१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण ६ मंगलबार २०:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले धादिङमा एक घर बगायो, ६ घर उच्च जोखिममा

Read Time : < 1 मिनेट
२०७७ श्रावण ६ मंगलबार २०:५१:००

नीलकण्ठ नगरपालिका–१२ धन्सारपाखामा पहिरोले एक घर बगाएको छ भने ६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । रुवीभ्याली गाउँपालिका–१ तिप्लिङका हरिबहादुर तामाङको घर मंगलबार दिउँसो पहिरोले बगाएको हो । भूकम्पपछि तिप्लिङबाट पहिरोकै डरले बसाइ सरेर सदरमुकाम धादिङबेसीनजिकै धन्सारपाखामा आएर उनले घर बनाएका थिए । सोही घर पनि पहिरोले बगाएपछि उनको परिवारको बिचल्ली भएको छ । 

यस्तै रुवीभ्याली गाउँपालिका–१ का पूर्णलामा तामाङ, वीरबहादुर तामाङ, विकास घले, रुवीभ्याली गाउँपालिका–५ का विजय तामाङ, ज्वालामुखी गाउँपालिका–५ का अनुप भट्ट, नीलकण्ठ नगरपालिका–१२ का रामबहादुर रम्तेलको घर पहिरोको उच्च जोखिममा परेको छ । रामबहादुरले भने, ‘घरमुनिबाट पहिरो गइरहेको छ । एउटा घर त बगाइसक्यो । सँगैको आरसिसी गरेको अनुप भट्टको पक्की घर पनि बग्ने अवस्थामा पुगेको छ । न घरमा बस्नु न पाल टाँगेर बस्नुभएको छ ।’ 

गल्छी गाउँपालिका–४ कार्कीडाँडामा चे घलेको घर पनि पहिरोले क्षति पुगेको छ । घरमा पहिरोले क्षति पुराएपछि घलेको पाँचजनाको परिवार छिमेकीको घरमा आश्रय लिइबसेका छन् । उनका छिमेकी प्रेम तामाङको घर पनि उच्च जोखिममा रहेको छ । रुवीभ्याली गाउँपालिका–५ बाट उनीहरू गल्छी–४ मा बसाइँ सरेका थिए । पहिरोकै कारण सोही गाउँका बाबुराज रम्तेल र अष्टराम रम्तेललगायत केही घरहरू पनि जोखिममा रहेको अष्टराम रम्तेलले बताए । गल्छी गाउँपालिका–४ कै कार्कीडाँडा, भदौरे गहतेलगायत ठाउँमा पहिरोका कारण घरहरू जोखिममा परेको स्थानीयले बताएका छन् ।