मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७७ असार ३१ बुधबार ०७:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीमा तरलता बढ्यो, लगानी घट्यो

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७७ असार ३१ बुधबार ०७:३३:००

कोरोना भाइरस संक्रमणका कारण नेपालको सहकारी क्षेत्रमा तरलता वृद्धि भए पनि समग्र क्षेत्र ठप्प हुँदा लगानी विस्तार भने घटेको छ । नेपाल सहकारी विभागले कोभिड–१९ ले सहकारी क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अध्ययनअनुसार सहकारी क्षेत्रको कुल बचत संकलन ८ दशमलव ६३ प्रतिशतले बढेको देखिएको छ । यसले तरलता २ दशमलव ७५ प्रतिशतले बढेको छ । त्यसैगरी, कुल सम्पत्ति पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भए तापनि ऋण लगानी झन्डै २ प्रतिशतले कमी आएको देखिन्छ ।

बन्दाबन्दीका कारणले नेपालमा लगानीको वातावरण बिग्रेको, निर्माण क्षेत्रलगायत सेवाको क्षेत्र पनि सुस्ताएको र आयात–निर्यातमा पनि कमी आएको अध्ययनमा उल्लेख छ । तसर्थ, समग्र आपूर्ति सञ्जालमा प्रतिकूल प्रभाव परेको अवस्थामा पुरानो ऋण फिर्ता भएको र तुलनात्मक रूपमा बढी ब्याजको आशाले सहकारीमा बचत रकम बढेको विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए । 

बचत तथा ऋण सहकारीको ऋण लगानी ३ प्रतिशतले घट्यो 
बचत तथा ऋण सहकारी संस्थाहरूको ऋण लगानी २ दशमलव ८ प्रतिशतले कमी आएको छ । समग्रमा यो समूहको जम्मा बचत रकम १ दशमलव ६ प्रतिशतले र तरलता १ प्रतिशतले वृद्धि भए पनि ऋण लगानी भने घटेको छ । बचत र ऋणको अनुपात करिब ४ प्रतिशतले घटेको छ । समग्रमा कुल सम्पत्ति शून्य दशमलव ५४ प्रतिशतले घटेको देखिएको छ । बन्दाबन्दीले समग्रतामा वित्तीय कारोबारमा संकुचन आएको मान्न सकिने विभागका रजिस्ट्रार डा. पाण्डेले बताए । यसले केही हदसम्म राज्यको उत्पादन र सेवा क्षेत्रमा असर पारी पुँजी परिचालनमा पनि नकारात्मक प्रभाव पारेको उनले बताए ।

बहुप्रकृतिको कारोबार गर्ने गरी स्थापना भएका बहुउद्देश्यीय संस्थाहरूको बचत ऋणात्मक नै देखिएको छ । समग्रतामा यस अवधिमा कुल सम्पत्तिमा शून्य दशमलव ५५ र तरलतामा १ प्रतिशतले वृद्धि भएको छ । जम्मा बचत संकलन भने करिब १ दशमलव ५ प्रतिशतले बढेको छ । बन्दाबन्दीका कारणले लगानीको अवसर बढ्न नसक्दा लगानीमा १ दशमलव ६४ प्रतिशतले कमी आएको छ । 

केन्द्रीय संघतर्फ ३ प्रतिशत घट्यो लगानी
अध्ययनअनुसार केन्द्रीय संघतर्फ ऋण लगानी करिब ३ प्रतिशतले खुम्चिएको छ । यो समूहतर्फ तरलता भने ८ प्रतिशतले र कुल सम्पत्ति झन्डै १३ प्रतिशतले बढेको छ । त्यसैगरी, जम्मा बचत करिब १५ प्रतिशतले बढेको पाइए पनि ऋण तथा बचतको अनुपात भने १० प्रतिशतले घटेको देखिन्छ । अध्ययनअनुसार बन्दाबन्दीको समयमा दुग्ध संकलन अर्थात्, खरिद र बिक्री दुवै कारोबार बढेको पाइएको छ । दुग्ध पदार्थको खरिद (परिमाणगत) २३ प्रतिशतले र बिक्री २४ दशमवल ९ प्रतिशतले बढेको छ । कृषि तथा दुग्ध संस्थानको तथ्याकले संस्था सदस्य केन्द्रित भई व्यवस्थापकीय पक्षलाई समेत ध्यान दिई सञ्चालन गरेमा कुनै समस्या नहुने विभागका रजिस्ट्रार डा. पाण्डेले बताए ।

सहकारी संस्था आन्तरिक ऋणको नयाँ स्रोत बन्न सक्ने
सहकारी संस्थाहरू आन्तरिक ऋणको नयाँ स्रोत बन्न सक्ने देखिएको छ । सरकारलाई सञ्चालन खर्चको कमी भइरहेको अवस्थामा सहकारी क्षेत्रमा थुप्रिएको बचत संकलन आन्तरिक ऋणका रूपमा प्रयोग गर्न सकिने विभागका रजिस्ट्रार डा. पाण्डेले बताए । त्यस्तै, बन्दाबन्दीका कारणले घाटामा गएका वाणिज्य बैंकका शाखाहरूको विकल्पमा सहकारी संस्थाहरूलाई प्रवद्र्धन गर्न सकिने विभागले सुझाब दिएको छ ।  

विशेष गरी काठमाडौं उपत्यकाभित्र रहेका बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू बन्दाबन्दीले बढी प्रभावित भएको अध्ययनले देखाएको छ । त्यसमाथि बन्दाबन्दी आंशिक खुकुलो भएपश्चात् संस्थामा लगानीका लागि स्रोतको कमी र तरलताको अभाव हुने देखिएको छ । सहकारी ऐनमा भएको व्यवस्थाका अतिरिक्त अलग्गै राष्ट्रियस्तरमा जोखिम तथा तरलता व्यवस्थापन कोषको खाँचो देखिन्छ । यसका लागि प्रदेशस्तर र स्थानीय तहमा पनि राख्ने प्रबन्ध हुनुपर्ने देखिन्छ ।