मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १०:२७:००
Read Time : > 1 मिनेट
अर्थ

विश्व बैंकको १४ अर्ब सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १०:२७:००

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकको सहयोगमा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सञ्चालनमा ल्याएको छ । श्रममन्त्री रामेश्वर राय यादव र माल्दिभ्स नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सोमबार संयुक्त रूपमा कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । यस आयोजनाका लागि विश्व बैंकले १४ अर्ब (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको छ । आयोजनाको अवधि चार वर्षको हुनेछ । 

उक्त अवसरमा मन्त्री यादवले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनुपरेको सन्दर्भमा तीनै तहबाट आयोजनाको परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताए । आन्तरिक श्रम बजारमा रोजगारीका अवसरहरू विस्तार गर्दै बेरोजगारलाई रोजगारी उपलब्ध गराउने र श्रम बजारका आधारभूत सूचनाहरू एकीकृत गरी श्रमिक सूचना बैंकसहितको स्वचालित पद्धति सुरु गर्न रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिमा यस आयोजनाको महत्वपूर्ण योगदान रहने स्पष्ट पारे ।

समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक हदाद जर्भोसले आयोजनाले चालू आवमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत–सम्भार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलब्ध गराउने बताए । विश्व बैंकको सहयोग रणनीतिलाई प्रस्ट्याउँदै हदाद जर्भोसले बैंकले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न तत्पर रहेको बताए । 

नेपाल सरकार र विश्व बैंकबीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कुल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत–सम्भार तथा स्नरोन्नति गर्ने कार्यमार्फत रोजगारी सिर्जना खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । 

आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिएअनुरूप कुल लाभग्राहीमध्ये ६० महिला लाभान्वित हुनेछन् । स्थानीय तहका ७ सय ५३ रोजगार सेवाकेन्द्र सुदृढीकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ ।