मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ श्रावण ६ मंगलबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणीमा वर्षकै ठूलो बाढी,  नहरका सबै ढोका खोलिए

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ श्रावण ६ मंगलबार ११:४५:००

 नारायणी नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । त्रिवेणी गण्डक ब्यारेजमा गरिएको जल मापनअनुसार नदीमा पानीको बहाव चार लाख ३० हजार क्युसेक  पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेका अनुसार अहिले गण्डक ब्यारेजका ३६ वटा ढोका सबै खोलिएको छ । 

गण्डकमा पानीका बहाब तीन लाख क्युसेक नाघेपछि खतरा मानिन्छ । अहिले नदीको किनार आसपासका बस्ती तथा जमिन डुबान र कटानको खतरामा परेको स्थानीयले बताएका छन् । 

उक्त नदीसँग जोडिएको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ को ठटिया खोलामा निर्माणाधीन अवस्थामा रहेको बाँध फुट्ने अवस्थामा पुगेको स्थानीयले प्रेम चन्द्र गुप्ताले बताए । 

त्यहाँ स्थानीय र सुरक्षाकर्मीले सिमेन्टको बोरामा माटो र बालुवा हालेर बाँध फुट्नबाट जोगाउने प्रयास गरिरहेका छन् । 

त्यसैगरी सुस्ता गाउँपालिका– ४ नर्सही बी ग्याप ठोकर नम्बर ६, ९, १०, ११ र सुस्ता– ५ को नेपाल बाँधको ठोकर नम्बर ३ र ४ मा पानीको बहाब अत्यधिक बढेको छ । जसले गर्दा ठोकरहरू फुट्ने खतरा बढेको छ । 

बाँध भत्किने खतरा रहेकाले यस भेगका रामनगर, पक्लिहवा, सक्कर दिनहीलगायत दर्जनौँ ठाउँमा डुबानको खतरा रहेकाे भूआर्जन सम्पर्क कार्यालय वाल्मीकिनगरका अधिकृत (लाइजन) तारासिंह थापाले बताए । 

त्यसैगरी पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५, ६ र ७ को रामपुर खडौना, मधवलिया, कुसौली, प्युटाहा, भुजहवा, गडौरी, कुर्थावल, प्रतापपुर– ३ सोमनी, बर्गदवा, नन्दपुर, प्रतापपुर– २ सेमरी, घोडाहालगायत ठाउँका हजारौँ बिघा धानबाली डुबानमा परेको सवराल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । 

त्यसैगरी सुस्ता गाउँपालिका– ५ सुस्ताका दुई सय ६५ घर डुबानमा परेको स्थानीय बासिन्दा रवीन्द्र जैसवालले बताए ।