१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार ०४:५८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण, नेकपाका नेता र कांग्रेसको आलोचना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार ०४:५८:००

रामको जन्मभूमि अयोध्या नेपालको वीरगन्जनजिकै पर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धमा अर्को समस्या थपिएको छ । त्यसैले परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको स्पष्ट पारेको छ । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती समारोहमा व्यक्त विचारहरूलाई लिएर भइरहेका विविध व्याख्याहरूमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा छ, ‘प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पुर्‍याउने आशय राखिएको थिएन ।’

त्यसैगरी परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको उल्लेख गरेको छ । ‘श्रीराम र उहाँसँग सम्बद्ध स्थानबारे धेरै किंबदन्ती र भनाइ छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानबारे नयाँ तथ्यहरू प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो,’ विज्ञप्तिमा छ, ‘टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।’

विज्ञप्तिमा विवाहपञ्चमी समारोहको परम्परा र जनकपुर–अयोध्या यात्रु बससेवाको विषय पनि उठान गरिएको छ । ‘स्मरणीय यो छ कि विवाहपञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको छ,’ विज्ञप्तिमा छ, ‘नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बससेवा एउटा महत्वपूर्ण तत्वका रूपमा रहेको छ । यी तथ्यहरूले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

सत्तारुढ नेकपाका नेता र कांग्रेसको पनि आलोचना

प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादस्पद भएको भन्दै सत्तारुढ दल नेकपाकै कतिपय नेताहरूले विरोध गरेका छन् । प्रधानमन्त्रीको तहबाटै आएको त्यस्तो अभिव्यक्तिले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्ने अहिलेको मूल एजेन्डालाई विषयान्तर गराएको र दुई देशको कूटनीतिक सम्बन्धमा असर पर्ने भन्दै नेकपाकै नेताहरूले विरोध गरेका हुन् । त्यस्तै, प्रमुख विपक्षी कांग्रेसले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेको छ । 

नेकपाका उपाध्यक्ष वामदेव गौतमले फेसबुक पेजमार्फत रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने प्रधानमन्त्रीको मन्तव्यले अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ गौतमले भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’

भानुजयन्तीका अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने दाबी गर्दै त्यसबारे भीषण विवाद रहेको बताएका थिए । भारतले नेपालको सांस्कृतिक इतिहासमाथि अतिक्रमण गरेको उनको दाबी थियो ।

त्यस्तै, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले लगातार तीन ट्विट गर्दै असन्तुष्टि जनाएका छन् । ‘नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरूको अपमान र अवमूल्यन नगरौँ । आलोचनात्मक चेतविना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौँ । यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन । नयाँ युवा पुस्तालाई हामी के सिकाउँदै छौँ ? देशभक्त र विवेकी बनौँ,’ श्रेष्ठको पछिल्लो ट्विटमा छ ।

स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र नेपालले भूराजनीतिक अवस्थितिको लाभ लिन सक्ने भन्दै उनले अन्यथा देश बाह्य शक्तिहरूको क्रीडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती रहेको उल्लेख गरेका छन् ।

स्थायी समिति सदस्य डा. भीमबहादुर रावलले सीमा र तराईका डुबान तथा कालापानीबाट भारतीय फौज हटाउन ध्यान केन्द्रित गर्नुपर्नेमा विषयान्तर गर्ने गरी अभिव्यक्ति आएको भन्दै आलोचना गरेका छन् । 

‘यो वेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ रावलको प्रश्न छ, ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?’

कांग्रेसले प्रधानमन्त्रीलाई तत्कालका दुई कर्तव्य सम्झाएको छ । कोरोना र कालापानीको विषय यतिखेर पेचिलो रहेकोतर्फ इंगित गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी ! १. हृदयमा छँदै छन् राम, चिन्ता राजु सदाहरूको गरौँ ! २. अयोध्यातिर ध्यान नमोडौँ, संसद्बाट हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौँ ! सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको !’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाले सोमबार नै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए । मंगलबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रस्टीकरण दिएपछि भट्टराईले प्रधानमन्त्रीको बिदा गर्ने वेला आएको बताएका छन् ।

भट्टराईले भनेका छन्, ‘सानो प्वाल भए पो रफ्फुले छोपिन्छ, त्यत्रो भ्वाङ छोपिएला र ! व्यक्ति केपी ओलीले बोलेको भए कसैलाई चासो नहुन्थ्यो होला, तर देशको प्रधानमन्त्रीले बोलेको कुरा ‘राजनीतिक’ होइन भनेर कसैले पत्याउला ? प्रमका शृंखलाबद्ध असंगत र राष्ट्रिय हितविपरीत आचरणलाई ढाकछोप गर्ने होइन उहाँलाई बिदा गर्नैपर्छ !’

उता प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्का अध्यक्ष आलोक कुमारले आपत्ति जनाउँदै दुई देशबीच जनताको सांस्कृतिक सम्बन्ध बिगार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले विदेशी दबाबमा प्रधानमन्त्री ओलीको भनाइ आएको पनि आरोप लगाएका छन् । उनले मंगलबार भनेका छन्, ‘प्रधानमन्त्री ओलीको भनाइमा उनीबाहेक कसैले विश्वास गर्ने छैनन् भन्नेमा हामी विश्वस्त छौँ ।’