मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सभापति देउवा भन्छन्– राष्ट्रियताको सन्दर्भमा बिपीकै विचारबाट 'राष्ट्रिय एकता' खोज्नु आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार १२:४१:००

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको विचारका आधारमा अघि बढे मात्रै राष्ट्रिय एकता र मेलमिलाप अघि बढ्ने बताएका छन् । 

बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जुममार्फत आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पछिल्लो समय राष्ट्रियताको प्रश्नमा छलफल भइरहेकाले पनि बिपीको विचारलाई पछ्याउनुपर्ने बताएका हुन् । 

‘राष्ट्रमाथि संकट आउँदा आफ्नो जीवनको जोखिम लिएर ०३३ सालमा बिपी स्वदेश फर्कनुभएको थियो,’ कार्यक्रममा देउवाले भने, ‘आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका वेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्दछ ।’ 

बिपी सानो देशको अग्लो व्यक्तित्व भएको र दूरदर्शी राजनेता भएको देउवाले बताए । 

‘प्रजातान्त्रिक समाजवादप्रतिको उहाँको विचार आज झनै सान्दर्भिक भएको छ । नेपालले आज हिँड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैको सम्मान र समृद्धिको लक्ष्यहासिल गर्न सक्दछौँ,’ बिपीलाई स्मरण गर्दै देउवाले भने, ‘साहित्यमा बिपीको फरक व्यक्तित्व र उचाइ थियो । अग्रणी साहित्यकार बिपी मनोवैज्ञानिक कथा लेखनमा बेजोड हुनुहुन्थ्यो ।’

कार्यक्रममा समाजवादी चिन्तक तथा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले बिपीका विचारलाई समय सान्दर्भिक रूपमा ग्रहण गरेर जानुपर्ने बताए । 

पछिल्लो समय सरकारले उग्र राष्ट्रवादी भाषण गरेर जबर्जस्त राष्ट्रवादीको कित्तामा उभ्याएको बताए । तर, वास्तविक राष्ट्रवाद बिपीको विचारमा रहेको उनको भनाइ थियो । 

बिपीको स्मृति दिवसमा देशैभर कांग्रेसले कार्यक्रम गरिरहेको छ । भर्चुअल छलफल, वृक्षरोपण, अन्तर्क्रियाजस्ता कार्यक्रम गरी कांग्रेसले बिपीको योगदान र उनका विचारलाई सम्झने काम गरेको छ ।