मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १९:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतग्रस्त क्षेत्रमा दिइने राहत र पुनर्स्थापनाबारे सभामुखको चासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १९:०६:००

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग भोटेकोसी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको छलफलमा पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ०७२ को भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा पहिरोसम्बन्धी तथ्यांकका आधारमा सिन्धुपाल्चोक सबैभन्दा जोखिममा रहेको जानकारी दिएका थिए ।

पोखरेलले सिन्धुपाल्चोकभित्र पनि भोटेकोसी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए । त्यस्तै, उनले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकारमार्फत जानकारी दिने तयारी भइरहेको बताएका थिए। 

सभामुख सापकोटाले विपत् भएलगत्तै दिइने राहत, उद्धार र पुनर्स्थापनाको तयारीबारे पनि चासो राखेका थिए । जवाफमा पोखरेलले आगामी बिहीबार बस्ने कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गर्ने जानकारी दिए । 

उनले तिब्बतको केरुङ च्छो तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताए । प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेलको भनाइ थियो । 

छलफलमा तीन दिनसम्म बाह्रबिसे र भोटेकोसीको स्थलगत अवलोकन र राहत तथा उद्धारमा सहभागी भएर फर्किएका नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, नेकपा नेता सरल सहयात्री र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र बाढी–पहिरोले गरेको क्षति र प्रभावित स्थानीयले भोग्नुपरेको अप्ठ्याबारे जानकारी गराएका थिए।