मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नेकपा स्थायी कमिटी बैठक । फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार २१:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपालनिकट १७ स्थायी कमिटी सदस्यको निष्कर्ष : विवादको समाधान अध्यक्षबीचको लेनदेनबाट होइन, विधिबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार २१:२९:००

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच संवाद जारी रहेकै वेला १७ जना स्थायी कमिटी सदस्यको अनौपचारिक भेलाले पार्टीभित्रको अहिलेको समस्याको समाधान विधि र प्रक्रियाभित्रबाट खोज्नुपर्ने निष्कर्ष निकालेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष सिंहदरबारमा भएको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरूको भेलाले त्यस्तो निष्कर्ष निकालेको हो ।

‘अहिले अध्यक्ष केपी ओली र प्रचण्डबीचको विवादको प्रसंगै होइन, पार्टी र सरकार ठीक ढंगले विचार, विधि र प्रक्रियाका आधारमा चल्यो कि चलेन भन्ने मुख्य विषय हो,’ छलफलमा सहभागी नेता गोकर्ण विष्टले नयाँ पत्रिकासँग भने, ‘हाम्रो मुख्य लडाइँ गलत प्रवृत्ति र चिन्तनका विरुद्ध पार्टी र आन्दोलनलाई सबल बनाएर लैजाने लडाइँ हो, दुई अध्यक्षको लेनदेन, मेल वा बेमेल वा अन्तरविरोध समाधानका आधारमा समाधान हुने कुरै होइन भन्नेमा सबैको साझा मत छ ।’

छलफलमा गत १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई हस्ताक्षर बुझाउने समूहका २० सदस्यीय समूहका १७ जना सहभागी थिए । बैठक माग गर्ने नेताहरूमा पूर्वमाओवादी समूहका गणेश शाह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल र हरिबोलप्रसाद गजुरेलसहित ११ जना थिए । त्यस्तै, पूर्वएमाले समूहभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्रप्रसाद पाण्डेसहित नौजना थिए ।

बुधबारको भेलामा भने उपत्यकाबाहिर रहेका सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनाल सहभागी थिएनन् ।