१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ३१ बुधबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुसबापत पाँच लाख रुपैयाँ लिएका मेयरका छोरासहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार १९:२४:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको घुस रकमसहित सिराहा कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरासहित दुईजनालाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले बुधबार दिउँसो मेयर मण्डलका ३५ वर्षीय छोरा सन्तकुमार मण्डल र ३३ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो ।

लहानमा सेवाग्राहीसँग कमिसनबापत नगद पाँच लाख रुपैयाँ बुझेर कल्याणपुर फर्किने क्रममा लहान नगरपालिका– २२ राजदेवी चोकबाट उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । कल्याणपुर नगरपालिका क्षेत्रमा आरसिसी ढलान सडकको डिपिआर तयार गर्दा छुट्याइएको बजेटमध्ये डिपिआर बनाउने फर्मसँग कमिसनबापतकाे रकम बुझेर फर्किंदै गर्दा उनीहरू पक्राउ परेका हुन् । डिपिआर बनाउन कुन फर्म संलग्न थियो र कुन सडकको आरसिसी ढलानको डिपिआर हो भन्ने खुलेको छैन । घुस रकमसहित पक्राउ गरिएका दुवैजनालाई आयोगको बर्दिवासस्थित कार्यालय लगिएको छ । 

करिब दुई वर्ष पहिले पनि कल्याणपुर नगरका प्रमुख प्रशासकीय अधिकृत वासुदेव यादव र लेखापाल जयराम चौधरीलाई अख्तियारले २० हजार रुपैयाँसहित नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।