मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १८:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले वातावरण सहज बनाए लामो दूरीका सवारीसाधन पनि चलाउन सकिने व्यवसायीको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १८:२२:००

यातायात व्यवसायीहरूले सरकारले वातावरण सहज बनाए लामो दूरीको सवारीसाधन पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा बुधबार सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरूले यस्तो प्रस्ताव गरेका हुन् ।

आफूहरूसँग परामर्श नै नगरी सरकारले यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरूले विभागमा भएको सर्वपक्षीय छलफलमा भने यस्तो प्रस्ताव गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दूरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरेको बताए । व्यवसायीको मागप्रति सरकार सकारात्मक बनी स्वस्थ यात्राको वातावरण बनाए लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न सकिने प्रस्ताव गरेको उनको भनाइ छ । 

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी प्रोटोकलका विषयमा पनि छलफल भएको बताए । कोरोनाको संक्रमणबाट यात्रुलाई जोगाएर आवागमन सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उनले बताए । स्वास्थ्य सुरक्षाका सबै पक्षलाई ध्यान दिँदै कुन निकायले के गर्ने भन्ने जिम्मेवारीसमेत तोकिएको उनले बताए । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । सरोकारवालासँगको बृहत् छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उनले बताए । ‘एक्सन प्लान’मा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने सन्दर्भमा जिम्मेवारीसमेत तोकिएको र त्यो जिम्मेवारीको ‘डिटेल वर्क आउट’ गर्दै अर्को बैठकमा निष्कर्ष निस्किने बताए । 

विभागमा भएको छलफलमा यातायात कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी, उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधि, ट्रफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी थिए । सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरे पनि पूर्ण रूपमा अझै यातायात सञ्चालन हुन सकेका छैनन् । व्यवसायीहरूले विभिन्न माग राख्दै यथास्थितिमा सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन् ।