
‘सरकार हाम्रो पनि होला, हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, बाटो मागेनौँ, अस्पताल मागेनौँ । हामी आफैँले झुप्रो बनाएको थियौँ । त्यही पनि आगो लगाइदियो । सरकार लाग्यो हजुर ! हाम्रो उठिबास लगायो ।’
कोरोना महामारी र प्राकृतिक विपत्तिले देश संकटमा छ । तर, चितवन कुसुमखोलाको चेपाङबस्तीमा यही वेला सरकार पनि लागेको छ । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएको छ । सरकारले झुप्रोमा आगो लगाइदिएपछि मध्यबर्खामा चेपाङ घरबारविहीन भएका छन् ।
टिकटक बनाउन खेतको हिलोमा हामफाल्ने प्रतिस्पर्धा चलेको वेला चेपाङ बस्तीका २० वर्षीय युवा दानबहादुर प्रजा भने दुनियाँको खेत जोत्दै र खन्दै हिँडेका थिए । ‘अहिले रोपाइँको सिजन थियो, कमाइ गर्ने वेला पनि यही हो । एक दिन नबिराई ठाउँठाउँमा गएर खेतमा कोदालो चलाएँ, महिना दिन लगाएर १० हजार कमाएको थिएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘घरसँगै त्यही पैसा पनि जल्यो, सबैभन्दा ठूलो सम्पत्ति नै त्यही थियो ।’
शनिबार निकुन्जको टोली आउँदा उनी घरमा थिएनन् । उनी फेरि अर्काको घरमा काममा गएका थिए । ‘घरमा बुबाआमा हुनुहुन्थ्यो । आगो लगाउनु पहिले अरू सामान त निकाल्नुभएछ, तर १० हजार रुपैयाँ र नागरिकता निकाल्ने मेसो पाउनुभएनछ,’ दानबहादुरले रुन्चे स्वरमा भने, ‘घरमा आगो लाग्यो रे भन्ने सुन्नासाथ दगुर्दै आएँ, तर म आइपुग्दा घर नै खरानी भइसकेको थियो, पैसासँगै नागरिकता पनि जलेछ । हिलोमा कोदालो चलाएर कमाएको हुँ ।’
नगद र नागरिकता मात्र होइन, निकुन्जको टोलीले उनीहरूको खेती पनि नष्ट गरिदिएको छ । ‘घर भत्काइदियो, आगो लगाइदियो । ससाना गरामा लगाएको मकै र धान पनि नष्ट गरिदियो, हाम्रो उठिबास लगायो,’ उनले भने ।
सरकारले उठिबास लगाइदिएपछि चेपाङहरू स्थानीय विद्यालयमा बस्दै आएका छन् । दानबहादुरसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काइएको थियो ।
कुसुमखोलाको चेपाङबस्तीमा १० परिवारको उठिबास लगाइएको छ । अरू परिवारलाई पनि एक साताभित्र बस्ती छाड्न निकुन्जले आदेश दिएको छ । तर, निकुन्जका वार्डेन नारायण रूपाखेतीले भने त्यस्तो धम्की दिएको, घर भत्काएको र झुप्रोमा आगो लगाएको विवरण गलत भएको दाबी गरेका थिए । पहिलो सूचना आउनासाथ उनले आइतबार नयाँ पत्रिकासँग भनेका थिए, ‘मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बनाइएका छाप्राहरू मात्र हटाएको हो । मान्छे बसेका घरहरूमा कुनै असर पुगेको छैन । यो बर्खामा कसैले मानिस बसेको घर भत्काउँछ ?’
चेपाङको बस्तीमा आगो लागेको भन्दै सांकेतिक तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ । गुगलबाट डाउनलोड गरेर पोस्ट गरिएका तस्बिरको भरमा हल्ला फैलाइएको भन्दै रूपाखेतीले त्यसको विश्वास नगर्न भनेका थिए । तर, सोमबार नयाँ पत्रिकाले घर भत्काइएको भिडियो र आगोले खरानी भएका भुप्राका तस्बिर प्राप्त गरेको छ । प्रमाणसहित प्रश्न गरेपछि भने निकुन्जले बोली फेरेको छ । कुसुमखोलाको अपरेसनमा गएका निकुन्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तले नयाँ पत्रिकासँग भने, ‘छाप्रा भत्काइएको हो, भत्काउँदा आगो पनि लाग्यो होला ।’ आगो लाग्दा उनीहरू चेपाङहरूको दुःखमा रमाइलो गरिरहेको दृश्य पनि भिडियोमा देख्न सकिन्छ ।
‘यस्तो जंगलमा हामी रहरले बसेका होइनौँ, यो बर्खाकोे वेला झुप्रो नभत्काइदिनुहोस्’ भन्दै चेपाङहरूले अनुरोध गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । तर, उनीहरूको दुःखमा मजाक उडाउँदै टोलीका सदस्य भन्दै छन्, ‘हामी पनि रहरले घर भत्काउन आएका होइनौँ, तर मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन, यस्तै हो ।’
उनीहरूको बस्ती नै यस्तो विकट ठाउँमा छ, जहाँबाट वडा कार्यालय आउन तीन घन्टा लाग्छ । गुनासो लिएर माडी नगरपालिका–९ को वडा कार्यालय आएका दानबहादुर र विष्णुहरि प्रजाले वडाध्यक्ष शिवहरि सुवेदीलाई आफूहरूमाथि भएको अत्याचारको बेलिबिस्तार लगाए ।
दुर्गम भएकाले ढिलो गरी जानकारी आएको वडाध्यक्ष सुवेदीले बताए । ‘त्यो ठाउँमा टेलिफोन पनि छैन । आउँदा पनि एक दर्जनभन्दा बढी खोला तर्नुपर्छ, बर्खामा सबै खोलामा बाढी आएको छ,’ वडाध्यक्ष सुवेदीले भने, ‘तर घरवासै उठेपछि उनीहरू ज्यानको बाजी लगाएर यहाँसम्म आएका हुन् । तर, पानी परिरहेको र बाढी उर्लिएकाले स्थलगत अध्ययनमा जान सकिएको छैन ।’
घरबारविहीन भएका विष्णुहरि प्रजाले निकुन्जले सधैँ सताउने गरेको बताए । ‘सरकार हाम्रो पनि होला, हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, बाटो मागेनौँ, अस्पताल मागेनौँ । हामी आफैँले झुप्रो बनाएको थियौँ । त्यही पनि आगो लगाइदियो । सरकार लाग्यो हजुर ! हाम्रो उठिबास लगायो,’ सुन्ने सबैलाई उनी दुःखेसो सुनाउँदै थिए ।
वडा कार्यालयमा जम्मा भएकासँग उनी भन्दै थिए, ‘कोरोना महामारी छ भन्छन्, बाढीपहिरोले मान्छेको बिजोग भएको छ । विपत् परे सरकारले राहत दिन्छ भन्छन्, तर हामीमाथि त सरकार आफैँ लाग्यो हजुर ! अब कहाँ जाने ?’
चेपाङ समुदाय कुुसुमखोला क्षेत्रमा ०५३ देखि बस्दै आएको हो । माडी नगरपालिकाका अनुसार धादिङ, मकवानपुरलगायत जिल्लाबाट आएका एक सय ६० परिवार त्यहाँ बसेका थिए । तर, ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार बस्ती छोडेर माडीकै विभिन्न ठाउँमा बसाइँ सरेका थिए । १५ परिवार भने अहिले पनि कुुसुमखोलामै बसिरहेको वडाध्यक्ष सुवेदी बताए ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले चेपाङका घर मात्रै भत्काउनु अत्याचार भएको बताउँछन् । सुकुमबासी बस्तीलाई व्यवस्थापन गर्ने नगरपालिकाको योजनामा निकुन्जले समस्या सिर्जना गर्दै आएको उनको आरोप छ । ‘कुसुमखोलाका सुकुमबासीलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा ९० वटा घर बनाउन लागेको थियो, तर निकुन्ज बाधक भयो,’ ढकालले भने । माडी–९ को राईटोलमा ४० घर बनाउँदै गर्दा १२ घरमा निकुन्जले जस्ता हाल्न नदिएको तथा माडी–७ को देवेन्द्रपुरमा ५० घर बनाउने तयारी गर्दा पनि निकुन्जले काम नै सुरु हुन नदिएको मेयर ढकालको आरोप छ ।
मध्यवर्ती क्षेत्रभित्रको बस्तीलाई उठाएर नयाँ घरमा सार्न खोज्दा पनि निकुञ्जले अवरोध गरेको मेयर ढकालले बताए । ‘माडीका हरेक क्षेत्र मध्यवर्ती क्षेत्रभित्र पर्छ, यहाँ ४२ सय घर छन् । कि त सबै भत्काउन सक्नुप¥यो, होइन भने चेपाङका घर मात्रै भत्काउने छुट कसैलाई छैन,’ उनले भने ।