मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ४ आइतबार १२:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लामखुट्टेका कारण ननकोभिड संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ४ आइतबार १२:००:००

गर्मीयाममा लामखुट्टे सक्रिय हुन्छन् । केही वर्षयता तराईसँगै पहाडमा पनि लामखुट्टे बढेका छन् । सरसफाइ अभाव, स्वास्थ्य चेतनामा कमी, गरिबीलगायत कारणले यतिवेला सरुवा रोगको उच्च जोखिम रहन्छ । सात महिनायता कोरोना संक्रमणमा केन्द्रित रहँदा ननकोभिड संक्रमण बेवास्तामा परेको छ । 

वर्षायाममा लामखुट्टेबाट मलेरिया, डेंगु, पित्त ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोगको जोखिम हुन्छ । त्यसैले यतिवेला कोभिडसँगै अन्य संक्रमणबाट जोगिन सावधानी आवश्यक छ ।

ठाउँअनुसार फरक प्रजातिका लामखुट्टेले अलग–अलग संक्रमण फैलाइरहेका हुन्छन् । रोगी व्यक्तिको शरीरबाट लामखुट्टेले ल्याउने रोगका कीटाणु अर्कोमा सार्छन् । खोलाकिनारका बस्ती र सहरी इलाकामा यस्ता रोग चाँडो फैलिन्छन्।

मलेरिया

- एनाफिलिज नामक लामखुट्टेले मलेरिया सार्छ । मलेरियाको मुख्य कारण ‘प्यारासाइट प्लास्मोडियम’लाई पनि मानिन्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको बढी जोखिम समूह हुन् ।

- टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । समयमै उपचार नगरेमा ज्यानसमेत जान सक्छ ।

डेंगु

- लामखुट्टेको टोकाइबाट लाग्नेमध्ये यो सबैभन्दा घातक रोग हो । सुरुवाती चरणको डेंगु घरेलु उपचारबाटै निको हुन्छ । तर, दोस्रोपटक ज्वरो दोहोरियो भने जोखिमपूर्ण मानिन्छ ।

-यो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने लक्षण देखिन्छन् ।

जापानिज इन्सेफ्लाइटिस

- जापानिज इन्सेफ्लाइटिसले सीधा दिमागमा असर पार्छ । नसा र मेरुदण्डमा पनि असर पु¥याउने भएकाले निकै घातक मानिन्छ ।

- शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ । ज्वरो आउने, टाउको दुख्ने र आँखा रातो हुने समस्या हुन्छ । 

कसरी बच्ने ?

- लामखुट्टेको टोकाइबाट बच्न समुदायस्तरमै नियन्त्रणको प्रयास गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले प्रजनन गर्ने भएकाले त्यस्ता ठाउँ पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हरेक साता सफा गर्दै पानी बगाउनुपर्छ ।

- राति सुत्दा झुल प्रयोग गर्नुपर्छ । अहिले बजारमा लामखुट्टे मार्ने झुल पनि पाइन्छन् । लामखुट्टे छिर्न नदिन झ्याल, ढोकामा जाली प्रयोग गर्न सकिन्छ ।

- बजारमा लामखुट्टेको टोकाइबाट बचाउने एक प्रकारको लोसन पनि पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउनुपर्छ ।