१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असार ३१ बुधबार ०६:०४:००
Read Time : > 6 मिनेट
फिचर प्रिन्ट संस्करण

महिलालाई किन घुँडा टेकाउन खोज्छ समाज ?

Read Time : > 6 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार ३१ बुधबार ०६:०४:००

प्रसंग–१

अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वार्तामा अभिनेता राजेश हमालको प्रसंग आएपछि भनिन्, ‘उहाँ महानायक हुनुहुन्छ र ? बलिउडमा अमिताभ बच्चन त (फिल्म) खेलिरहनुभएको छ । त्यस्तो व्यक्तिले चलचित्र उद्योगलाई हाँक्नुपर्छ ।’ उनले हमाल चलचित्र उद्योगको खम्बा र राम्रो अभिनेता भएको पनि बताएकी थिइन् । अन्तर्वार्ता सार्वजनिक भएपछि हमालका प्रशंसक निरौलामाथि खनिए । ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भन्ने वाक्यांशको ‘भिडियो क्लिप’ सेयर गर्दै उनको चौतर्फी आलोचना सुरु भयो । उनको व्यक्तिगत जीवन र चरित्रमाथि आक्षेप लगाइयो । सडकमा ल्याएर सामूहिक बलात्कार गर्नेसम्मको धम्की दिइयो ।

आलोचना मत्थर बनाउन उनले सामाजिक सञ्जालबाटै माफी मागिन् । ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहनुहुनेछ । तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम लगाउन सक्नुपर्छ । नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान् नै बनाउने पक्षमा म थिइनँ र छैन पनि । तथापि, मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा उहाँका फ्यानहरूसँग माफी माग्छु ।’ माफी मागेपछि पनि सामाजिक सञ्जालमा उनीविरुद्ध प्रहार रोकिएन । उनको व्यक्तिगत जीवन र पेसामै धक्का पुर्‍याउने हिसाबबाट अहिलेसम्म पनि निरन्तर प्रहार भइरहेको छ ।

हमालको महानायकत्वको रक्षा गर्नेहरूले देशको सार्वभौम संविधानको अपमान गरे । हमाललाई महानायक मान्न पाइन्छ । तर, मान्दिनँ भन्न पनि पाइन्छ । संविधानको धारा (१७) उपधारा (२) ले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । त्यसका बावजुद निरौलालाई जुन भिडले लखेटिरहेको छ, त्यसलाई अभिनेता हमालले चाहेको भए नियन्त्रण गर्न सक्थे । तर, आफ्नो प्रसंगलाई लिएर एक महिलामाथि सामाजिक सञ्जालमार्फत हिंसा भइरहँदा हमाल त्यसैलाई सहमति दिएजसरी लामो समय मौन बसे ।

लेखक सरिता तिवारीको विश्लेषणमा यसबाट हमालमा महानायकत्वको सिंहासनप्रति अहम् झल्किन्छ । ‘मलाई कहाँ प्रश्न गर्ने ? मेरो छुट्टै विशेषण छ’ भन्ने धारणाका कारण उनी मौन रहेको अनुमान तिवारीको छ । भन्छिन्, ‘मेरोबारेमा पब्लिकले भन्ने हो । उसले (दीपा) निम्त्याएको कुरा हो, उसैले झेलोस् भन्ने पनि होला ।’ तर, आफ्नो मौनताले हिंसा जन्माएको पाटोलाई हमालले नजरअन्दाज गरिरहे । ‘महानायक’ भन्ने कुनै वैधानिक पद पाएका पनि होइनन्, उनले ।

अभिनेता हमालले अहिलेसम्म कुनै सामाजिक मुद्दामा बोलेको सुनिएको छैन । दलित र महिलाको विषयमा पनि अहिलेसम्म उनको विचार आएको छैन । जबकि, बलिउडमा कलाकारले आफ्नो विचार खुलेर सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका हुन्छन् । नसिरुद्दिन शाह, सबाना आजमीलगायत कलाकार बोलिरहेकै हुन्छन् । तर, नेपाली कलाकार सामाजिक विषयमा उभिनै नसकेको निर्देशक दीपेन्द्र लामा बताउँछन् । भन्छन्, ‘अहिले जुन विषय बाहिर आइरहेको छ, त्यसमाथि उहाँले बोल्दा उहाँलाई नै फाइदा हो । तर, नबोलेर उहाँ आफैं घाटामा गइरहनुभएको छ ।’

मंगलबार राति मात्र एक भिडियो क्लिप सार्वजनिक गर्दै हमालले मानवताको पाटो नबिर्सिन आफ्ना प्रशंसकहरूलाई आग्रह गरेका छन् । ‘एउटा व्यक्तिले पेशागत हिसाबले होस् या आफ्नो कुनै विशेष इन्ट्रेन्स्टले लक्षित भएर किन नहोस्, सार्वजनिक स्थलमा कुनै अभिव्यक्ति दिनु हुन्छ भने एक्कासी, झट्ट यस्ता प्रतिक्रिया दिने, जसले त्यस व्यक्तिको आँच आओस्, उसको मानवतामा आघात पुगोस्, उसको मानवतामा चोट लागोस्, त्यस्तो कार्य गर्नु सही होला र ?’ उनले भनेका छन्, ‘यस्ता अभिव्यक्तिलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अगाडि बढिरहने सहिष्णुता ममा छ । र, त्यो सहिष्णुता दर्शक र जनसमुदायले दिएको ऊर्जाबाटै प्राप्त भएको हो । दर्शक र जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, फराकिलो भएर, बृहत् चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट कसैको मानवतामा आँच नपुग्ने गरी आफ्ना अभिव्यक्तिहरू प्रकट गरौँ ।’

प्रसंग–२

जनता समाजवादी पार्टीकी नेत्री सरिता गिरीलाई सांसद पद र पार्टीबाटै हटाइएकोप्रति राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखिन् । ‘गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनका आधारमा कारबाही गरी निष्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ,’ २३ असारमा उनले ट्विट गरिन्, ‘संसारमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यताविपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्छु ।’

नेत्री गिरीलाई सीमा विवादको विषयमा बोलेका आधारमा पार्टीले सांसद पद र पार्टीबाटै हटाएको थियो । संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता सम्झाउँदै अन्सारीले निर्णय फिर्ता लिन जनता समाजवादी पार्टीलाई आग्रह गरेकी थिइन् । फरक मत राखेकै आधारमा गिरीलाई कारबाही गरिएकामा उनको आपत्ति थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता अन्सारीविरुद्ध खनिए । अन्सारीलाई अनेक गालीगलौज गरियो ।

त्यसको भोलिपल्ट उनले ट्विट गरिन्, ‘महिला राजनीतिकर्मी वा पदाधिकारीप्रति पितृसत्तात्मक समाज अनुदार छ । त्यसको अभिव्यक्तिमा महिलालाई होच्याउने, गिज्याउने, तर्साउने, असभ्य र अश्लील टिप्पणी गर्नेदेखि लिएर अनुदार नागरिकता कानुनसम्म फैलिएको हुन्छ ।’ अन्सारीको आलोचना सामाजिक सञ्जालमा सीमित रहेन, उनी सदस्य रहेको मानवअधिकार आयोगले नै विज्ञप्ति निकाल्यो । अध्यक्ष अनुपराज शर्माको हस्ताक्षर रहेको विज्ञप्तिमा अन्सारीको अभिव्यक्तिलाई खेदजनक भनिएको छ ।

गिरीले संविधानविपरीत संसद्मा बोलेकी हुन् भने उनलाई उनको पार्टी र संसद्ले कारवाही गर्ने हो । त्यो पनि अपर्याप्त भए कानुनअनुसार थप कारबाही पनि गर्न सकिन्छ । तर, उत्तेजित युवाको समूहले २८ जेठ साँझ काठमाडौं विशालनगरस्थित उनको घरमा पुगेर ढुंगामुढा गर्‍यो । र, घरमा कालोझण्डा गाडेर फर्कियो । उनलाई पार्टीले कारबाही गर्ने या सांसदबाट निलम्बन गर्ने राजनीतिक कदम हो । तर, कुनै मुद्दामा अभिव्यक्ति दिएकै आधारमा घरमै ढुंगामुढा गरेर युवाको समूहले उनीमाथि हिंस्रक व्यवहार गर्‍यो । यो महिला भएकै कारण उनीमाथि गरिएको हिंसा हो । उनलाई पार्टी या संसद्ले कानुनअनुसार कारबाही गर्न पाउँछन् । तर, घरमै ढुंगा प्रहार गर्ने कृत्य कानुनसम्मत हुँदै होइन । सामाजिक सञ्जाल प्रयोगकर्ताले त उनलाई देश निकालासम्मको धम्की दिन भ्याए, जुन संविधान र कानुनको सीधा बर्खिलाफ हो ।

प्रसंग–३

भारतको अतिक्रमणमा परेको लिपुलेकदेखि लिम्पियाधुरासम्मको क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा कमेन्ट गर्दै अभिनेत्री मनीषा कोइरालाले ५ जेठमा लेखिन्, ‘हाम्रो सानो मुलुकको स्वाभिमान राख्नुभएकोमा धन्यवाद ! अब हामी तीनवटै महान् देशहरूबीचको शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा राख्छौँ ।’ त्यसलगत्तै भारतमा उनको चर्को आलोचना सुरु भयो । बलिउड अभिनेत्री भएर नेपालको पक्ष लिएको बताउँदै उनलाई गालीगलौज गरियो । ‘खाती है इन्डियाका, गाना गाती है चाइनाका’जस्ता आपत्तिजनक शब्दावली प्रयोग गर्दै भारतका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिए ।

प्रसंग–४

त्यही सेरोफेरोमा अभिनेत्री वर्षा राउतले एक भिडियो क्लिप सार्वजनिक गरिन् । नेपाल–भारत दुवैतर्फका पत्रकारले दुई देशबीच झगडा पारिरहेको उनले बताएकी थिइन् । विवाद बढ्दै जाँदा आफू र भारतीय साथीले आपसमा कसरी ‘फेस’ गर्ने भन्ने समस्या भएको उनको भनाइ थियो । २५ वर्ष बलिउडमा बिताएकी मनीषालाई आफ्ना प्रशंसक र साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीको चिन्ता भएको बताउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता वर्षाविरुद्ध खनिए ।

आलोचना रोकिने लक्षण नदेखिएपछि उनले सामाजिक सञ्जालमार्फत माफी मागिन् । ‘आफ्नो देश र राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि चुकेकी छैन,’ उनले लेखिन्, ‘भारतमा जस्तो असभ्य र असत्य पत्रकारिता नेपालमा नहोस् भन्न खोजेकी हुँ ।’ तैपनि, सामाजिक सञ्जाल प्रयोगकर्ता रोकिएनन् । अनेक ट्रोल बनाएर आलोचना गरिरहे ।

‘अस्तित्वमाथि प्रश्न’
जब जब महिला विवादमा तानिन्छन्, उनीहरूको चरित्रमाथि प्रश्न उठाउन थालिन्छ । उनीहरूको यौनिकतालाई लिएर सवाल उठाइन्छन् । विषय एकातिर हुन्छन्, अर्कातिर तर्क गरिन्छ । र, त्यस्ता तर्कमा जोडिन्छ, उसको व्यक्तिगत जीवनलाई । दीपाश्री निरौला र वर्षा राउत यसैको सिकार बने । सरिता गिरीलाई उनको माइतीबारे प्रश्न गरियो । यसरी सवाल उठाइनुमा सामाजिक, सांस्कृतिक पदानुक्रम कारक रहेको लेखक तिवारी बताउँछिन् । ‘जुन किसिमको सामाजिक संरचना छ, समस्या त्यहीँनेर हो । पुरुष विवादमा आउँदा चरित्रमाथि प्रश्न उठाइन्न,’ तिवारी भन्छिन्, ‘जब महिलाले कुनै विषयमाथि बोल्छन्, त्यहाँ सवालजवाफ गर्नेभन्दा पनि उसको अस्तित्वमाथि प्रश्न गर्नेहरू बढी हुन्छन् । ‘तँ महिला हो, महिलाको ठाउँमा बस्’ भन्ने किसिमको लक्ष्मणरेखा कोर्ने काम कथित सामाजिक सञ्जालमा भइरहेको छ ।’ उनको भनाइमा यस्तो लक्ष्मणरेखा पहिले समाजले कोथ्र्यो, अहिले सामाजिक सञ्जालबाट त्यस्तै व्यवहार भइरहेको छ ।

चरित्रलाई लिएर गरिने प्रश्न असह्य हुने मानवअधिकार आयोगकी सदस्य अन्सारी बताउँछिन् । ‘यसको अर्थ हो– महिलालाई अझै पनि सार्वजनिक जीवनमा जान रोकिएको छ,’ उनी भन्छिन्, ‘महिलालाई यौनिकता र चरित्रको तीर हाने मात्र थला पर्छन् भन्ने मानसिकता अझै देखिन्छ, यो आपत्तिजनक हो ।’ माफी मागिसकेपछि पनि आक्रमण गर्नुको पछाडि महिला अझै कमजोर छन् भन्ने धारणामा मानिस अडिग रहेको देखिने उनको मत छ ।

जस्तोसुकै विवादमा पनि महिलालाई आक्षेप लगाउन खोज्नुमा त्रास सिर्जना गर्ने मनोविज्ञान हावी देखिने लेखक अर्चना थापा बताउँछिन् । भन्छिन्, ‘त्यस्ता प्रश्नले त्रास सिर्जना गर्छ र महिलालाई संकुचित बनाउँछ अनि चरित्रमाथि प्रहार गर्दा बोल्न खोजिरहेकाहरू पनि डराउँछन् भन्ने खराब मानसिकता देखिन्छ ।’

आफ्नो अभिव्यक्तिलाई लिएर विवाद सुरु भएपछि अभिनेत्रीद्वय निरौला र राउतले माफी मागे । तर, बोलिसकेपछि तत्काल माफी माग्नु उचित नहुने लेखक तिवारी बताउँछिन् । ‘आफ्नो बोलीमा स्थिर रहनुपर्छ,’ उनी भन्छिन्, ‘दीपाश्रीलाई भन्दा सरिता गिरीलाई बढी गाली गरिरहेका छन् । तर, उनले मजाले प्रतिरक्षा गरिरहेकी छन् ।’ गतिलो तर्क पेस गर्दैगर्दा चाँडो माफी माग्दा आफ्नै बोलीप्रति अविश्वास पैदा हुने उनको भनाइ छ ।

महिलाविरुद्ध महिला नै

०७४ सालमा चलचित्र ‘छक्कापन्जा–२’ को प्रदर्शनताका अभिनेत्री ऋचा शर्माले त्यो फिल्म महिलाप्रति संवेदनशील नभएको अभिव्यक्ति दिइन् । उनको अभिव्यक्तिविरुद्ध चलचित्रको सिंगो टिम नै खनियो । निर्देशक दीपाश्री निरौलाले शर्मालाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिन्, ‘गेट वेल सुन’ । उनको स्ट्याटसमा कमेन्ट गर्दै दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्काले पनि ‘गेट वेल सुन’ लेखे । आफूलाई ‘बिरामी’ आरोप लगाइएपछि शर्माले अर्को स्ट्याटस लेखिन्, ‘कहिलेकाहीँ आफूलाई पनि सच्याउनुपर्छ । सच्चिनु आफ्नो कद सानो बनाउनु होइन । भुइँ र समयसित नजोडिएको मेकर जति नै अग्लो भए पनि उसको जग बलियो हुँदैन ।’

यस्ता विवादलाई पनि पितृसत्ताकै अंश मान्छिन्, लेखक तिवारी । भन्छिन्, ‘कतिपय अवस्थामा अवचेतन रूपमा त्यस्तो घटना मबाट पनि भएको हुन सक्छ । तर, पितृसत्ताले महिलालाई महिलाद्वारा नै अपमान गर्ने अवस्थामा पुर्‍याएको छ । महिला स्वयं पितृसत्ताको एजेन्ट बनिरहेका छन् ।’

मानवअधिकार आयोगकी सदस्य अन्सारी पनि महिलाप्रति आक्रोश पोख्नु र अतिरञ्जित किसिमको आरोप लगाउनुमा सामाजिक प्रवृत्तिलाई दोषी मान्छिन् । राजनीतिमा पनि महिलाअधिकारलाई कुण्ठित बनाइएको उनको धारणा छ । ‘महिला र दलित समुदायका एक सांसदलाई प्रतिनिधित्व गराइन्छ । कुनै मुद्दा आयो भने पार्टीले नबोल्नु भनिदिन्छ,’ उनी भन्छिन्, ‘हामी कस्तो खालको राजनीति गर्न खोजिरहेका छौँ ?’

अझै पनि महिलालाई हेर्ने मानसिकतामा परिवर्तन नआएको लेखक थापा बताउँछिन् । भन्छिन्, ‘यसलाई हामीले समाजसँगै जोडेर हेर्नुपर्छ । तर, अभिव्यक्ति स्वतन्त्रता हनन गर्न लोकतन्त्र ल्याएको होइन भन्ने सबैले बुझ्नुपर्छ ।’ महिलालाई जे भने पनि हुन्छ भन्ने मानसिकता पहिलेदेखि नै हावी हुँदै आएको तिवारी बताउँछिन् । भन्छिन्, ‘अघिल्लो पुस्ताले उखान बनाएर हेप्थे, अहिलेकाले ट्रोल बनाएर हेप्छन् । यो पितृसत्ताको जिउँदोजाग्दो उदाहरण हो ।’

महिलालाई गरिने निर्मम व्यवहार घरको घेराबाट सामाजिक सञ्जालमा पुगेको समाजशास्त्री डा. मीना उप्रेती बताउँछिन् । भन्छिन्, ‘विगतमा महिलामाथिको ज्यादती घरभित्र र टोलमा सीमित थियो, आज सामाजिक सञ्जालमार्फत व्यापकता पाएको छ ।’ महिला सार्वजनिक जीवनमा जान थालेदेखि हिंसा पनि सार्वजनिक हुँदै गएको उनको बुझाइ छ ।

‘कुनै महिला उचाइमा पुग्नुमा पुरुषको हात छ भनिन्छ,’ उप्रेती भन्छिन्, ‘महिलाको अस्तित्व नस्विकार्नु र उनीहरूको परिचयप्रति शंकाको नजरले हेर्नु सबैभन्दा ठूलो समस्या हो ।’ सामाजिकीकरणको अवस्थादेखि नै महिलाको योगदानलाई स्वीकार नगरिने सोचका कारण अहिले पनि महिला डिप्रेसनको सिकार हुनुपरेको उनी बताउँछिन् । भन्छिन्, ‘हाम्रो सामाजिक भाष्य र मानकले नै महिलालाई विभेद गरेको छ ।’