरेर संसारबाट बिदा हुँदा मदन भण्डारी ४१ वर्षका मात्र थिए । मदनको उत्तराधिकारीको रूपमा नेकपा एमालेको ‘शक्तिशाली’ महासचिवको बिम्ब पाउँदा माधव नेपाल पनि ४१ वर्षका थिए । प्रचण्ड र बाबुरामले पनि ४० वर्षकै हाराहारीमा नेपाली राजनीतिमा सशस्त्र आँधीबेहरीको शंखघोष गरिसकेका थिए । यस्ता, उमेरका उदाहरणीय कोसेढुंगा काटिसकेका नेताहरूले आफूभन्दा पुराना नेताहरूलाई ‘मिलेर खानुहोस्, हामीलाई अलपत्र नपार्नुहोस्’ भनिरहेको दृश्य देख्दा नेपाली राजनीतिमा खडेरीको पूर्वानुमान गर्न सकिन्छ । 

संसारमा कुनै पनि नेतृत्व पालो पर्खिएर र याचनाबाट परिवर्तन भएका होइनन् । सुस्पष्ट दृष्टिकोण, सुव्यवस्थित योजना र सुनियोजित हस्तक्षेपले मात्र नेतृत्व परिवर्तन हुन्छ । कोइराला परिवारमा बिपी कोइरालाले आफ्ना दाजुसँग पनि मागेर होइन, भिडेर शक्ति लिएका थिए । राजा र भारतको प्रत्यक्ष सहयोग पाएका मातृकाप्रसाद कोइराला बिपीको प्रताप थेग्न नसकेर कांग्रेस सभापति र प्रधानमन्त्री पदबाट धेकेलिएका थिए । दशकौँ पुरानो इतिहास होइन, निकट अतीतमा पनि फ्रान्सेली नेता इम्यानुयल म्याक्रोनको नाम कहीँ कतै भेटिँदैन । सरकारी जागिरे र इन्भेस्टमेन्ट बैंकरका रूपमा करिअर बनाएका म्याक्रोनलाई सन् २०१४ मा अर्थमन्त्रीको जिम्मेवारी दिँदा अपरिपक्व निर्णय भनेर राष्ट्रपति र प्रधानमन्त्रीको धेरैले आलोचना गरेका थिए । तर, आफूलाई टीका लगाइदिने नेतृत्वलाई वैचारिक रूपमै चुनौती दिएर अप्रिल २०१६ मा पार्टी घोषणा गरेका म्याक्रोन अप्रिल २०१७ मा राष्ट्रपतिमा निर्वाचित हुँदा संसारभरका मिडियाले फ्रान्समा ‘शक्तिशाली भूकम्प’ भनेर हेडलाइन्स बनाए । राष्ट्रपति ओल्यान्डले मन्त्री पदबाट बर्खास्त गर्ने धम्की दिँदा दण्डवत् गर्नुको सट्टा राजीनामा दिएर आन्दोलनकारी बनेका म्याक्रोनले ३९ वर्षको उमेरमा राष्ट्रपति बनेर फ्रान्सेली इतिहासमा कीर्तिमान पनि बनाएका छन् । चिन्ता होइन, चिन्तन र सम्झौता होइन, साहसको मार्ग पछ्याउने संसारभरका युवाका लागि म्याक्रोन आदर्श हुन् । तर , हामीकहाँ ओली, प्रचण्डका सहयोगी नेताहरू ओल्यान्डका अगाडि उभिएका म्याक्रोनजस्ता होइन, किम जोङ उनको दायाँबायाँ उभिएर धमाधम नोट टिपोट गर्ने सिपाहीजस्ता देखिन्छन् । यो हाम्रो बिजोग हो । 

ओली, प्रचण्ड र नेपालले जे गरिरहेका छन्, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र योगेश भट्टराईलाई सबै चित्त बुझेको छ भन्ने पक्कै होइन । तर, उनीहरू वृद्ध नेताहरूलाई के भन्दै छन् भने तपाईंहरू मिलेर खानुस्, बरु हामी त्याग गर्न तयार छौँ । त्यो त्याग होइन, तिलाञ्जली हो । यो बेथिति कायम राखेर नेपाली युवाको वर्तमान, बालबालिकाको भविष्यलाई तिलाञ्जली दिने अधिकार स्वयं नयाँ पुस्ताका सद्भावना दूतहरूलाई पनि छैन । किनभने यो चन्द्रशमशेरको भारदारी शासन होइन, लोकतान्त्रिक गणतन्त्र नेपाल हो । अपेक्षित त के छ भने नयाँ पुस्ताका नेताहरूले राधिका शाक्यको विश्लेषणलाई गम्भीरतापूर्वक मनन गरून् । उनीहरूले वृद्ध नेताहरूलाई भनून्, ‘तपाईंहरू अब झगडा गरेर पनि खान पाउनुहुन्न, मिलेर पनि खान पाउनुहुन्न । इतिहासमा हामीले ३० वर्षे पञ्चायतकाल भनेर रटिरह्यौँ, ३० वर्षे काल तपाईंहरूको पनि देखियो । कृपया बाटो छोड्नोस्, हामीलाई शुभकामना दिनुहोस् ।’ नयाँ पुस्ताका नेताहरूले अब जीर्ण नेताहरूको चक्रवर्ती राजका लागि अनुष्ठान होइन, कम्युनिस्ट नामको भारदारी कचहरीमा हस्तक्षेप गर्नुपर्छ । नयाँ योजना र नयाँ कार्यक्रमसहित नयाँ नेपालको घोषणापत्र जारी गर्नुपर्छ ।