Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण ५ सोमबार २०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वसाधारणलाई मास्क बाँड्दै बिर्तामोड प्रहरी

Read Time : < 1 मिनेट
२०७७ श्रावण ५ सोमबार २०:४४:००

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा मास्क नलगाई हिँड्नेलाई प्रहरीले मास्क बाँड्ने अभियान चलाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई मास्क वितरण अभियान सञ्चालन गरेको हो । मास्क नलगाई बजार क्षेत्रमा हिँड्नेलाई विभिन्न संघसंस्थासँग मिलेर मास्क दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । 

मास्क नलगाई हिँड्नेलाई सम्झाएर मास्क दिइने गरिएको उनले बताए । ‘मास्कले कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दिएर मास्क दिने गरिएका छ,’ उनले भने, ‘गृह मन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्नु भनेपछि यो अभियान चलाएका हौँ । कतिपयले चेतनाको अभावमा नलगाई हिँडेका हुन्छन् । त्यसकारण एकपटक जानकारी गराएर मास्क दिँदा उनीहरू सचेत हुन्छन् ।’ 

उनका अनुसार हालसम्म बिर्तामोड क्षेत्रमा करिब तीन हजार मास्क वितरण गरिएको छ । मास्क नलगाई हिँड्ने, मोटरसाइकल र चारपांग्रे सवारीमा हिँड्नेलाई मुक्तिचोकमा २० मिनेटसम्म ‘होल्ड गराई’ मास्क वितरणसँगै सम्झाई–बुझाई गर्ने गरिएको डिएसपी रिजालले बताए ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । यस्तो अवस्थामा मास्क नलगाई हिँड्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले जनचेतनासँगै मास्क वितरण अभियान चलाइएको उनले बताए ।