Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
एजेन्सी काठमाडौं
२०७७ असार ३१ बुधबार ०७:४६:००
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ ले ठूला सहरमा घरभाडा घट्यो, सानामा बढ्यो

एजेन्सी काठमाडौं
२०७७ असार ३१ बुधबार ०७:४६:००

उच्च आबादी भएका ठूला महानगरका घर एवं फ्ल्याट भाडामा पनि महाव्याधिको प्रभाव देखिन थालेको छ । कोभिड संकटका कारण ठूला सहरमा घरभाडा केही सस्तो भएको छ भने खाली फ्ल्याट एवं घरको संख्यामा पनि बढेको छ । अमेरिकास्थित घर एवं फ्ल्याट अनलाइन बुकिङ सेवाप्रदायक ‘जुम्पर’ले अमेरिकाभर भाडामा दिनका लागि सूचीकृत गरिएका १० लाख घर एवं फ्ल्याटको भाडादरको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो । त्यसैगरी, रियल इस्टेट कन्सल्ट्यान्ट डग्लस इलिम्यान र मिलर स्यामुअलको अध्ययनले पनि उस्तै चित्र देखाएको छ । 

केही दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोषले यो कोभिड–१९ संकट रूपान्तरणकारी हुने दाबी गरेको थियो । ठूला सहरबाट मानिसहरूको पलायन र साना सहरहरूमा बढ्दो चहलपहलले यस्तै रूपान्तरणको पुष्टि गर्छ । 

जुम्परले गत जुनमा न्युयोर्कलगायतका जनघनत्व बढी भएका ठूला सहरमा भाडा केही सस्तिएको पाएको छ । खासगरी ‘वान–बेडरुम’ र ‘टु–बेडरुम’का फ्ल्याटको भाडामा प्रभाव परेको देखिन्छ । न्युयोर्क सहरमा न्यून आय भएकाहरूको रोजाइमा पर्ने एक वा दुई बेडरुम भएका फ्ल्याटको भाडा ५ प्रतिशतसम्म सस्तो भएको छ।

रोजगारी गुमेर मानिसहरू कम महँगा स्थान र साना सहरतर्फ पलायन हुन थालेपछि ठूला सहरमा घर एवं फ्ल्याटको माग घट्ता भाडादरमा दबाब परेको हो । महाव्याधि लम्बिँदै जाँदा मानिसहरू महँगो ठाउँबाट तुलनात्क रूपले सस्तो स्थानमा स्थानान्तरण हुन थालेकाले ठूला सहरको नजिकको र सस्तो स्थानमा भने घर एवं फ्ल्याटको माग बढ्न थालेको छ । रोढ–आइल्यान्ड राज्यको राजधानी प्रोभिडेन्स र क्यालिफोर्निया राज्यको राजधानी साक्रामान्तोजस्ता तुलनात्मक रूपले कम आबादी भएका सहरमा भाडादर ५ प्रतिशतसम्मले बढेको पाइएको छ । तर, बोस्ट, सनफ्रान्सिस्को र न्युयोर्कजस्ता महँगा सहरको माग भने ओरालो लागेको छ ।

सबैभन्दा बढी सनफ्रान्सिस्कोमा एक बेडरुम फ्ल्याटको भाडा लगभग १२ प्रतिशत र दुई बेडरुमको १० प्रतिशतसम्म ओरालिएको छ । तर, सबै क्षेत्र खुल्न थालेसँगै मागमा सुधार देखिँदै गएको छ । 

लेक्सिङटनमा एक बेडरुम फ्ल्याटको भाडा ५ दशमलव ६ ले बढेर ७ सय ५० डलर प्रतिमहिना पुुगेको छ । एंकोरेज सहरमा ५.५ प्रतिशत र अगुस्टामा ५.३ प्रतिशतले बढेको छ । 

त्यसैगरी, म्यानहटनमा खाली फ्ल्याटहरूको संख्या एक दशककै उच्च बनेको फोब्र्सले लेखेको छ । अहिले म्यानहटनमा ४ प्रतिशत फ्ल्याट खाली छन् । जुन महिनामा यहाँको औसत भाडादरमा पनि ६ दशमलव ६ प्रतिशतले कमी आएको छ । त्यसैगरी, क्विन्स सहरको भाडा ८ दशमलव २ प्रतिशतले ओरालिएको छ । न्युयोर्कमा साना फ्ल्याटहरूको भाडादर ५ प्रतिशतसम्मले सस्तिएको छ भने खाली फ्ल्याटहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।