१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १५:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकाेटा भन्छन्– उपसभामुख चयनका लागि प्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष र उपनेतासँग कुरा गरेँ, तर भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १५:१६:००

सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचनका लागि आफूले सत्तारुढ दलका दुवै अध्यक्ष र उपनेतासँग पटक-पटक भेटिरहेको र यस विषयमा पुनः प्रधानमन्त्रीसँग पनि भेटेर कुरा राख्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरूलाई भेट्दै उपसभामुखको विषयमा आफू गम्भीर रहेको बताएका हुन् । उनले भने, ‘उपसभामुख हुँदा काम गर्न पनि सहज हुन्थ्यो । सत्तारुढ पार्टीसँग त कुरा गरिरहेको छु । प्रधानमन्त्री र अध्ययक्षहरूसँग पनि कुरा गरेको थिएँ । उपनेतासँग पनि कुरा गरेको थिएँ । प्रतिपक्ष दलले त यस विषयमा कुरा उठाइरहेकै छ । मैले छलफल गरिरहे पनि सार्थकता पाउन सकेको छैन । म पुनः उहाँहरूसँग कुरा गर्छु ।’

उपसभामुख छिट्टै पदपूर्ति गर्नुपर्ने भन्दै सञ्जालले मंगलबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो । सभामुख चयन भएको लामो समय बित्दा पनि उपसभामुख चयन हुन नसकेको विषयलाई लिएर सञ्जालले सभामुखलाई ध्यानाकर्षण बुझाएको हो ।

ध्यानाकर्षण बुझेपछि सभामुख सापकोटाले आफूले पुनः प्रधानमन्त्रीसमक्ष यस विषयमा कुरा राख्ने बताए।

संसदलाई जीवन्त बनाउन आफू भित्रैदेखि प्रतिबद्ध रहेको सापकोटाको भनाइ थियो । व्यवस्थापिकाबाट सुशासनको सुरुवात गर्न पनि आफू दृढ रहेको र सुशासनको सुरुवात व्यवस्थापिकाबाटै हुनुपर्ने उनले बताए । उनले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामध्ये व्यवस्थापिकाबाटै प्रधानमन्त्री, राष्ट्रपति, अध्यक्ष चुनिने हुन् । त्यसैले यो निकाय महत्त्वपूर्ण छ । यहीँबाट सुशासनको सुरुवात हुनुपर्छ।’