मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २ शुक्रबार १५:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा, चार करोडको  म्युजिकल फाउन्टेन फालियो

Read Time : > 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार १५:५४:००

रानीपोखरी पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । पोखरीमा पानी भर्ने काम सुरु भएसँगै रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो । रानीपोखरी पुननिर्माणको काम सम्पन्न हुँदै गर्दा  विगतमा रानीपोखरीमा राखिएको म्युजिकलसहितको फाउन्टेन भने कवाडी अवस्थामा पुगेको छ ।

१२ वैशाख ०७२ सालमा भूकम्प गएपछि रानीपोखरी पुनर्निर्माणको विषयमा निकै विवाद भयो । बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग र पोखरीको निर्माण महानगरले गर्ने भनिए पनि  ऐतिहासिक संरचना बिगार्ने काम भएको भन्दै जनस्तरबाट विरोध भएपछि पुनर्निर्माण  प्राधिकरणलाई जिम्मा दिएको थियो  । 

महानगरले पुनर्निर्माणको क्रममा माछा झिकेर कमलपोखरीमा सारेको  थियो । माछा निकाल्ने क्रममा नै महानगरले उक्त फाउन्टेन पनि निकालेर रानीपोखरीको डिलमा राखेको थियो । त्यसपछि बेवास्ता हुँदै आएको फाउन्टेनको कसैले वास्ता नगर्दा चार वर्षदेखि काम नलाग्ने अवस्थामा पुगेको हो । 

रानीपोखरीबाट झिक्दै गर्दा केही बिग्रिएको भए पनि बनाउन सकिने थियो । तर, महानगरकै लापरबाहीका  कारण त्यत्तिकै छाडिँदा झनै काम नलाग्ने अवस्थामा पुगेको महानगरका भौतिक पूर्वधार महाशाखाका पूर्व एक अधिकारी बताउँछन् ।

हाल फाउन्टेन खिया लागेर काम नलाग्ने भएको छ । पार्टपुर्जाहरू कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । जानकारहरूका अनुसार सुरुवाती वेलामा उक्त फाउन्टेनमा बत्ती बल्नुका साथै म्युजिकसहितको धुन बज्ने गर्दथ्यो ।

यसरी राखिएको थियो रानीपोखरीमा म्युजिकल फाउन्टेन
नेपालमा १८औँ सार्क सम्मेलनको समयमा  काठमाडौं उपत्यकालाई सौन्दर्यकरण गर्ने भन्दै काठमाडौं महानगरपालिकाले  सहरमा बोटबिरुवा रोप्नुका साथै रानीपोखरीमा पनि  चार करोड रुपैयाँ खर्चेर आकर्षण बनाउने भन्दै म्युजिकल फाउन्टेन राखिएको थियो ।

भारतबाट खरिद गरिएको सो म्युजिकल फाउन्टेनमा भारतीय प्राविधिकसहितको टोलीले जडान गरेकाे थियाे । उक्त फाउन्टेन ३० फिटसम्म माथि फाल्ने गरेको जानकारहरू बताउँछन् । 

हाल भने बिग्रिएर असरल्ल छाडिएको फाउन्टेनलाई पुनर्निर्माण प्राधिकरणले हटाउनका लागि महानगरपालिकालाई पटकपटक अनुरोध गर्दै आएको  पुनर्निर्माण प्राधिकरणको तर्फबाट जिम्मा पाएका सम्पदाविद् राजु मानन्धर बताउँछन् । 

‘हटाउनका लागि अनुरोध गरिरहेका छौँ । अहिलेसम्म हटाइएको छैन छिटै हटाउनका लागि भनिरहेका छौँ,’ मानन्धरले भने ।  महानगरपालिकाले कुनै एउटा निश्चित ठाउँमा लगेर राख्ने  त्यसका लागि  उपयुक्त ठाउँ खोजिरहेको महानगरपालिकाका  प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए  ।

पानीकाे फाेहोरा माथिसम्म फाल्ने भएकाले फाउन्टेनमा बालुवा पस्ने समस्या हुनुका साथै बिग्रिन पुगेको  महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।
‘संरक्षण नगरेको होइन संरक्षण गर्दागर्दै पनि बिग्रिन पुगेको हो । मेसिनमा लेउ लाग्ने र जमिनको पानीबाट बालुवा निस्कने भएका कारण सफा गर्नका निकालेको थियाै‌ँ । त्यसपछि बिग्रिन पुगेको हो,’ डंगोलले भने ।