१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केशव दाहाल
२०७७ असार ३१ बुधबार २१:३८:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

कोभिड महामारीको वेलामा विद्यालय अनुगमन र मूल्यांकन

Read Time : > 3 मिनेट
केशव दाहाल
२०७७ असार ३१ बुधबार २१:३८:००

कोभिड महामारी संक्रमणका कारण विद्यालय र विश्वविद्यालयको शिक्षण सिकाइ प्रक्रिया केही महिनाको बन्दाबन्दीपछि नयाँ मोड लिएर सञ्चालन हुन थालेको छ । विशेषगरी एसइई परीक्षाको नतिजा व्यवस्थापन सँगसँगै माध्यमिक तहसम्मको शिक्षण सिकाइ सञ्चालनमा आएको छ । यसका लागि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । संक्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आफ्नो परिवेशअनुसार सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यामबाट शिक्षण गर्ने उद्देश्यका साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुन थालेका छन् । थोरै भए पनि विद्यार्थी अभिभावक र शिक्षकलाई यसले राहत दिन थालेको छ । 

तर, यसरी सञ्चालनमा आएका शैक्षिक क्रियाकलापमध्ये शिक्षण प्रक्रियाका न्यूनतम मापदण्ड पूरा गर्न सक्ने र नमुनायोग्य विधि पहिचानका लागि पनि अनुगमन मूल्यांकनको महत्व रहन्छ । यसका लागि उपर्युक्त निर्देशिका २०७७ ले महत्वपूर्ण मार्गनिर्देश गर्न सक्दछ । 

उक्त निर्देशिकाले प्रविधिमैत्री शिक्षण सिकाइको अवधारणा ल्याएको छ । जसमा रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन माध्यमहरू रहेका छन् । विद्यार्थी पहिचान तथा वर्गीकरण गर्दा पाँच किसिमको समूहमा विद्यार्थीलाई वर्गीकरण गरिएको छ । जसमा सबै किसिमका प्रविधिको पँहुच हुनेदेखि सबै किसिमका प्रविधिको पहँुच नहुनेसम्म वर्गीकरण गरिएको छ ।

यस्तो अवस्थामा केही प्रविधिको पहुँच भएका स्थानमा पठनपाठनको कुरा सञ्चालन भए तापनि विकट ठाउँहरूमा सञ्चालन हुन सकिरहेको छैन । शिक्षक, अभिाभावक, विद्यार्थी तीनै पक्ष अन्योलमा रहेको पाइन्छ । एफएमको पठनपाठन समयदेखि रेडियो टेलिभिजनमा पढाइ हुन्छ भन्ने कुरासम्ममा अलमल रहेको देखिन्छ । स्थानीय पालिकाका शिक्षाप्रमुख, जनप्रतिनिधिले विद्यालयका विव्यस, शिक्षक, प्रअसँग छलफल गर्ने र अलमल भएको कुरामा प्रस्ट हुने काम कमै भएको पाइन्छ । केही प्रअ, अध्यक्ष तथा शिक्षकसँगको फोन संवादमा उनीहरू पुस्तक वितरण गरेका छौँ, रेडियो टेलिभिजनबाट पढाइ हुने कुरा थाहा नभएको बताउँछन् । 

संघको शिक्षा मन्त्रालयदेखि प्रदेश, पालिका हुँदै वडा कार्यालय तथा विद्यालयसम्मको सहकार्यमा विद्यालयका टोलटोलमा रेडियो, टेलिभिजन, अनलाइन, अफलाइनबाट प्रसारण हुने शैक्षणिक क्रियाकलापको जानकारी शिक्षकमार्फत गराउनुपर्ने देखिन्छ । केही स्थानमा शिक्षकले असल अभ्यासहरू गरेको पनि पाइन्छ भने केही स्थानमा सूचना तथा निर्देशनको अभावमा सानातिना प्रयासहरू पनि नभएको पाइन्छ । यस्तो अवस्थामा जिल्लादेखि स्थानीय पालिका, वडा कार्यालयका प्रतिनिधिमार्फत अनुगमन र मूल्यांकन गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ जसलाई क्रमअनुसार उल्लेख गर्न सकिन्छ । 

अनुगमन र मूल्यांकनको वर्गीकरण

शिक्षण कार्यको उद्देश्यअनुसार अनुगमन र मूल्यांकनलाई निम्न चार तहमा वर्गीकरण गर्न सकिन्छ । 

१. दक्षतापूर्ण अनुगमन - साधन स्रोत र दक्ष जनशक्ति भएका विद्यालयले आफ्नो कार्यक्षमताअनुरूप प्रतिफल प्राप्त गर्न सक्छन् । भूगोलको कठिनाइ प्रविधिको अभाव तथा भइरहेको स्रोतसाधनको प्रयोग गर्ने सीपको अभाव भएका विद्यालयलाई दक्ष जनशक्तिले मद्दत गर्नुपर्ने आवश्यकता रहेको छ । भइरहेको कम्प्युटर, इन्टरनेट चलाउने सीपको कमी भएर पनि धेरै शिक्षकहरूले अनलाइन शिक्षण गर्न नसकेको अवस्था छ । भौगोलिक रूपमा विकट स्थानमा रहेका विद्यालयलाई पनि प्रविधिमैत्री सीपको अभावमा शिक्षण सिकाइ सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा गाउँपालिका, नगरपालिकाको शिक्षा अधिकारीको सहयोगमा सीप विकास, क्षमता अभिवृद्धि तथा सूचना प्रदान गर्न आवश्यक रहेको छ । 

२. प्रभावकारितापूर्ण अनुगमन - अनुगमनको नाम मात्र भएर यस्तो अवस्थामा शिक्षक तथा अभिभावकले काम गर्न सक्दैनन् । त्यसकारण सबै किसिमको प्रविधिको पहुँचभन्दाबाहिर रहेका विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकबाट मद्दत पुगेको छ कि छैन भनी प्रभावकारी अनुगमनको आवश्यकता छ । जसबाट टोलटोलमा जाँदा शिक्षण गर्दा सामाजिक दूरी कसरी कायम गर्न सकिन्छ, स्वास्थ्य सावधानी कसरी अपनाउनेजस्ता कुरा प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न आवश्यक छ । 

३. सान्दर्भिकतापूर्ण अनुगमन - कोभिड–१९ भन्दा अगाडि गरिने विद्यालय अनुगमनभन्दा अलि भिन्न किसिमको अनुगमन रहेको छ जसले प्रविधि नभएको स्थानमा सामाजिक दूरी कायम गरी अनुगमन मूल्यांकनको काम गर्दछ, जसले विद्यार्थी, शिक्षक, अभिभावक सुरक्षित र खुसीसाथ काम गर्न सकून् । अनुगमनमा जाँदा हातेपुस्तिका, फोटोकपी, वैकल्पिक शिक्षण निर्देशिकाजस्ता सामग्रीहरू शिक्षकलाई उपलब्ध गराउन सके त्यो ठूलो सहयोग प्राप्त भएको सम्झेर शिक्षकहरू थप उत्साहित भएर काम गर्दछन् ।

शिक्षकहरूले कुन एफएममा कति बजे कुन कक्षाको शिक्षण कार्यक्रम हुन्छ भन्ने जानकारी पनि राख्न नसकेका कारण सान्दर्भिकतापूर्ण अनुगमनले सो कुरालाई सम्बोधन गर्न सक्दछ । अर्कोतर्फ अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्पे्ररकको भूमिकामा मद्दत पु¥याउँछ । 

४. स्थिरतापूर्ण अनुगमन -कोभिड–१९ को महामारी सँगसँगै केही क्षेत्रमा राम्रा अवसर पनि आएका छन् । विद्यालयमा विभिन्न किसिमका प्रविधिसहितको शिक्षण सिकाइ सञ्चालन गर्ने अवसर पनि हो । विद्यालयमा इ–पुस्तकालय, अनलाइन शिक्षण, प्रोजेक्टरबाट शिक्षण सञ्चालन गर्नेजस्ता अवसर पनि आएका छन् । स्थानीय पालिका, जिल्ला समन्वय समितिको संयुक्त प्रयासमा विद्यालय प्रविधिमैत्री बनाउन सकिन्छ । जसका लागि स्थिरतापूर्ण अनुगमनबाट विव्यस शिक्षक अभिभावकलाई प्रविधिका बारेमा जानकारी दिएर विद्यालयको मुहार तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने अवसर पनि हो । 

सारसंक्षेप - माथि चर्चा गरिएका विषयवस्तुलाई अहिलेको विद्यालय शिक्षा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूमा प्रविधिमैत्री शिक्षण सिकाइको वातावरण बनाउन प्रयास गर्ने समय पनि हो । यस प्रविधिमैत्री शिक्षणले यसको गुणस्तर वृद्धि गर्ने कुरामा दुईमत नहोला ।

यसका लागि निम्नअनुसारका सकारात्मक प्रयास गर्न सकिन्छ । 
    स्थानीय पालिकाले प्रविधिका लागि बजेट र जनशक्तिको उचित व्यवस्था गर्ने ।
    शिक्षकहरूलाई प्रविधिसँग परिचित हुने किसिमका तालिम प्रदान गर्ने ।
    इन्टरनेट प्रदायक संस्थाले विद्यालयलक्षित विभिन्न सहुलियतसहितका स्किम प्रदान गर्ने ।
    विभिन्न महामारी, प्राकृतिक विपतपश्चात् पनि सञ्चालनमा आउने संरचना विद्यालयमा निर्माण गर्ने ।