१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार ०५:१५:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

भत्काइएको चेपाङबस्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार ०५:१५:००

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले माडी–९ कुसुमखोलामा रहेको चेपाङबस्तीका आठ घर हात्ती लगाएर भत्काएका छन् भने दुई घरमा आगो लगाइदिएका छन् । विगत २३ वर्षदेखि सो स्थानमा बसोवास गर्दै आएका चेपाङ सुकुम्बासी हुन् र गाँसवासको खोजी गर्दै त्यता पुगेका हुन् । यसै पनि चेपाङहरू आफ्नै पुर्ख्यौली थलोमा समेत घरजग्गा दर्ता नगरिदिएकाले सरकारले निर्माण गरिदिएको सुकुम्बासी मानिन्छन् । त्यसमाथि उनीहरू राज्यबाट सीमान्तीकरणमा धकेलिँदा–धकेलिँदा स्रोत र पहुँचविहीन भएका छन् । अहिले जहाँ उनीहरू बसोवास गरिरहेका छन्, त्यो ठाउँलाई जंगली जनावरको आवाद क्षेत्र बनाइएको छ । सरकारले जनावरका लागि तोकेर आमोदप्रमोद क्षेत्र बनाइदिएको छ र उनीहरूको सुरक्षामा सेनासमेत परिचालन गरेको छ । तर, मानिसका हकमा भने सरकार त्यसको ठीकविपरीत उभिएको छ, अर्थात् सरकार उनीहरूको सामान्य जीविकाको जिम्मेवारी लिनसमेत अस्वीकार गरिरहेको छ । 

कुसुमखोलाकाण्ड नेकपाले गाएका गीतहरूको अपमान हो । तिनले देखाएका सपनाहरू धुवाँ बनेर उड्दै गरेको दृश्य हो । कुर्सी बचाउन सम्पूर्ण लज्जा त्यागेर ठोरीको मिथकीय महिमागान गाउन व्यस्त ओलीसरकारका लागि कुसुमखोलाले बिम्ब बनेर तर्साउनेछ

कुसुमखोलामा बसेका चेपाङ राज्यबाट जिम्मेवारी लिन अस्वीकार गरिएका ती नेपाली नागरिक हुन्, जसलाई निकुञ्जले जनावरको जमिनको साँधसीमा मिचेको भन्दै हात्ती लगाएर खेदेको छ । मध्य वर्षामा मानिसलाई सामान्य ओतबाट खेदिएको छ, वरपर हुर्केका र खान हुने वेला भएका मकै सर्वनाश गरिएका छन् र त्यसरी लखेटिएकाको गाँसवासको जिम्मेवारी कसैले पनि लिनुपरेको छैन । यसले वर्तमान सरकार र राज्यप्रणाली कसरी मानिसमाथि पीडा थोपरेर टिकेको छ भन्ने सन्देश त दिन्छ नै सँगसँगै निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाबीचको संघर्षका तीता कथा पनि उजागर गरेको छ । यो प्रकरणमा देखिने सबैभन्दा टिठलाग्दो पक्ष भने कम्युनिस्ट पार्टीको इतिहास र वर्तमानबीचको विरोधाभास हो । अहिलेको नेकपा सरकार ००६ सालमा पुष्पलालले स्थापना गरेको नेकपाको उत्तराधिकार प्राप्त पार्टीको सरकार हो । पार्टी स्थापनाका यी ७१ वर्षमा नेपालका कम्युनिस्टले आफ्नो राजनीतिको जनाधार नै यस्तै सुकुम्बासी बस्तीलाई बनाएका थिए र उनीहरूलाई मुक्तिको सपना देखाएका थिए । 

सुकुम्बासीको मुक्ति भन्नु नै घर बनाउने ठाउँ होस्, जसलाई आफ्नो भन्न पाइयोेस् । अलिकति खेती गर्ने जमिन होस्, जहाँ पसिना बगाएर पेट भर्न र परिवार पाल्न सकियोस् भन्ने हो । कम्युनिस्टले संघर्ष र आन्दोलनका समयमा यस्तै सीमान्त समुदायलाई आफ्नो सेल्टर बनाएका थिए । तिनीहरूलाई आन्दोलनमा सामेल हुने आह्वान गरेका थिए, र त्यहीँबाट सहिद उत्पादन गरेका थिए । यस्तो सपना तिनले दलितलाई बेचेका थिए, जनजातिलाई बेचेका थिए, थारू र मधेसीलाई बेचेका थिए । किसान र मजदुरलाई बेचेका थिए, युवा र महिलालाई बेचेका थिए । यिनै समूह र समुदायले आफ्ना वर्गीय र समूहगत हितको झन्डा सोचेर हँसिया–हथौडा भएको झन्डालाई सर्वस्व सुम्पेका थिए । त्यसैको बलमा उभिएका थिए आन्दोलनहरू र जितिएका थिए निर्वाचनहरू । तर, अहिले जब कम्युनिस्टहरू सत्तासीन भए अनि तिनले बिर्सन चाहेको समुदायमा यिनै सुकुम्बासी पर्न गए । दलित, महिला, आदिवासी र मधेसी पर्न गए । 

कुसुमखोलाकाण्ड नेकपाले गाएका गीतहरूको अपमान हो । तिनले देखाएका सपनाहरू धुवाँ बनेर उड्दै गरेको दृश्य हो । कुर्सी बचाउन सम्पूर्ण लज्जा त्यागेर ठोरीको मिथकीय महिमागान गाउन व्यस्त ओलीसरकारका लागि कुसुमखोलाले बिम्ब बनेर तर्साउनेछ । आफ्ना वचन र कर्मबीच विरोधाभास पालेर चलाइने सत्ता लोकतान्त्रिक, गणतन्त्रवादी या जनवादी हुनैसक्दैन । यो घटना नेकपा नेतृत्वको सरकारको जनविरोधी चरित्र देखाउने एउटा बिम्ब होे । निकुञ्जमार्फत संघीय सरकारले गरेको यो ज्यादतीबाट आफ्ना नागरिकलाई बचाउने दायित्व अब स्थानीय सरकारले लिनुपर्दैन ? पुष्पलालको ४२औँ स्मृति दिवसको सेरोफेरोमा भएको यो घटनाबाट नेकपा कार्यकर्ता आफ्नो पार्टीको इतिहास र आगतबीच देखिएका यी विरोधाभासबारे घोत्लिएलान् भनेर आशा मात्र गर्न सकिन्छ ।