मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ श्रावण ४ आइतबार १२:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी कसरी बाँच्ने ? : जाजरकोट बारेकोटका पहिरोपीडित अझै खाद्यान्न सहयोगको आसमा

Read Time : > 1 मिनेट
२०७७ श्रावण ४ आइतबार १२:०९:००

गत शुक्रबारको पहिरोबाट थिलथिलो परेको जाजरकोटको बारेकोट गाउँपालिकाको विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा स्थानीय बाढीपीडित ठूलो समस्यामा पर्न थालेका छन् । 

बारेकोटमा तीनपटक हेलिकोप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीहरूले निराशा व्यक्त गरेका छन् । 

खाद्यान्न ढुवानीको आसमा बसेका पाँच सय विस्थापितहरू गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि दैनिक खाद्यान्न अभावमा पर्न थालेका हुन् । 

बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकोप्टरले केही खानेकुरा ल्याउला भनेर आस गरेकोमा उक्त आशा निराशामा बदलिएको बताए । 

‘उनले घर छोडेको हप्ता दिनभन्दा बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजारा चलायौँ । अब के खाने ? राहत आउला भन्ने आसमा थियौँ, तर अहिलेसम्म राहत पाइएन,’ उनले भने, ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ । बाँच्नका लागि पनि नखाई भएन, तर के खाने ? हेलिकोप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ ।’

पहिरो गएयता तीनपटक हेलिकोप्टर आएको, तर खाद्यान्न भने नल्याएको उनले बताए ।

गत २६ गतेदेखि स्थानीय पहिरोको जोखिम भएपछि स्थानीय कालिका प्राविमा बसेका छन् । विद्यालयको छाना चुहिने गरेको उनले बताए । 

बाढी पहिरोको त्रासले करिब एक हजार ५५ स्थानीय विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर, धेरै परिवारसँग भएको खाद्यान्न सकिँदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाइँदैन ।

किन्ने खाद्य पनि नपाइएपछि विस्थापितहरू भोकभोकै पर्न थालेको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् । 

बारेकोट गाँउपालिकामा उत्पादित अन्नले वर्ष दिनमा ६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल छैनन् ।मानिसहरू खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् । तर, खाद्य डिपो महिना दिनदेखि रित्तै हुँदा समस्या भएको हो ।

बर्सेनि खाद्यसंकट भइरहने जाजरकोटको बारेकाेटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । 

बारेकोटमा खाद्यसंकट दिनहुँ चुलिँदै गएको छ, तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको स्थानीयहरूले बताएका छन् । 

बारेकोटको खाद्यसंकट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालू आर्थिक वर्षमा थपसहित तीन हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । 

उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ । तर, आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी बिल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन् । 

एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्यसंकट परेको हो ।

‘गाउँमा खाद्यान्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?’ विस्थापित बारेकोट गाउँपालिका– ४ का देवराज बोहराले बताए । 

विस्थापित परिवारहरू विपन्न वर्गका छन् । लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन् । रोजगारीका अवसर छैनन् । त्यसमाथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्तीहरू छियाछिया परेका छन् । 

मानिसहरू कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । वर्षा पनि रोकिएको छैन । 

गाउँपालिकाकी उपाध्यक्ष शाहीले गाउँपालिका एक्लैको प्रयासबाट अहिलेको विपत् व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको बताइन् । 

गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो भने एकजना अझै बेपत्ता छन् ।