१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण ७ बुधबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चेपाङ बस्तीमा आगो लगाएको विरोधमा प्रदर्शन

Read Time : > 1 मिनेट
२०७७ श्रावण ७ बुधबार ०४:००:००

चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो लगाएको विरोधमा मंगलबार भरतपुरमा प्रदर्शन गरिएको छ । नेपाल बसोवास बस्ती संरक्षण समाज र अखिल नेपाल क्रान्तिकारी सकुमबासी संघ चितवनको आयोजनामा प्रदर्शन गरिएको हो । 

शनिबार निकुञ्ज र सेनाको टोलीले कुसुमखोलका दुई घरमा आगो लगाउनुका साथै आठ घर हात्ती लगाएर भत्काएका थिए । घर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन् । त्यसको चौतर्फी आलोचना भइरहेका वेला मंगलबार प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिका सर्वसाधारणले ‘अधिकार माग्दा दमन गर्ने व्यवस्था गणतान्त्रिक व्यवस्था हुन सक्दैन्, सत्ता र शक्तिको आडमा सुकुमबासीमाथि अन्याय गर्नेहरू दानव हुन्, झुप्रा घरभित्र विभेद सहने शक्ति हुन्छ, तर सीमा नाघेमा विस्फोटन पनि त्यहीँबाट हुन्छ’जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 

वर्षात्का वेला संरक्षण गर्नुको सट्टा घर भत्काएर बिचल्ली पारेकाले विरोधमा उत्रिनुपरेको नेपाल बसोवास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘कुसुमखोलाका पीडितलाई न्याय नदिँदासम्म आन्दोलन गर्छौँ,’ उनले भने । घर भत्काएका सर्वसाधारणको तत्काल व्यवस्थापन गर्नुपर्ने देवकोटाको भनाइ छ ।

त्यस्तै, नेकपा र कांग्रेसको जिल्ला समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका छन् । वर्षात्को समयमा न्यूनतम मानवीयतासमेत नराखी जनविरोधी हर्कत भएको उनीहरूले जनाएका छन् । आगो लगाएका तथा भत्काएका घरको उचित व्यवस्थापन गर्न र क्षतिपूर्ति उपलब्ध गराउन नेकपा र कांग्रेसले माग गरेका छन् । यसमा राष्ट्रिय मानवअधिकार आयोग, जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दानबहादुर प्रजालाई रमेश खरेलको १० हजार सहयोग

घरमा आगो लगाउँदा १० हजार रुपैयाँ र नागरिकता जलेका दानबहादुर प्रजालाई पूर्वडिआइजी एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले सहयोग गरेका छन् । उनले दानबहादुरलाई १० हजार रुपैयाँ प्रदान गरेका हुन् । 
दानबहादुरको घरसँगै १० हजार रुपैयाँ जलेको समाचार पढेर मन थाम्नै नसकेको खरेलले बताए । ‘दानबहादुर प्रजाले खेतमा कोदालो चलाएर कमाएको पैसासँगै घर जलेछ, यो कुराले मन थाम्नै सकिनँ,’ खरेलले भने । उनले जलेबराबरको रकम सहयोग गरेका हुन् । यस विषयमा मंगलबार नयाँ पत्रिका समाचार छापिएको थियो । 

चेपाङमाथि भएको घटना मानवअधिकारको उल्लंघन : एम्नेस्टी

काठमाडौं/ चितवनका चेपाङलाई वासस्थानबाट हटाउने र घरमा आगो लगाउने घटना मानवअधिकारको उल्लंघन भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी उनीहरूलाई जबर्जस्ती हटाउने कार्य बन्द गर्न र घर जलाउने घटनामा संलग्नहरूलाई जवाफदेही बनाउन माग गरेको छ । 

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक नीराजन थपलियाले चेपाङका दुई घरमा आगो लगाइएको तथा आठ घर हात्ती प्रयोग गरेर भत्काइएकोमा आपत्ति जनाएका छन् । निर्देशक थपलियाले भनेका छन्, ‘आफ्नो आवासबाट जबर्जस्ती कसैलाई हटाउनु एउटा क्रूरतापूर्ण कार्य हो । पहिल्यैदेखि अतिसीमान्तकृत उक्त समुदायका सदस्यहरूको जीवन नै जोखिममा पार्ने गरी आगजनीका साथै हात्तीद्वारा समेत आक्रमण गराउँदै उनीहरूको आवास ध्वस्त पार्ने तथा उनीहरूको स्वामित्वमा रहेका निजी सरसामानहरूसमेत नष्ट पार्ने कार्य अत्यन्तै अविवेकपूर्ण हुनुका साथै मानवअधिकारको उल्लंघन हो ।’

उनीहरूका लागि वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गर्न पनि एम्नेस्टीले माग गरेको छ । उनीहरूमाथिको आक्रमण रोकिनुपर्ने उल्लेख गर्दै एम्नेस्टीले भनेको छ, ‘चेपाङ समुदायका मानिसहरूलाई संरक्षण गरिनुपर्दछ । उनीहरूलाई आफ्नो आवासबाट निष्कासन गर्ने अन्य कुनै पनि प्रयासहरूलाई तत्काल रोकिनुपर्दछ । आफ्नो आवासबाट जबर्जस्ती निष्कासित गरिएका यी मानिसहरूलाई पर्याप्त वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ ।’