१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १२:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : ओली–प्रचण्ड छलफल सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १२:०६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विषयकेन्द्रित छलफल हुने स्रोतले जनाएको छ । दुवै अध्यक्षबीच गत बुधबारयता ६ दिनपछि मंगलबार छलफल भएको थियो । उक्त वार्ता एजेन्डाकेन्द्रित थिएन । 

गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । 

गत बिहीबार छलफल गर्ने गरी छुटेका दुई अध्यक्षको सहमतिमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो । 

बाढीपहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता–कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रित रहन निर्देशन दिने र यस अवधिमा पार्टीभित्र देखिएका समस्या समाधानमा सहमतिको प्रयास गर्ने समझदारी भए पनि ओली–प्रचण्डबीच ६ दिनपछि मात्र छलफल भएको हो । 

यसैबीचमा चितवन पुगेका प्रचण्डले आफू र प्रधानमन्त्री ओलीलाई उचाल्ने शक्ति पहिचान भइसकेको भन्दै सहमति हुन सक्ने संकेत गरेका थिए । 

लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवाद वार्ता र संवादबाटै समाधान हुने अभिव्यक्ति दिएका थिए । 

यससँगै नेकपाको आन्तरिक संकट सहमतिमै टुंगिने नेताहरूले दाबी गर्दै आए पनि नयाँ सहमति भने भइसकेको छैन ।