मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०७:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

३८ दिनमा प्राकृतिक विपतबाट एक सय  ५३ को मृत्यु, ४३ बेपत्ता 

३० करोड २७ लाखबराबरको धनमाल क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ६ मंगलबार ०७:३७:००

मनसुन सुरु भएताका ३८ दिनमा प्राकृतिक विपतबाट देशभर एक सय ५३ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता छन् भने दुई सय सात घाइते भएका छन् । ३० करोड २७ लाखबराबरको धनमालमा क्षति भएको छ । 

यस वर्ष ३० जेठदेखि मनसुन सुरु भएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा धेरै एक सय ११ जनाको पहिरोबाट ज्यान गएको छ । बाढीमा परी मृत्यु हुने तीनजना छन् । बाँकीको चट्याङ, ढुंगाले किचेर, भिरबाट लडेर र सर्पको डसाइबाट मृत्यु भएको हो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अघिल्लो साताको तुलनामा वर्षाको अनुपात कम भए पनि पहिरो र बाढीको जोखिम भने अझ धेरै रहेको बताए । निरन्तरको वर्षाले जमिन गलेको तथा खोल्सा, खोला र नदीमा पानीको बहाव बढेकाले पहिरोको खतरा रहेको कार्यकारी अधिकृत पोखरेलले बताए । 

‘बाढी र पहिरोका कारण यस अवधिमा धेरैको ज्यान गयो । बेपत्ता हुने र घाइते हुनेको संख्या पनि त्यत्तिकै बढेको छ । यो दर अझै बढ्न सक्छ । किनकि जमिन गलेको छ । थोरै वर्षाले पनि त्यसलाई असर गर्छ । त्यसले क्षति बढाउन सक्ने भएकाले हामीले सबैलाई सचेत हुन भनेका छौँ,’ पोखरेलले भने ।

यी ठाउँमा खतरा 
प्राधिकरणका अनुसार निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ । कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पुर्‍याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् । उनीहरूलाई एसएमएसमार्फत पनि सचेत गराइएको छ । 

मेची, बिरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, सुनसरी, बुढी, त्रियुगा, माउली, गगान, खाँडो, रातु, चुरियामाई, लालबकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउलीलगायत खोलामा पनि बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । 

‘नारायणीमा त नौ दशमलव पाँच मिटरसम्म नदीको बहाव बढ्ने संकेत देखिएको छ । रौतहट भएर बग्ने लालबकैया नदी हिंस्रक भएर उत्रन सक्छ । यो नदी सबैभन्दा धेरै उर्लिएको छ । यस क्षेत्रमा स्थानीयलाई हामीले सजग रहन भनेका छौँ । सम्बन्धित जिल्लाका सिडिओले खतरा हुन सक्ने स्थानमा पुगेर अवलोकन गर्नुका साथै स्थानीयलाई सचेत गराएका छन्,’ कार्यकारी अधिकृत पोखरेलले भने । सम्भावित जोखिमबाट उद्धार गर्नका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवीलाई अलर्ट गरिएको प्राधिकरणले जनाएको छ ।