मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १ बिहीबार १८:२७:००
Read Time : > 1 मिनेट
प्रदेश

बागमती प्रदेशको बेरुजु सबैभन्दा कम

Read Time : > 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १८:२७:००

महालेखापरीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशको बेरुजु सबैभन्दा कम देखिएको छ । आर्थिक वर्ष ०७५/७६ को प्रतिवेदनमा बागमती प्रदेशको बेरुजु रकम सबैभन्दा कम भएको उल्लेख छ । बागमती प्रदेश सरकारमातहतको एक सय ९१ कार्यालयको ३९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ लेखा परीक्षण गरिएको रकममध्ये ९८ करोड ७३ लाख अर्थात् एक दशमलव २९ प्रतिशत बेरुजु देखिएको हो । 

प्रतिशतको आधारमा सात प्रदेशको तुलनामा दुई दशमलव पाँच प्रतिशत बेरुजु देखिएको उल्लेख गर्दै महालेखाले बागमतीमा सबैभन्दा कम बेरुजु रहेको दाबी गरेको छ । प्रदेश २ को बेरुजु सबैभन्दा बढी अर्थात् चार दशमलव ९४ रहेको छ । 

स्थानीय तहमा सात अर्ब बेरुजु
बागमती प्रदेशका स्थानीय तहहरूको बेरुजु सात अर्ब ६२ करोड २७ लाख देखिएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार एक सय १८ स्थानीय तहले एक खर्ब ५६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँको लेखा परीक्षण गराएकोमध्ये सात अर्ब ६२ करोड २७ लाख अर्थात् चार दशमलव ७७ प्रतिशत बेरुजु देखिएको हो ।
बागमतीको एक स्थानीय तह रामेछापको लिखु गाउँपालिकाले लेखा परीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ । बागमतीको एक मात्र उपमहानगरपालिका हेटौँडाले तीन अर्ब ५३ करोड ९८ लाखको लेखा परीक्षण गराएकोमध्ये १० करोड ४९ लाख अर्थात् दुई दशमलव ९६ प्रतिशत बेरुजु देखिएको छ ।
यसैगरी बागमतीमा रहेको ४१ वटा नगरपालिकाको ६६ अर्ब ५१ करोड ९३ लाख रुपैयाँको लेखा परीक्षणमध्ये दुई अर्ब ५६ करोड ७१ लाख अर्थात् तीन दशमलव ८६ प्रतिशत बेरुजु भएको महालेखाले उल्लेख गरेको छ । ७३ वटा गाउँपालिकाको ५८ अर्ब आठ करोड ५० लाख रुपैयाँको लेखा परीक्षण गरिएकोमध्ये दुई अर्ब २४ करोड ४४ लाख अर्थात् तीन दशमलव ८६ प्रतिशत बेरुजु देखिएको छ ।

ललितपुर महानगरको बेरुजु सबैभन्दा धेरै 
बागमती प्रदेशमा पर्ने महानगरहरू काठमाडौं, भरतपुरकोे तुलनामा ललितपुर महानगरपालिकाको बेरुजु सबैभन्दा धेरै भएको छ । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार ललितपुरको ६ अर्ब २८ करोड ९५ लाख रुपैयाँको लेखा परीक्षण गरिएकोमध्ये एक अर्ब ५३ करोड ६२ लाख अर्थात् १४ दशमलव ३ प्रतिशत बेरुजु देखिएको छ । यो काठमाडौं र भक्तपुरभन्दा बढी रहेको महालेखाले उल्लेख गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाको १५ अर्ब २० करोड ३२ लाख रुपैयाँको लेखा परीक्षणमध्ये दुई अर्ब ८७ करोड ३९ लाख अर्थात् नौ दशमलव ४७ प्रतिशत बेरुजु देखिएको छ । भरतपुर महानगरको भने तीन दशमलव ३५ प्रतिशत रकम बेरुजु रहेको उल्लेख छ । भरतपुरको ६ अर्ब ६९ करोड ८४ लाखको लेखा परीक्षण गरिएकोमध्ये ९७ करोड ६ लाख रकम बेजुरु देखिएको हो ।